धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिएस्सी नर्सिङमा अध्ययनरत छात्राले झुण्डिएर आत्महत्या गरेको घटनाबारे निष्पक्ष छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन परिवारजनले माग गरेका छन् ।

पहिलो बर्षमा अध्ययनरत १९ बर्षीय अञ्जना देवले आज बिहान प्रतिष्ठानको होस्टलमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । उनको आत्महत्या शंकास्पद भएको भन्दै परिवारजनले यथार्थ बाहिर ल्याउनुपर्ने माग गरेको हो । मृतकका बुबा रविन्द्रकुमार देवले घटनाबारे छानबिन गर्न इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएका छन् । मृतकका काका शैलेन्द्र देवले बिहान कलेज जान भनेर कोठाबाट निस्किसकेकी अञ्जना पुनः कोठा फर्किनु र झुण्डिएर आत्महत्या गर्नु शंकास्पद भएको बताए । ‘भतिजि कलेज हिडिसकेको रहेछ, फेरि किन कोठा फर्कियो ? कसैले फोन गरेर बोलायो कि ? कसैको केही रहस्य खुल्छ भनेर हत्या पो गरेको हो कि ?’काका शैलेन्द्रले भने,‘यो हत्या नै भएको हो भन्ने हामीलाई लाग्छ, तरपनि के भएको हो ? सत्यतथ्य छानबिन गरेर बाहिर आवोस् ।’

ajana-dev,1

वीपी प्रतिष्ठानको होस्टल परिसरमा सिसिटिभि नराखिएकोप्रति पनि मृतकका परिवारजनले असन्तुष्टी जनाएको छ । मृतकका मामा सञ्जीवकुमार देवले कोठाभित्र नभएपनि होस्टलको वरण्डा, परिसरमा सुरक्षाको दृष्टिले सिसिटिभि राख्न आवश्यक भएपनि नभएकोप्रति असन्तुष्टी व्यक्त गरे । ‘हामीले कोठामा झुण्डिएको देखेका पनि होइनौं, प्रहरीले पनि देखेको छैन । झुण्डिएको थियो, इर्मजेन्सीमा उपचार गराउन ल्याएको भनेर त्यहाँ मात्र लाश देखेका हौं,’मामा सञ्जीवले भने,‘घटना प्रकृति त देख्नै पाएनौं, प्रहरीले पनि देखेको होइन ।’

धरानका डिएसपी ढुण्डीराज न्यौपानेले घटनाबारे छानबिन शुरु भएको र पोष्टमार्टम रिपोर्टसँगै मृतकको मोवाइलबाट नयाँ तथ्य खुलेमा आवश्यक कारबाही हुने बताए । वीपी प्रतिष्ठानका निमित्त उपकुलपति डा.गुरु खनालले घटनाबारे प्रहरीले छानबिन गर्ने बताए ।

परिवारको पहिलो सन्तान थिइन् अञ्जना

झुण्डिएर आत्महत्या गरेकी अञ्जना परिवारको पहिलो सन्तान थिइन् । उनी पढाईमा जेहेन्दार भएको परिवारजनले बताएका छन् । पुख्यौली घर सप्तरी भएपनि परिवार हाल विराटनगरमा बस्दै आएका छन् । ‘परिवारको सबैभन्दा जेठी हो । एक बैनी र २ भाई छन्,’मृतककी मामा सञ्जीवले भने,‘पढाईमा पनि जेहेन्दार हो । एसईई र प्लस टु एकदमै राम्रो उतीर्ण गरेको हो । यहाँ पनि छात्रवृत्तिमा नाम निकालेर पढ्दै थिइन् ।’