इटहरी : आगामी पूर्ण कार्यकाल कोशी प्रदेशमा नेपाली काँग्रेसले सरकारको नेतृत्व गर्ने पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन् । मुख्यमन्त्री उद्धव थापाले विश्वास मत पाउने बताउँदै उनले काँग्रेसले प्रदेशबाट विकासको नेतृत्व गर्ने बताए ।

सभामुखले समर्थन गरेको विषयलाई विवादमा ल्याउन नमिल्ने पूर्व अर्थ मन्त्री तथा प्रतिनिधिसभा सदस्य कार्कीको धारणा छ । सभामुखले प्रदेशसभा सदस्यको हिसाबमा समर्थन गरेको उनले बताए ।

काँग्रेस सुनसरी क्षेत्र नम्बर ४ को सम्मेलनमा सम्बोधन गर्दै उनले भाषणले मात्र सुशासन नआउने धारणा राखे । आफूले बाचा गरेका अधिकांश काम पूरा हुँदै गएको कार्कीले बताए । लौकहिमा टाउनहल बनाउने देखि सडक र मन्दिर बनाउने काम तीव्रताका साथ भएको सुनाए ।  इनरुवा देखि कौवाखोच जोड्ने सडक यहीँ आर्थिक वर्षमा स्तरोन्नति हुने प्रष्ट पारेका छन् ।

फरक प्रसङ्गमा बोल्दै पूर्व मन्त्री कार्कीले हार्दिकता र एकता कायम नहुँदा निर्वाचन चुनौतीपूर्ण बन्दै गरेको बताएका छन् । "हामी पार्टी भित्र आन्तरिक एकता चाहन्छौँ तर कसैले एक हुन दिँदैनन । सबै समुदाय र वर्ग बिचमा एकता ल्याउन जरुरी छ ।

एउटा पुस्ता सङ्घर्षमा बित्यो अर्को पुस्तामा परिवर्तनको हुटहुटी छ । विकास र परिवर्तनको अभियानमा लाग्नु अबको आवश्यकता हो," उनले भने ।