इटहरी : सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरेसँगै नयाँ सरकार गठनको बाटो खुल्ला भएको छ । थापाको नियुक्ति बदर भएपछि हिक्मत कुमार कार्की नै कामचलाउ मुख्यमन्त्री भएका छन् । सर्वोच्च अदालतले साउन १७ गते भित्र नयाँ मुख्यमन्त्री बनाउन आदेश दिएको छ ।

यसअघि थापालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश सभामुख बाबुराम गौतमले समर्थन गरेका थिए । जुन असंवैधानिक भएको सर्वोच्चको ठहर छ । ९३ सदस्यीय प्रदेश सभामा बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ । हाल काँग्रेस नेतृत्वको गठबन्धन सँग सभामुख बाहेक ४६ मात्र सांसद कायम छन् । राप्रपाका ६ सांसदले थापालाई समर्थन नगरेपछि सभामुखको समर्थनमा उनले मुख्यमन्त्री दाबी गरेका थिए ।

सङ्घीय सरकारका सहभागी गठबन्धनका दलहरूले कोशीको मुख्यमन्त्रीमा थापालाई चयन गर्ने निर्णय भएपछि राप्रपा पछि हटेको थियो । राप्रपा संसदीय दलका नेता भक्ति प्रसाद सिटौला गठबन्धनले हतारमा निर्णय गरेको कारण थापालाई समर्थन गर्न नसकिएको बताउँछन् । राप्रपा सरकारमा सहभागी हुनको लागि वातावरण नबनेको बताउँदै उनले भने, ‘काँग्रेसलाई साथ दिन्थ्यौँ होला तर उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि हामी पछि हट्यौँ ।’

काँग्रेसले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि मात्र वार्ता गर्न आएकाले आफूहरू पछि हटेको सिटौलाले कपुरी न्युजलाई बताए । नयाँ सरकार गठनको लागि अदालतले मार्ग प्रशस्त गरेको हुँदा अब कुन गठबन्धनमा सहभागी हुने भन्नेबारे छलफल हुने सिटौलाले सुनाए । मात्र ६ सिट भएको दलले मुख्यमन्त्रीमा नसोचेको बताउँदै सिटौला भन्छन्, ‘अब काँग्रेस कुरा गर्न आयो भने कुरा सुन्छौँ । वहाँहरूको प्रस्ताव कसरी आउँछ भन्नेमा निर्भर गर्छ । एमालेको पनि कुरा सुन्छौँ । त्यसपछि मात्र हामी निर्णयमा पुग्छौँ ।’

भक्ति प्रसाद सिटौला पूर्व काँग्रेस हुन् । काँग्रेस नेता कृष्ण प्रसाद सिटौलाले उनलाई राजनीतिक रूपमा किनारा लगाउन खोजेपछि राप्रपा प्रवेश गरेका थिए । कृष्ण प्रसाद निकट थापाले मुख्यमन्त्रीमा समर्थन खोजेपछि उनी हच्किएको बताइएको छ । कृष्ण प्रसाद र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको चुनावी क्षेत्र पनि एउटै हो । थापा मुख्यमन्त्री भए कृष्ण प्रसादको उचाइ बढ्ने भएकाले राप्रपाले उनलाई समर्थन गर्न आनाकानी गरेको बुझिएको छ ।

कोशीमा काँग्रेस संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने भन्दै आवाज उठी रहेको छ । काँग्रेस नेता गुरुराज घिमिरेले यसअघि पनि संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने बताएका थिए । दलको नेता परिवर्तन भए राप्रपाले समर्थन गर्न सक्ने काँग्रेस नेताहरूको बुझाई छ ।

गत असार २१ मा नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापा सभामुख बाबुराम गौतमको समर्थन सहित मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश प्रमुख परशुराम खापुङले ९३ सदस्यीय प्रदेशसभामा सभामुख गौतम सहित ४७ सांसदको समर्थन पुगेको भन्दै थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।