धरान : धरान गल्फ क्लबको आयोजनामा ‘ग्यालेक्सी काठमाडौँ खुल्ला गल्फ टुर्नामेन्ट’ यही शनिवार धरानमा हुने भएको छ।
धरान–१९ स्थित गल्फ क्लबको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा ५० भन्दा बढी खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

मंगलबार धरानमा पत्रकार सम्मेलन आयोजना गर्दै क्लबले प्रतियोगिताको मुख्य प्रायोजन ग्यालेक्सी काठमाडौंका फणिन्द्र लिम्बुले गरेको जानकारी दिएको छ।

प्रतियोगितामा ग्रस विजेता र नेट विजेता ले ३० हजार ५ सय रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन्। यस्तै नेट रनर अप लगायत अन्य विजेताले ८ हजार ५ सय रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्ने धरान गल्फ क्लबका अध्यक्ष हरि बहादुर राईले जानकारी दिए।
प्रतियोगितामा विभिन्न विधामा विजेता घोषणा गरिनेछ। जसअनुसार ग्रस विजेता, नेट विजेता, नेट रनर अप, नेट फस्ट रनर अप, सिनियर विजेता, जुनियर विजेता, जुनियर फस्ट रनर अप तथा लेडिज विजेता लाई पुरस्कार प्रदान गरिने अध्यक्ष राईले बताए।
यस्तै व्यक्तिगत विधातर्फ नोभेल्टी पुरस्कार, लङ्गेस्ट ड्राइभ,नियरेस्ट टु दि पिन तथा मस्ट बर्डिज विधामा समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताले धरानमा गल्फ खेलको प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षाका साथ प्रतियोगिता सञ्चालन गरिने प्रोफेसनल खेलाडी तिलक राईले जानकारी दिए। प्रतियोगिता सञ्चालनका लागि करिब २ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
प्रतियोगिताका प्रायोजक फणिन्द्र लिम्बुले प्रतियोगिता सफलतापूर्वक सञ्चालन भए आगामी पाँच वर्षसम्म टुर्नामेन्टलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रोफेसनल गल्फ खेलाडी बलभद्र राई (मनि)ले जानकारी दिए।