इटहरी : जिल्ला बचत तथा ऋण सहकारी सङ्घ सुनसरीका पूर्व अध्यक्ष शिवराज श्रेष्ठ र सचिव प्रलाद दाहाललाई स्पष्टीकरण सोधेपछि खैलाबैला मच्चिएको छ । सङ्घलाई समस्या पर्नेगरि तत्कालीन सञ्चालक समितिले सहकारी ऐन विपरीत ऋण लगानी गरेको भन्दै वर्तमान कार्यसमितिले पत्र पठाएको हो ।
बचत सङ्घमा जोखिमयुक्त ऋण धेरै भएकाले प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले पूर्व पदाधिकारी तथा ऋण उपसमितिले कुन आधारमा लगानी गरेको स्पष्ट पार्न निर्देशन दिएको थियो । सोही आधारमा बचत सङ्घका सचिव मिलन त्रितालले पूर्व पदाधिकारी र ऋण उपसमितिका सदस्यहरूलाई स्पष्टीकरण माग गरेका हुन् ।
त्रितालले पत्र पठाउँदै ७ दिन भित्र स्पष्टीकरण नदिए कानुन बमोजिम हुने उल्लेख गरेका छन् । सचिव त्रितालले पत्र पठाएपछि पूर्व सचिव प्रलाद दाहालले आक्रोश व्यक्त गरे ।
दाहाल कार्यसमितिमा रहेको बेला लगानी गरेको ऋण जोखिममा परेको छ । बिषयान्तर गर्ने उद्देश्यले दाहालले वर्तमान अध्यक्ष गोमा कुमारी गिरि प्रति आक्रोशित हुँदै नेतृत्व गर्न असक्षम रहेको बताएका छन् । स्पष्टीकरण नदिने बताउँदै उनले अध्यक्षको राजीनामा समेत माग गरे ।
सामाजिक सञ्जालमा दाहालले गरेको पोष्टमा पूर्व अध्यक्ष शिवराज श्रेष्ठले धम्कीपूर्ण भाषा प्रयोग गरेका छन् । त्रिताललाई खुट्टा भाँच्ने सम्मको धम्की दिएका उनले फाइट खेल्न चुनौती दिएका छन् । वरिष्ठ उपाध्यक्ष समेत भइसकेका दाहाललाई सङ्घको १८ औँ साधारण सभाबाट अध्यक्ष बनाउन श्रेष्ठ लगायतले पहल गरेका थिए । जुन सफल हुन नसकेपछि आफ्नो कार्यकालमा भएका निर्णयले श्रेष्ठ र दाहाल दुवैलाई समस्या परेको छ ।
धरानको नमो: सहकारी सञ्चालन गर्दै आएका श्रेष्ठको नामको जग्गा लिलामीको लागि प्रक्रिया सुरु भएको छ । बन्द अवस्थामा पुगेको सहकारीको कारण बचत सङ्घलाई समस्या परेको हो । यस्ता अन्य धेरै सहकारीले ऋण लगेर नतिरेपछि वर्तमान कार्यसमितिले कडाइका साथ ऋण असुली र कारबाही प्रक्रिया अगाडी बढाइरहेको छ । दाहाल र श्रेष्ठको अभिव्यक्ति प्रति खेद व्यक्त गर्दै सङ्घले विज्ञप्ति जारी गरेको छ । कानुनी कारबाहीमा जाने चेतावनी दिँदै संस्थाको गरिमा जोगाउन आग्रह गरेको हो ।