धरान : मानसिक रोगका विज्ञहरूले आत्महत्या न्यूनीकरण गर्न स्थानिय सरकारको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । विश्व आत्महत्या रोकथाम दिवसान आइतबार धरान उपमहानगरपालिकाद्वारा आयोजित अन्तरक्रियामा उनीहरूले उक्त कुरा बताएका हुन ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक सहायक प्राध्यापक डा.मधुर बस्नेतले भने ‘अधिकांश आत्महत्याका घटना मानसिक रोग र डिप्रेसनबाट हुने गरेको पाइन्छ ।’ त्यस्ता रोगीहरूका स्वास्थ्य उपचारको प्रबन्ध स्थानिय सरकारबाट हुनसके त्यसले आत्महत्या न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो ।

डा.बस्नेतले स्थानिय सरकार सहित राज्यका सबै तहबाट विशेष रणनीति तयार गरी कार्यान्वयन गरे आत्महत्या न्यूनीकरण तथा रोकथाम हुने सक्ने बताए । निःशुल्क औषधि उपचार, जोखिम रहेका व्यत्तिहरुको पहिचान गरी प्रारम्भिक उपचारमा ध्यान दिएमा आत्महत्या घट्ने उनको भनाई छ ।

रोकथामका लागि आत्महत्याका हरेक धम्की वा वचनलाई संवेदनशील रूपमा लिनुपर्ने बताउँदै उनले सहानुभूति र समभावका साथ पीडितको कुरा सुनिदिनु पहिलो उपचार भएको डा. बस्नेतको कथन छ ।

अन्तरक्रियामा प्रस्तुत तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमा कोशी प्रदेशमा १५५० आत्महत्याका घटना भएका छन् । धरानमा बर्सेनि ३८ देखि ४५ आत्महत्याका घटना हुने इलाका प्रहरी कार्यालयको तथ्याङ्क छ । तथ्याङ्क अनुसार धरानमा आर्थिक वर्ष ०७९/०८० मा आत्महत्याका घटना भएका छन् । आर्थिक वर्ष ०७७/०७८ मा पनि आत्महत्याका ५० घटना भएको थियो ।

इलाका प्रहरी कार्यालयका डिएसपी नवराज मल्लले न्यूनीकरणको कार्य घरबाटै सुरुवात हुनुपर्ने बताए । मोबाइलले संसारसँग नजिक बनाएकोले घर र नजिकको मान्छेसँग दुरी बढेपछि एकाग्र भई डिप्रेसनमा जाने अवस्था बढेको बताउँदै उनले भने ‘मोबाइलले धेरै समस्या सृजना हुन थालेको छ ।’

मेयर हर्क साम्पाङले माटो नछुएको कारण दुःख पिर बढ्ने बताउँदै श्रम गरे आत्महत्या न्यूनीकरण हुने बताए । माटोमा श्रम गरे पिर मार्का हट्ने भएकाले माटोमा श्रम गर्नुपर्ने उनको भनाई थियो । प्रमुख प्रशासकीय अधिकृत मातृकाप्रसाद भट्टराईले मान्छे विकासको चरणमा अघि बढ्दै गइरहे सँगै तनाव बढ्दै जाँदा समस्या उत्पन्न भएको बताए ।

उपमहानगरपालिकाका उपमेयर आईन्द्र विक्रम बेघा सहित शाखा महाशाखा प्रमुखहरू सहभागी रहेको अन्तरक्रियामा इलाका प्रहरीका सई निर्मल तामाङले आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक प्रस्तुतीकरण दिएका थिए ।

Dr. madhur basnet