- अनुसा थापा
मनमोहन अधिकारीले प्रधानमन्त्री हुँदा 'आफ्नो गाउँ आफैँ बनाऊ' भनी अभियान नै चलाएका थिए । यो अभियान थालेसँगै गाउँघरमा पनि विकास देखिन सुरु भएको थियो । बाटो खन्ने, बत्ती लैजाने, अस्पताल र स्कुल निर्माण गर्ने काम अघि बढ्यो । अब गाउँमा पनि विकासको मूल फुट्छ भनी धेरैले अपेक्षा गरेका थिए ।
उनले साबिकको गाविसमा जाने बजेट पनि ह्वात्तै बढाइदिएका थिए । २०५२ फागुन १ गते माओवादीले जनयुद्ध सुरु गर्यो । माओवादीले शोषकी-सामन्ती, जमिनदार, पुँजीपति, जागिरेहरूसँग चन्दा माग्न थाल्यो । कि चन्दा नत्र फन्दा भनेपछि अधिकांशले गाउँ नै छोडिदिए ।
कोही जिल्लाको सदरमुकाममा आएर बसे । त कोही काठमाडौँ उपत्यका छिरे । सक्नेले जग्गा किनेर घर बनाए, नसक्ने भाडामा बसे । त्यो हुने बित्तिकै गाउँका जमिनहरू बाँझो भयो । घर पनि भत्कियो । उब्जनी गर्ने मान्छे नहुँदा खेतबारी सबै उजाड बन्यो । काठमाडौँमा मान्छेको चाप बढ्नुको प्रमुख कारण यो हो ।
उपत्यका छिरिसकेकाहरू माओवादीको डरले फर्किएनन् । यतै बसे । माओवादीले १० वर्ष जनयुद्ध गर्यो । राज्य पक्षबाट र माओवादीबाट गरेर १७ हजार मान्छे सहिद भए । अङ्गभङ्ग त कति हुन् कति । रगतको बलिन्द्र धारो बगेपछि बल्ल माओवादी र सरकार बिच वार्ता भयो । माओवादी सहमतिमा आयो ।
त्यसपछि धेरैले माओवादीले लखेटेको गाउँ फर्किन्छन् भन्ने अड्कल गरेका थिए । तर, त्यसो भएन । माओवादी शान्ति वार्तामा आएर पहिलो संविधान सभाको चुनावमा भाग लिने बित्तिकै झन् सदरमुकाम र काठमाडौँको जग्गाको मूल्य बढ्यो । माओवादीमा लागेकाहरूले धमाधम जग्गा किन्न थाले ।
जग्गा त दिनको दुई गुणा र रातको चार गुणा बढ्न थाल्यो । २०६४ सालमा एक लाख पर्ने जग्गा २०७८ सालमा पचासौँ लाख पुग्यो । माओवादीका कार्यकर्ता नै जग्गा दलालीमा संलग्न हुन थाले । गाउँ त कोही फर्किएनन्, बरु गाउँ छोड्नेको सङ्ख्या झनै बढ्यो । धमाधम गाउँ छोड्ने अनि काठमाडौँमै थुप्रिने क्रमले व्यापकता पायो ।
व्यापार व्यवसाय गर्नेले पनि पैसा जग्गामै हाले । विदेशमा कमाएको पैसा पनि जग्गा किन्ने घर बनाउने । सरकारी जागिरे पनि त्यही । यहाँ त जोपनि जग्गा किन्नमै व्यस्त भए । सरकारले २०७२ असोज ३ गते संविधान जारी गर्यो । मुलुक सात प्रदेशमा बाँडियो । ७५३ वटा स्थानीय तह घोषणा गरियो ।
तर, यसले पनि गाउँ फर्किनेमा खासै प्रभाव पारेन । काठमाडौँ उपत्यका र जिल्लाको सदरमुकाममा बसेकाहरू फर्किन चाहेनन् । जबकि सातै प्रदेशमा सरकार छ । सरकारी कार्यालय छ । गाउँ रित्तो हुँदा मुलुकलाई धेरै घाटा भएको छ । सबै काठमाडौँमा थुप्रिँदो गाउँघर उजाडियो ।
गाउँघरमा बुढाबुढी मात्रै बाँकी छन् । खेत छ, अन्न लगाउन कोही छैन । सुविधाको खोजीमा सबै काठमाडौँ र सदरमुकाम केन्द्रित बने । जसका कारण गाउँमा विकास नै हुन् सकेन । गाउँ झन्झन् पछि पर्दै गयो । अहिले मुलुकमा आर्थिक मन्दी छ । व्यापार व्यवसाय सुकेको छ ।
बेरोजगारी दिनहुँ बढिरहेको छ । महँगीले आकाश छुन लागेको छ । जसका कारण यहाँ कोठा लिएर बस्नेहरूले गाउँ फर्किने सुर कस्न थालेका छन् । कोठा भाडा तिर्न र बिहान बेलुका छाक टार्न समस्या परेपछि अधिकांश गाउँ फर्किने तयारीमा छन् भने केही फर्किसके ।
यहाँ बसेर बाँच्न धौ धौ परेपछि गाउँ फर्किनबाहेक विकल्प पनि छैन । आफ्नै गाउँघरमा गएर पसिना बगाउँछु भन्न थालिएको छ । माओवादीले जनयुद्ध सुरु गर्नुअघि उपत्यकाभित्र सबै खेतबारी थियो । यहाँ सबैतिर उब्जनी हुन्थ्यो । अहिलेको काठमाडौँ उपत्यका हेरौँ । घरैघरको सहर बनेको छ ।
जता हेर्यो घर मात्र छ । माओवादीले गाउँबाट मान्छे लखेटेको फाइदा जग्गा दलालीलाई भयो । आनाको एक लाखमा लिएर टुक्राटुक्रा पारेर आनाको ६० लाखमा बेचिदिए । जग्गा दलालीहरूले एकातिर खेतीयोग्य जमिन सकाइदिए, अर्कोतिर भोकमरी लाग्ने अवस्था सिर्जना गरिदिएका छन् ।
जग्गा दलालीहरूले कतिसम्म गरे कि डाँडाकाँडा, वनजंगल, तालपोखरी केही भनेनन् । सबै डोजर लाउँदै प्लानिङ गरेर सकाइदिए । जग्गा दलालीले प्रकृतिसँगै खेलबाड गरेका छन् । सबै जग्गामा घर बनेपछि चराचुरुङ्गीको वासस्थान मासिएको छ । जग्गा दलालीले सोझासोझीलाई फसाएका छन् ।
जग्गा खरिद गर्नेले जग्गा आफूसँग भएको पैसाले किने, घरचाहिँ जग्गा धितो राखेर कर्जा लिएर बनाए । आफू एक फ्ल्याटमा बस्ने अनि अरू भाडामा ल्याउने घरधनीको योजना अहिले चकनाचुर भएको छ । बसिबसी आफू पनि पालिने, बैङ्कको कर्जा पनि तिर्ने सोच बनाएकाहरू अहिले चुर्लुम्मै डुब्ने देखिएको छ ।
कोठा, सटर र फ्ल्याट धमाधम खाली हुन थालेसँगै घरधनीहरू तनावमा आएका छन् । दुई वर्ष अघिसम्म घरधनीको भुँइमा खुट्टा हुँदैनथ्यो । एउटै कोठा नौदेखि १५ हजारसम्म पर्थ्यो । फ्ल्याट २५ हजारदेखि लाखसम्म पर्थ्यो । सटर त लाखौँ पर्थ्यो । खाली सटर ५० लाखसम्म खरिदबिक्री हुन्थ्यो ।
अहिले त जताततै कोठा, सटर खाली भनेर टाँसेको पाइन्छ । हिजो माओवादीको नेतृत्व पुष्पकमल दाहालले गरेका थिए । उनले जनयुद्ध सुरु गर्ने बित्तिकै यहाँ रातारात जग्गाको भाउ बढ्यो । अहिले देशको प्रधानमन्त्री पनि उनी नै छन् । तर, परिस्थिति ठ्याक्कै उल्टो छ । गाउँ फर्किनको सङ्ख्या बढेको छ ।
घरजग्गा कारोबारमा मन्दी छाएको छ । गाउँ फर्किनु राम्रो कुरा हो । गाउँ विकास हुन्छ । अहिले गाउँमा पनि बत्ती, विद्यालय र अस्पताल पुगेको छ । इन्टरनेटको सुविधा पनि विस्तार पुग्दै छ । यसको मार भने घरधनी, दलाल र बैङ्क तथा वित्तीय संस्थालाई पुगेको छ । घरधनीसँग कर्जा तिर्न सक्ने आयस्रोत छैन ।
भनिन्छ नि, ‘परिस्थितिले मान्छेलाई धेरै कुरा सिकाउँछ ।’ आर्थिक मन्दी नआएको भए अहिले पनि कोही गाउँ फर्किदैन्थे । २९ वर्षपछि गाउँको मुहार फेरिने भो । अहिले काठमाडौँका घरधनीलाई इट्टा टोक्ने कि डन्डी टोक्ने भएको छ । उनीहरूको लुटिने दिन अब सकियो । जसले पनि सकुन्जेल लुट्ने हो ।
अब जग्गा दलाली र घरधनीले लुट्ने दिनको अन्त्य भयो । बुढापाकाले भन्छन् नि,‘घाँटी हेरेर हाड निल्नु ।’ आम सर्वसाधारण भाडा तिर्न सकुन्जेल यहाँ बसे, नसकेपछि गाउँ फर्किए । यो त सुरुवात हो । अबको एकाध वर्षमा काठमाडौँ र सदरमुकाम रित्तिसक्छ । न यहाँ भाडामा बस्ने मान्छे पाउँछ, न यहाँ घर किन्ने मान्छे नै पाउँछ ।
काठमाडौँ र सदरमुकाम रित्तियो । मान्छे ढिलो भएपनि आफ्नो जन्मथलो फर्किए र ठगहरूको ठग्ने दिन अन्त्य भयो । त्यसैले समय नै सबैभन्दा ठुलो खेल हो । समयले कतिबेला कहाँ पुर्याउँछ, भन्न सकिँदैन । अब घरजग्गाको मूल्य बढ्छ ।