धरान : अमेरिकामा बसोबास गर्दै आएका भुटानी नेपाली भाषी स्रष्टाहरूले जीवन र जगतलाई हेर्ने नयाँ मान्यता ‘स्वीकारोक्ति’ प्रतिपादन गरेका छन् । यसलाई अमेरिकामा रहेका भुटानीहरूको संस्था ग्लोबल भूटानीज अर्गनाइजेशन जिबिएलओले जीवन दर्शनको रूपमा लिएको बताइएको छ ।
अमेरिकाबाट आएका स्रष्टाहरू सहित ८ जनाको भुटानी टोलीको धरानमा स्वागत सम्मानमा आयोजित संवाद कार्यक्रममा उक्त जानकारी दिइएको हो । टोलीलाई स्वागत गर्दै प्राडा. टङ्कप्रसाद न्यौपानेले भुटानी नेपाली भाषी स्रष्टाको नयाँ मान्यता ‘स्वीकारोक्ति’ ‘भयवाद’ जस्तै हुन सक्ने बताए ।
उनले भने ‘नेपाली स्रष्टाले जीवन र जगतप्रति स्थापित गरेको दर्शन विश्वका विश्वविद्यालयमा अध्ययनको विषय बन्छ, तर नेपालमा भने विदेशीले व्याख्या गरिदिएपछि मात्र मानिने चलन छ ।’ उनले अमेरिकी भुटानी स्रष्टाहरूको मान्यता बहसको विषय भएको बताए ।
‘स्वीकारोक्ति’का सिद्धान्तकार भुटानी स्रष्टा डेञ्जोम साम्पाङले जीवन र जगतलाई सद्भाव, शान्तिमय बनाउन हरेक कुरालाई स्वीकार गर्दै अघि बढेमा मात्र सम्भव हुने मान्यता नै ‘स्वीकारोक्ति’ सिद्धान्तको मुख्य सूत्र भएको बताए ।
उनले भने ‘हरेक कुरालाई स्वीकार गर्दै जाँदा अपराधलाई पनि स्वीकार गर्ने त भन्ने जस्ता प्रश्नहरू पनि उठ्न सक्छन् ।’ अपराध गर्नेले आफूले अपराध गरेको स्वीकार गर्दा उसको र समाजको सोचाइमा ठुलो परिवर्तन आउन सक्छ र त्यो अवस्था ‘स्वीकारोक्ति’को सिद्धान्तबाट अभिप्रेरित भएको हुन्छ भन्ने डेञ्जोमको भनाई छ ।
‘कपुरी’को एक प्रश्नमा उनले भने ‘स्वीकारोक्ति दर्शनको व्याख्या गरिएको पुस्तक प्रकाशित नभए पनि स्रष्टाहरूका यसबारे फुटकर लेख, रचनाहरू भने प्रकाशित भएका छन् ।’
ग्लोबल भूटानीज अर्गनाइजेशन जिबिएलओका अध्यक्ष कर्ण गुरुङले भने ‘‘स्वीकारोक्ति’ ग्लोबलाइज छ, जहाँ समस्यालाई स्वीकार गरिएको छ, त्यहाँ समाधान सहज भएको छ ।’ उनले अर्गनाइजेशनको टोली विश्व भ्रमणमा निस्किएको बताए ।
भारत र नेपालको काठमान्डु सहित धरान, बिर्तामोडमा सामाजिक कार्य तथा संवादका कार्यक्रममा सहभागी भएको बताउँदै भ्रमण अमेरिकी भुटानीहरूका लागि प्रेरक तथा उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे ।
धरान वडा १३ स्थित साहित्य कला संस्कृति संरक्षण प्रतिष्ठानको आयोजनामा भएको स्वागत तथा संवाद कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ थिए । उनले कार्यक्रममा कविता पनि सुनाए ।
मेयर साम्पाङले भने ‘साहित्य भनेको समाज र मानिसको जीवनलाई सही मार्ग दर्शन गर्ने विचार तथा दृष्टिकोण हो ।’ उनले अमेरिकाबाट आएका भुटानी स्रष्टाहरूले धरानको श्रमको सन्देशलाई पनि मनन गर्न आग्रह गरे । भुटानी टोली आज बिहान मेयरको वृक्षारोपणमा सहभागी भएका थिए ।
सोही अवसरमा धरानको विकाश तथा भाषा साहित्य संस्कृति, शिक्षा तथा सामाजिक सेवाको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आएका कृष्णप्रसाद श्रेष्ठ र रम्भादेवी कर्माचार्यलाई सम्मानित गरिएको थियो । सम्मानित द्वय सहित भुटानी अगुवाहरूलाई मेयर हर्क साम्पाङले सम्मान पत्र प्रदान गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष गोपाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा १३ नम्बर वडा अध्यक्ष नेत्र काफ्लेले स्वागत भाषण गरेका थिए । संवादका बिच धरान तथा अतिथि स्रष्टाहरूले कविता, गजल वाचन गरेका थिए ।
रचना वाचन गर्ने स्रष्टाहरूमा वरिष्ठ कवि बम देवान, चन्द्र गुरुङ, श्रेष्ठ परिक्रमा, इन्दु योञ्जन, विजय घिमिरे, नेत्र आचार्य, शेखर कोइराला, सुशन माफी, इन्दु तोदी, राजिब हल्वाई लगायत थिए ।





































































