धरान : धरान–८ स्थित अटल ग्यारेजमा राखिएका धरान–काकडभिट्टा रुटमा सञ्चालन हुने एउटा बसमा मंगलवार मध्यरात आगलागी हुँदा त्यहाँ पार्किङ गरी राखिएका अन्य ३ बसमा समेत क्षति पुगेको छ ।
प्रहरीका अनुसार राति करिब ९ः४० बजे ग्यारेजमा राखिएको बसमा अचानक आगलागी भएको हो । आगो फैलिँदा ग्यारेजमा रहेका अन्य बसमा समेत आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।
आगलागीबाट को १ ख ६२७४ नम्बरको बसमा ठूलो क्षति पुगेको छ । आगलागीले प्र १–०१–००१ ख ४०३७, को १ ख ३८४७ र बा ४ ख ५७५९ नम्बरका बसमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।
बसधनी कृष्ण बुढाथोकीका अनुसार बस ग्यारेजमा राखेर घर फर्किएको केही समयमै बसमा आगलागी भएको खबर आएको थियो । उनले भने ‘बस राखेर घर गएको थिएँ, एकछिनमै बसमा आगो लागेको खबर आया, दौडिँदै आएँ, त्यसपछि दमकल बोलाएर आगो नियन्त्रणमा लियौं ।’
दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।






























































