• रमेश खनाल (खेलकुद मनोविज्ञ)

खेलाडी मोटिभेट हुनुपर्छ । मोटिभेट भएका खेलाडीहरूबाट मात्रै राम्रो नतिजा प्राप्त हुन सक्छ । प्रतियोगिताको अगाडि, प्रतियोगिताको दौरानमा र प्रतियोगिताको समाप्तिपछि पनि खेलाडी मोटिभेट हुनुपर्छ । अब प्रश्न उठ्न सक्छ, खेलाडी कसरी मोटिभेट हुने ?

खेलाडी एक व्यक्ति हो । व्यक्तिको आफ्नो स्वभाव र व्यवहार हुन्छ । व्यक्तिको आफ्नै किसिमको शारीरिक बनोट हुन्छ । कुनै व्यक्ति दुब्लो पातलो हुन्छ । कुनै व्यक्ति मझौला कदको हेर्दैमा खेलाडी जस्तो देखिने खालका हुन्छन् ।

अनि कुनै व्यक्ति मोटोघाटो हुन्छ । ती तीन थरिका शारीरिक बनोट भएका व्यक्तिहरू अन्तर्मुखी वा बहुमुखी वा उभयमुखी स्वभावका हुन्छन् । अन्तर्मुखी स्वभावको खेलाडी थोरै बोल्ने, तर उ पनि मोटिभेट हुनुपर्छ । त्यस्तै बहुमुखी स्वभावको खेलाडी फटाफट बोल्छन् । उ पनि मोटिभेट हुनुपर्छ । उभयमुखी स्वभावको खेलाडी पनि मोटिभेट हुनुपर्छ ।

शारीरिक बनौट र मनोवैज्ञानिक स्वभाव भएका अनुसार:

–कुनै खेलाडी राम्रो मोस्म देखिएमा मोटिभेट हुन्छन् ।

–कुनै खेलाडी प्रेमिकासँग भेटघाट भएमा मोटिभेट हुन्छन्

– कुनै खेलाडी राम्रो सिनेमा हेर्न पाए मोटिभेट हुन्छन् ।

– कुनै खेलाडी राम्ररी सुत्न पाए मोटिभेट हुन्छन् ।

– कुनै खेलाडी राम्रो सँग ट्रेनिङ गर्न पाए मोटिभेट हुन्छन् ।

जे होस प्रतियोगिता अगाडि खेलाडी मोटिभेट हुनै पर्छ । प्रशिक्षकले खेलाडीको इच्छा अनुसार उसलाई मोटिभेट गराउन सक्नुपर्छ । जबरजस्ती मोटिभेट गर्न सकिँदैन । अतः खेलाडीहरू स्वयंले पनि भित्री मनदेखि मोटिभेट हुनुपर्छ । त्यसको लागि प्रशिक्षणको वातावरण सिर्जना गरिदिनु पर्छ ।

बन्द प्रशिक्षणका दौरानमा को कसरी मोटिभेट हुँदा रहेछन् ?

– कुनै खेलाडी दर्शकहरूको थपडीबाट मोटिभेट हुन्छन् ।

– कुनै खेलाडी कमजोर प्रतिद्वन्द्वी भेटे भने मोटिभेट हुन्छन् ।

– कुनै खेलाडी पहिलो बाउट राम्रो भयो भने मोटिभेट हुन्छन् ।

– कुनै खेलाडी स्तरीय प्रतिद्वन्द्वी पर्‍यो भने मोटिभेट हुन्छन् ।

– कुनै खेलाडी प्रतियोगिता स्थलको रौनक देखेर मोटिभेट हुन्छन् ।

– कुनै खेलाडी आफ्नो देशको झन्डा सम्झेर मोटिभेट हुन्छन् ।

– कुनै खेलाडी आत्म मूल्याङ्कन गरेर मोटिभेट हुन्छन् ।

प्रतियोगिता भइरहेको बेलामा खेलाडी शतप्रतिशत मोटिभेट हुनुपर्छ । खेलाडी स्वयंले प्रतियोगितामा आफूलाई रत्तीभर कमजोर, निर्बल ठान्नु हुँदैन । उसले आफूलाई पूर्ण चेतन अवस्थामा प्रतिद्वन्द्वीसँग भिड्न सक्नुपर्छ ।

केही गरी पहिलो बाउटमा राम्रो भएन भने त्यो बाउटको आत्म मूल्याङ्कन गर्नुपर्छ र, अर्को बाउटमा त्यस्तो गल्ती दोहर्‍याउनु हुन्न । यसरी सजग र सचेत भएको खेलाडी नै प्रतियोगितामा विजयी हुन्छन् ।

प्रतियोगिता सकिएपछि पनि खेलाडीहरू मोटिभेट हुनुपर्छ । अक्सर धेरैले सोध्छन्, 'प्रतियोगिता सकिएपछि किन खेलाडी मोटिभेट हुनुपर्छ?'

– यदि खेलाडी पराजित भएको छ भने अर्को निकट प्रतियोगिताको तयारी गर्नको लागि खेलाडीलाई मोटिभेट हुन आवश्यक हुन्छ । अन्यथा उसले खेल जीवनबाट सन्यास लिन सक्छ ।

– यदि खेलाडीले सफलता हासिल गरेको छ भने अझ अर्को सफलता प्राप्त गर्नका लागि उसालाई मोटिभेट गरी नै रहनुपर्छ ।

मोटिभेसन एक मनो शारीरिक प्रक्रिया हो । जसलाई देख्न सकिन्छ र अनुभव गर्न सकिन्छ । धेरैले यसलाई आन्तरिक शक्ति समेत भनेका छन् । मोटिभेसन प्रायः सधैँ आवश्यक हुन्छ । मानिस जन्मेदेखि नमरुन्जेलसम्म मोटिभेसनको जरुरत पर्दछ ।

कुनै खास उद्देश्य पूर्तिका लागि मोटिभेसनको जन्म हुन्छ । जब उद्देश्य पुरा हुन्छ तब मोटिभेसनको डिग्री बदलिन्छ । अनि फेरि जब अर्को उद्देश्य जन्मिन्छ तब फेरि मोटिभेसनको उदय हुन्छ ।

यस अर्थमा के बुझिन्छ भने मोटिभेसन लक्ष्य निर्देशित हुन्छ । आन्तरिक शक्ति उन्मुख, व्यवहार चयनात्मक, व्यवहार उर्जित तथा जाग्रत्, निरन्तरताहरू मोटिभेसनका विशेषताहरू हुन् । मोटिभेसनका प्राय सबै विशेषताले खेलाडीको उद्देश्य पुरा गर्न उद्धत हुन्छन् ।

मुख्य उद्देश्य, सह उद्देश्य र उपउद्देश्यलाई सफल बनाउन मोटिभेसनको अग्रणी भूमिका हुन्छ । म्याराथन दौडने खेलाडीहरू उप, सह र मुख्य उद्देश्यबाट अभिप्रेरित हुन्छन् । थोरै किलो मिटर सम्पन्न गर्दै उनीहरू ४२ किलोमिटर पुग्छन् । उनीहरूले सबैभन्दा धेरै आत्म मूल्याङ्कन गर्नुपर्छ । सकारात्मक आत्म मूल्याङ्कनका लागि मोटिभेसन नै प्रमुख हुन्छ ।