धरान : कारागार अपराधीहरूका लागि सुधार गृह पनि हो भन्ने विश्वव्यापी मान्यता छ । जेल सजाय भोगेर कतिपय मानिस सुध्रिएका पनि छन् । त्यसका लागि कारागारको वातावरण पनि सुधार गृहकै हुनु जरुरी हुन्छ ।

कैदी, बन्दीहरूको दैनिक जीवनको अभ्यासले उनीहरूको मानसिक, वैचारिक पक्षमा सुधार गर्न कारागारमा नियमित योगाभ्यास गराउने अभियानमा लागेकी छन्, कोशी प्रदेश सभाकी सदस्य यशोदा कायस्थ ।

उनले सङ्घीय राजधानी काठमान्डुबाट यो अभियान सुरु गरेकी हुन् । उनको पहलमा काठमान्डु स्थित नख्खु कारागारमा विपश्यना केन्द्र ‘धम्माशय’ स्थायी रूपमा स्थापना भएको छ ।

गत: फागुन ८ गते मङ्गलवार देखि नख्खुका कैदी बन्दीहरूलाई १० दिने विपश्यना ध्यान पनि सुरु भयो । नेपालका कारागार भित्र स्थायी ध्यान केन्द्र स्थापना भएको यो पहिलो हो ।

यसअघि जेलहरूमा शिविरहरू आयोजना गरिन पनि कैदी बन्दीलाई नियमित ध्यान गर्ने व्यवस्थित र स्थायी भौतिक केन्द्र स्थापना भएको थिएन ।

गृहमन्त्री नारायण काजी श्रेष्ठले कारागार भित्र विपश्यना ध्यान भवनको उद्घाटन गरेका हुन् । सभासद् कायस्थको पहलमा विपश्यना साधकहरुको २ करोड सहयोगबाट ध्यान केन्द्र निर्माण गरिएको हो ।

नख्खु जेलमा १ हजार ६५१ कैदी बन्दीहरू छन् । कायस्थले भनिन्, ‘अब कैद बन्दीलाई नियमित ध्यान केन्द्रको सुविधा उपलब्ध भएको छ ।’ ध्यानबाट सकारात्मक चिन्तनको प्रवाहले कैदी बन्दीको जीवनमा ठुलो परिवर्तन ल्याउन सक्छ ।

उनले भनिन्, ‘मानवीय चिन्तनमा हुने सुधारले मानिसलाई पुनर्जीवन प्रदान गर्दछ ।’ कैदी बन्दीका  विगतको जीवन, प्रवृत्ति, कमी कमजोरीहरूप्रति प्रायश्चितको भाव र आउँदा दिनमा सत्कार्यमा प्रेरित हुने उनले बताइन् ।

नेकपा एमालेबाट कोशी प्रदेश सभामा समानुपातिक प्रदेश सभा सदस्य रहेकी कायस्थ आफू धरान सुनसरी-१ की भएकीले आफ्नो क्षेत्रमा विकास, निर्माणको कार्य मानवीय सशक्तीकरणलाई बल पुग्ने योजनाहरूमा जोड दिँदै आएको बताउँछिन् ।

प्रदेश र आफ्नो क्षेत्र मात्र नभएर मुलुककै लागि पनि केही गर्न सकिन्छ कि भनेर कारागारहरूमा नीतिगत स्थायी ध्यान केन्द्रको भौतिक संरचना निर्माण र कैदी बन्दीलाई नियमित ध्यान, योगाभ्यासको व्यवस्था गराउने अभियानमा लागेको बताइन् ।

उनले नख्खु कारागारमा ध्यान केन्द्र स्थापना गर्न सफल भएको उदाहरण दिँदै भनिन्, ‘प्रयास र पहल गर्दा सबै कुरा सम्भव छ, हामीले देश बनाउने कुरामा आफ्नो भूमिका खोज्दै जानु पर्छ ।’

नख्खुमा ध्यान केन्द्र स्थापना भएपछि सभासद् कायस्थ उत्साहित छन् । मुलुकमा भएका जेल, कारागारहरू सबैमा ध्यान केन्द्र स्थापना गर्ने तथा कैदी, बन्दीलाई नियमित ध्यान, योगाभ्यास गराउने दिशामा उनी अग्रसर भएकी छन् ।

उनले काठमान्डुमा कारागार व्यवस्थापन विभागका निर्देशक काशीराज दाहालसँग यस विषयमा छलफल गरेकी छन् । निर्देशक दहाल जेललाई वास्तविक रूपमा सुधार गृह बनाउन ध्यान केन्द्रको ठुलो महत्त्व रहेको कुरामा सकारात्मक रहेको सभासद् कायस्थले बताइन् ।

नख्खु पछि अब सुनसरीको झुम्का स्थित क्षेत्रीय कारागारमा ध्यान केन्द्र स्थापना गराउने पहलको उनको लक्ष्य छ । सभासद् कायस्थले भनिन्, ‘कारागार व्यवस्थापन विभाका निर्देशक ज्युलाई झुम्कामा विपश्यना ध्यान सेन्टर बनाउने अनुरोध गरेको छु, चाँडै कार्यान्वयन हुने आशा छ ।’

उनका अनुसार कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई पनि झुम्कामा ध्यान केन्द्र स्थापनाको प्रस्ताव गरिएको छ । कायस्थले भनिन्, ‘उहाँ सकारात्मक हुनुहुन्छ, चाँडै मुख्यमन्त्री ज्युको कारागारलाई सुधार केन्द्र बनाउने कुरामा ध्यान केन्द्रित हुनेछ ।’

karagaar news 2