विराटनगर : कोशी प्रदेशको राजधानी एक मात्र महानगर विराटनगरको सार्वजनिक रात्रिजीवन १२ बजे सम्म खुला रहने भएको छ ।

महानगरपालिकाले सरोकारवालाहरू सँग छलफल गरी राती १२ सम्म सहरका होटेल, रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेपछि सार्वजनिक रात्रि जीवन मध्यरात सम्म खुला हुने भएको हो ।

विराटनगर महानगरपालिकाको समन्वयमा बुधवार बसेको सरोकारवालाको बैठकले महानगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म होटेल खुला राख्न दिने निर्णय गरेको छ । अन्य व्यवसाय १० बजे सम्म खुला रहने छन् ।

मेयर नागेश कोइरालाले भने, ‘व्यवसायीहरूले पटक पटक रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिनु पर्ने माग गर्दै आएका थिए ।’ व्यवसायीको गुनासो सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, उद्योग वाणिज्य महासङ्घ, उद्योग परिसंघ, मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन, विराट व्यापार सङ्घ, होटेल व्यवसायी सङ्घ, उपभोक्ता संस्था सहित सरोकारवालाको बैठकले उक्त निर्णय गरेको उनले बताए ।

रात्रिकालीन व्यवसायलाई आवश्यक सुरक्षा सहित मापदण्ड तय गर्न जिल्ला सुरक्षा समितिलाई जिम्मा दिइएको छ । सुरक्षा समितिले होटेल र व्यवसाय खुला राख्दा अपनाउनुपर्ने सुरक्षाका मापदण्डको कार्यविधि बनाउनेछ ।

मेयर कोइरालाले भने, ‘मापदण्डमा रहेर रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउने छ ।’ व्यवसायीको गुनासो सुनेर रात्रिकालीन व्यवसाय सञ्चालन गर्न निर्णय भएको उनले बताए ।

विराटनगरको व्यवसाय प्रवर्द्धनमा महानगरपालिका सधैँ गम्भीर रहेको बताउँदै व्यवसायीहरूले पनि सामूहिक रूपमा सहयोग गर्नुपर्नेमा मेयरले जोड दिए । व्यवसायीहरू बिच अस्वस्थ प्रतिस्पर्धा छ । एकले होटेल र पसल ढिलोसम्म खुला राख्दा अर्कोले पुलिसलाई खबर गर्ने खराब प्रवृत्ति त्याग्न उनले आग्रह गरे ।

उपमेयर शिल्पा निराला कार्कीको अध्यक्षतामा बसेको बैठकमा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले स्थानीय व्यापार व्यवसाय प्रवर्द्धनका लागि कुनै कसर बाँकी नराख्ने बताए ।

उनले कानुनको परिधिमा रहे गरिने व्यापार व्यवसाय प्रवर्द्धन गर्न, कानुनले वर्जित गरेका भन्दा अन्य व्यवसाय गर्न नहुने स्पष्ट गरे । सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरेर सुरक्षा दिने प्रजिअ भट्टराईले प्रतिबद्धता जनाए ।

उपमेयर शिल्पा निराला कार्कीले हाल साढे ९ नबज्दै प्रहरीले नै सटर बन्द गराउने गरेको व्यवसायीहरूको गुनासो सुनाउँदै भनिन्, ‘राज्यले व्यवसायमैत्री वातावरण नबनाए पासपोर्ट बोकेर विदेश जानुको विकल्प नभएको दुखेसो व्यवसायीहरूको छ ।’

बैठकमा भारतीय नम्बर प्लेटका सवारी साधन, भारतीय रुपैयाँ बोकेर आउने पर्यटकलाई दुःख दिने क्रम रोक्नुपर्ने तर्फ पनि ध्यानाकर्षण गराइएको थियो । भारतीय पक्षसँग समन्वय गरेर राति १२ बजेसम्म भन्सार नाका खोल्नुपर्ने, मापसे चेकजाँचलाई व्यवस्थित बनाउनुपर्ने लगायतका माग गरिएको थियो ।

भारतीय पर्यटकलाई आकर्षित गर्न सुरक्षा निकाय, स्थानीय सरकार र व्यवसायीहरूले पर्यटकमैत्री वातावरण बनाउनुपर्नेमा उनीहरूले जोड दिए ।

रात्रिकालीन व्यवसाय सञ्चालन हुँदा राज्यको करसमेत वृद्धि हुने महानगरको राजस्व महाशाखा प्रमुख सरोज गौतमले बताए । उनले व्यवसायीले तिर्न बाँकी मनोरञ्जन लगायतका कर बुझाउन आग्रह पनि गरेका छन् ।