इटहरी : कोसी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापा विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । संविधान विपरीत सभाध्यक्ष इस्राइल मन्सुरीलाई मतदान गराएर विश्वासको मत प्राप्त गरेको भन्दै बुधवार रिट दायर भएको हो ।

नेकपा एमाले संसदीय दलका नेता हिकमतकुमार कार्कीले संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम परमादेशको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका हुन् । कार्कीको तर्फबाट कानुन व्यवसायी दुर्गाबहादुर दाहालले मुद्दा दर्ता गराएको कार्कीको सचिवालयले जानकारी दिएको छ ।

रिट निवेदनमा प्रदेश प्रमुख पर्शुराम खापुङ, थापा, सभाध्यक्ष गरेका सांसद मन्सुरी, अध्यक्ष मण्डलकी सांसद गीता तिम्सिना र प्रदेशसभा सचिवालयलाई विपक्षी बनाइएको छ । गैर-संवैधानिक रूपमा विश्वासको मत प्राप्त गरेको भन्दै मुख्यमन्त्री उद्धव थापाको विश्वासको मत बदर गर्न माग गरिएको छ ।

कार्कीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार आफूलाई मुख्यमन्त्री नियुक्त गर्न माग गरेका छन् । संविधानको धारा १६८ उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठुलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्त हुन पाउनुपर्ने उनको दाबी छ ।

कार्कीले यसअघि सर्वोच्चले दिएको आदेश थापाले उल्लङ्घन गरेको भन्दै अदालतको अपहेलनमा कारबाही गर्न माग गरेका छन् ।