काठमाडौँ : जापान र बेलायतमा मन्दी देखिएको छ । लगातार दुई चौथाइसम्म अर्थतन्त्र सङ्कुचित भएपछि जापान अप्रत्याशित रूपमा मन्दीमा परेको छ ।

जापानको कुल गार्हस्थ्य उत्पादन एक वर्ष अघिको तुलनामा २०२३ को अन्तिम तीन महिनामा अपेक्षितभन्दा खराब ०.४ प्रतिशतले सङ्कुचित भएको छ । अघिल्लो त्रैमासिकमा भने यस्तो सङ्कुचन ३.३ प्रतिशत थियो । लगातार दुई त्रैमासमा अर्थतन्त्र सङ्कुचित हुनु आर्थिक मन्दी हो ।

जापानको मन्त्रिपरिषद् कार्यालयको तथ्याङ्कले विश्वको तेस्रो ठुलो अर्थतन्त्रको रूपमा जापानले स्थान गुमाएको सङ्केत गरेको छ । यससँगै जर्मनी एक स्थान माथि उक्लिँदै विश्वको तेस्रो ठुलो अर्थतन्त्र बनेको छ ।

गत अक्टोबरमा अन्तर्राष्ट्रिय मुद्रा कोषले अमेरिकी डलरका आधारमा जर्मनीले विश्वको तेस्रो ठुलो अर्थतन्त्रको रूपमा जापानलाई उछिनेको अनुमान गरेको थियो ।

आईएमएफले दुवै देशले आफ्नो आर्थिक वृद्धिको तथ्याङ्कको अन्तिम संस्करण प्रकाशित गरेपछि मात्रै आफ्नो वरीयता परिवर्तनको घोषणा गर्नेछ ।

अर्थशास्त्री नील न्यूम्यानले बीबीसीलाई भनेअनुसार सन् २०२३ मा जापानको अर्थतन्त्र ४.२ ट्रिलियन डलर र जर्मनीको ४.४ ट्रिलियन डलर छ ।

‘यो डलरको तुलनामा जापानी मुद्राको कमजोरीका कारण भएको हो । यदि येन सुधार भयो भने देशले तेस्रो नम्बरमा पुनः प्राप्त गर्न सक्छ,’ न्यूम्यानले थपे ।

यसै महिना टोकियोमा भएको एक पत्रकार सम्मेलनमा आईएमएफका उपप्रमुख गीता गोपीनाथले पनि अमेरिकी डलरको तुलनामा येन कमजोर बन्दा जापान सम्भावित रूपमा वरीयतामा ओरालो लाग्नुको एउटा महत्त्वपूर्ण कारण रहेको बताए । उनका अनुसार गत वर्ष जापानी येन ९ प्रतिशतले घटेको छ ।

विश्वको छैटौँ ठुलो अर्थतन्त्र बेलायतको कुल गार्हस्थ्य उत्पादन गत वर्षको अन्तिम त्रैमासिक (अक्टुवर–डिसेम्बर)मा ०.३ प्रतिशतले घटेको छ । गत वर्षको अन्तिम तीन महिनामा जीडीपीमा वित्तीय बजार र अर्थशास्त्रीहरूले अनुमान गरेको भन्दा ०.१% गिरावट आएको छ ।

यसअघिको त्रैमास (जुलाई–सेप्टेम्बर)मा पनि त्यहाँको जीडीपीमा ०.१ प्रतिशत सङ्कुचन देखिएको थियो ।

जीडीपीमा टिप्पणी गर्दै चान्सलर जेरेमी हन्टले भने, ‘जब ब्याजदरहरू उच्च हुन्छ, त्यतिबेला बैङ्क अफ इङ्गल्याण्डले मुद्रास्फीति घटाउन सक्छ । कम वृद्धि कुनै आश्चर्यको कुरा होइन ।’ यसले ‘ब्रिटिस अर्थतन्त्र एक कुनामा मोडिँदै छ’ भन्ने सङ्केत देखाएको उनको भनाइ छ ।

छायाँ चान्सलर राहेल रिभ्सले प्रधानमन्त्री ऋषि सुनकको अर्थतन्त्र वृद्धि गर्ने वाचा ‘टुक्राटुक्रा’ भएको तथ्याङ्कले देखाएको बताए । उनले बेलायतको अर्थतन्त्रमा देखिएको सङ्कुचनलाई ‘ऋषि सुनकको मन्दी’ भन्छन् । ‘यो समाचार बेलायतभरका परिवार र व्यवसायका लागि चिन्ताजनक हुनेछ,’ उनी भन्छन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालयको तथ्याङ्कले गत वर्षको अन्तिम तीन महिनामा निर्माण र उत्पादनलगायत अर्थतन्त्रको स्वास्थ्य निर्धारण गर्ने सबै मुख्य क्षेत्रमा सुस्तता देखिएको देखाएको छ ।

बैङ्क अफ इङ्गल्याण्डले मुद्रास्फीतिमा ब्रेक लगाउन ब्याजदर बढाउँदै आएको थियो । तर, गत अगस्टदेखि यो दर ५.२५ प्रतिशतमा स्थिर छ ।

ओएनएसका आर्थिक तथ्याङ्कका निर्देशक लिज म्याककाउनले भने, ‘यो अहिले लगातार दुई चौमासिकमा सङ्कुचित भएको छ । तर, २०२३ मा समग्र अर्थतन्त्र व्यापकरूपमा सपाट भएको छ ।’

छायाँ चान्सलर राहेल रिभ्सले पछिल्लो तथ्याङ्कले प्रधानमन्त्री ऋषि सुनकको अर्थतन्त्र वृद्धि गर्ने वाचा ‘टुक्राटुक्रा’ भएको देखाएको बताए।

ट्रेजरी स्रोतले बीबीसी न्युजसँग कुराकानीमा बेलायतका चान्सलर आगामी मार्च ६ मा बजेटमा कर कटौती गरेर सार्वजनिक खर्चमा दबाब दिने मनसायमा रहेको बताएका छन् ।

सन् २०२२ नोमिनल जीडीपीका आधारमा जापान विश्वको तेस्रो ठुलो र बेलायत छैटौँ ठुलो अर्थतन्त्र हो । यसआधारमा जापानको जीडीपी ४.२ ट्रिलियन छ भने बेलायतको जीडीपी ३.१ ट्रिलियन छ ।

बीबीसीको सहयोगमा