धरान : कविशिरोमणि साहित्य साधना समाजको अध्यक्षमा डा.भवानी शङ्कर भट्टराई सर्वसम्मत चयन भएका छन् ।
समाजको आज शुक्रवार भएको वार्षिक साधारण सभाले अध्यक्ष भट्टराईको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मतिबाट चयन गरेको हो । समाजका अध्यक्ष सिद्धिकर्ण शर्माको निधन भएपछि उपाध्यक्ष भट्टराई कार्यवाहक अध्यक्ष थिए ।
कार्यसमितिको उपाध्यक्ष डा.महानन्द तिम्सिना, सचिव भरतमणि भट्टराई, सहसचिव विजय घिमिरे कोषाध्यक्ष जगन्नाथ कट्टेल चयन भएका छन् । सदस्यहरूमा लक्ष्मी सुवेदी घिमिरे, शिवकुमारी खनाल, इन्दु तोदी, सुमन खतिवडा, राघव वाग्ले र मचिन्द्र खत्री छन् ।
नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरे लगत्तै अध्यक्ष भट्टराईले सभामा सल्लाहकार मण्डलमा प्राडा. गोपालप्रसाद भण्डारी, प्राडा. खेमराज खनाल, प्राडा.रमेश घिमिरे, भीष्म काफ्ले हर्ष सुब्बा, अन्नपूर्ण बस्ती, भागिरथी शर्मालाई मनोनयन गरेका छन् । संस्थागत रूपमा सारा थापा स्मृति प्रतिष्ठान, लक्ष्मी वाचनालय सल्लाहकार संस्था रहेको छ ।
यसअघि कोषाध्यक्ष जगन्नाथ कट्टेलले आर्थिक प्रतिवेदनमा समाजले आर्थिक वर्ष २०८१/०८२ मा आयोजना गरेको साहित्यिक कार्यक्रमहरूमा कुल ९ लाख २५ हजार १० रुपयाको आयव्यय भएको विवरण प्रस्तुत गरे । सचिव महानन्द तिम्सिनाले समाजको गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गरे ।
प्रमुख अतिथि प्राडा.गोपालप्रसाद भण्डारीले समाजको संस्थापक अध्यक्ष स्वर्गीय सिद्धिकर्ण शर्माले तनमन धनले मृत्यु पर्यन्त सक्रिय राखेको समाजलाई नयाँ नेतृत्वले निरन्तरता दिने विश्वास व्यक्त गरे । निर्वाचन मण्डलका संयोजक वीरेन्द्र थापा र प्राडा खेमराज खनालले कार्यसमिति सर्वसम्मत चयन भएको घोषणा गरेका थिए ।