धरान : धरान उपमहानगरपालिकाले सवारी पार्किङ शुल्क सङ्कलन गर्न प्रकाशित गरेका सूचना अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कात्तिक २४ गते देखी लागु भएको ठेकेदार मार्फत सङ्कलन गरिने छ।

उठाइने पार्किङ शुल्क उपमहानगरपालिकाको आर्थिक श्रोत वृद्धिको उद्देश्यले लागु गरिए तापनि राजश्व परामर्श समितिमा यसबारे छलफल र निर्णय समेत भएको छैन । समितिका सदस्य सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले भने ‘समितिमा पार्किङ शुल्क सङ्कलन गर्ने निर्णय भएको छैन ।’

ट्राफिक व्यवस्थापनका लागि पार्किङ स्थलहरू निर्धारण नीति तथा कार्यक्रम स्पष्ट नगरी ठेकेदार मार्फत शुल्क सङ्कलन गर्न गरिएको यो समितिका अध्यक्ष उपमेयर आइन्द्रबिक्रम बेघाको एकल निर्णय भएको उनले बताए ।

स्कुटर, मोटरसाइकललाई लगाइएको पार्किङ शुल्कलाई लिएर सामाजिक सञ्जाल र बजारमा यो नीतिको व्यापक आलोचना भएको छ । ‘लुट्न सके लुट कान्छा नेपालमै छ छुट भनेको यही हो । अब धरानमा सडकछेउमा मोटरसाइकल रोकेको पनि पैसा तिर्नुपर्ने ?’ लीलानाथ घिमिरेले स्ट्याटस लेखेका छन् ।

नयाँ निर्धारित पार्किङ शुल्क स्कुटर, मोटरसाइकललाई १० रुपैयाँ, ट्याम्पो, निजी साना, हलुका सवारीलाई २५ रुपैयाँ सफारीलाई ३० रुपैयाँ, कार, मारुती भ्यानलाई ३५ रुपैयाँ, बास, माइक्रोबस, बुलेरो, स्कारपियोलाई ५० रुपैयाँ तोकिएको छ ।

पार्किङ शुल्क असुल गरेतापनि सुरक्षाको जिम्मा भने असुली गर्ने ठेकेदारले नलिने सूचनामा जाइएको छ । शुल्क दिएर पार्किङ गरी राखेको सवारी साधन हराएमा, चोरी भएमा सम्बन्धित सवारी धनी नै जिम्मेवार हुने सूचनामा छ ।

यातायात व्यवसायी महासङ्घका कोशी प्रदेश संयोजक सरोज श्रेष्ठले भने ‘कानुन अनुसार राजमार्गमा पार्किङ गर्न पाइन्न, सूचनामा शुल्क उठाउने ठाउँहरू राजमार्गमा पनि पर्छन् ।’ उपमहानगरपालिकाले छुट्टै पार्किङ स्थलको विकासको लागि लगानी नगरी पैसा सङ्कलन गर्ने मात्र उद्देश्य राखेकाले यसबाट धरानका ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुनसक्ने उनले बताए ।

सूचनामा निश्चित पार्किङ स्थलहरू तोकिएका छैनन् । पार्किङ शुल्क असुल गर्न पाउने सडकहरू भानुचौक-देशी लाइन भौडी, मुल बजार महेन्द्र पथ, सिद्धिचरण मार्ग (बिएकृष्ण गल्ली), पुराने बजार सिंहदेखि चौक सम्मको सडक, छाता चौक चतरा लाइन, रत्न रोड, गीता मन्दिर लाइन गल्लीको सडकमा पनि पार्किङ गर्न पाइने सूचनाबाट बुझिन्छ । यस्तै भानुचौक-पुतली लाइन, सैनिक चौक, कलेज रोड, गौतम पथ, नरेन्द्र पथ (सब्जी मण्डी) समेत उल्लेख छ ।

पार्किङ शुल्क तिरेपछि जहाँसुकै सवारी राख्न पाउने छुट भएको सवारी धनीले बुझ्ने भएकाले यसबाट ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने सम्भावना संयोजक श्रेष्ठले व्यक्त गरे । उनका अनुसार स्थानीय समुदायले जग्गा र आर्थिक सहयोग गरेर बनाएको सडकमा दाताहरूले पनि आफ्नै सवारी पार्किङ गर्दा शुल्क तिर्नुपर्ने अवस्था उपमहानगरपालिकाको सूचनाबाट देखिएको छ ।

उनले भने ‘आफ्नै घर अगाडि गाडी पार्किङ गर्दा शुल्क तिर्ने अवस्था ल्याउनु हुन्न ।’ सूचनामा उपमहानगरपालिकाले ट्राफिक व्यवस्थापन, पार्किङ स्थलको बारेमा स्पष्ट उल्लेख छैन । ठेकेदारले रकम असुली बाहेक अरू कुरामा सरोकार राख्दैनन् ।

उपमहानगरपालिकाले मोरङको प्रिन्स निर्माण सेवालाई यात्रु वाहक सार्वजनिक यातायातका सवारी साधनहरूलाई पार्किङ शुल्क असुलीको ठेक्का दिएको हो । धरान-१६ को लिङथेप एण्ड को-कन्स्ट्रक्सनलाई मोटरसाइकल र निजी साना/हल्का सवारी साधनको शुल्क उठाउने ठेक्का दिएको हो । सूचनामा मालवाहक ढुवानीका ट्रकको उल्लेख छैन ।

२०८० कार्तिक २५ गते ब्लाष्ट टाइम्स दैनिकमा धरान उपमहानगरले प्रकाशन गरेको सूचना : 

bike parking charge