- अनुसा थापा
देशमा के भइरहेको छ ? भनेर हरेक नागरिक सचेत हुनुपर्छ । सञ्चार माध्यममा आएका समाचारलाई पनि प्राथमिकता दिनुपर्छ । केही दिनअघि मेडिकल व्यवसायी दुर्गा प्रसाईँका कार्यकर्ताले बैङ्क तोडफोड गरे । त्यसअघि सप्तरीमा बैङ्कका सुरक्षा गार्डको हत्या भयो । अहिले कतिपय बैङ्कका बचतकर्ताहरू आफ्नो खाताबाटै पैसा हराएको बताउँछन् ।
उद्योगी, व्यवसायीहरू आफूहरू पलायन हुनुपर्ने अवस्थामा पुगेको बताउँछन् । निर्माण व्यवसायी, दुग्ध किसान, अटो व्यवसायी, घरजग्गा, गाडी र सेयर व्यवसायीहरू पनि आफूहरू डुबेको भन्छन् । व्यवसायीहरू बजार चलायमान भएन भन्छन् । बैङ्कको खराब कर्जा बढ्दै गएको छ । बैङ्कबाट कर्जा लिने कोही छैन ।
अर्थमन्त्री वर्षमान पुन बजार चलायमान गराउनुपर्ने भन्छन् । तर, कसरी बजार चलायमान बनाउने ? व्यवसायीहरूका अनुसार हरेक क्षेत्रमा मन्दी छ । घरजग्गा, गाडी र सेयर कारोबार ठप्पै छ । व्यापार व्यवसाय पनि छैन । अहिले लगानी गर्नेभन्दा पनि पलायन हुनेहरू बढिरहेका छन् । अनि कसरी हुन्छ बजार चलायमान ?
बुढोपाकाले भन्थे, ‘खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ ।’ व्यापार व्यवसाय गर्नेहरू सबै डुबेका छन् । व्यवसायीहरू आफू डुब्यौ भनिरहेका छन् । यद्यपि, सरकार भने अझै सर्वसाधारणलाई भ्रममा पारिरहेको छ । व्यापार व्यवसाय ठप्प भएको सरकार स्वीकारदैंन् । मालपोत र यातायात कार्यालयमा घर र गाडी किनबेच तथा नामसारी छैन ।
अनि अर्थमन्त्री र प्रधानमन्त्री न त्यहाँ गएर हेर्छन् न बजार मन्दीमा गएको नै स्विकार्छन् । सेयर कारोबार घट्दै गएको छ । मूल्यमा भारी गिरावट आएको छ । सुपर मार्केट, बिग मार्ट, भाटभटेनीमा ग्राहक भेटिदैंनन् । होटेल, रेस्टुरेन्टदेखि ब्युटी पार्लर, हार्डवेयर व्यवसायीहरू बहनी समेत नहुने गुनासो गर्छन् । यता, दही, दूध, माछा, मासु, फलफूल व्यापारीहरू पनि व्यापार छैन भन्छन् ।
बजारमा सुनको मूल्य बढिरहेको छ । तर, सुन व्यापारीहरू किन्नेभन्दा पनि बेच्ने बढी रहेको बताउँछन् । बजारमा जताततै ‘कोठा खाली’, ‘सटर भाडामा’, ‘फ्ल्याट खाली’, ‘टुलेट’, लगायत लेखिएका पोस्टरहरू देखिन्छन् । निजी विद्यालयहरू विद्यार्थी अभावका कारण बन्द हुने अवस्थामा पुगेका छन् । कि त दुई–तीन वटा विद्यालयसँगै मर्ज गरेर चलाउनुपर्ने नभएर बन्दै गर्नुपर्ने स्थितिमा पुगेको बताइन्छ ।
यति मात्र होइन अहिले निजी अस्पतालहरू पनि बन्द हुनुपर्ने अवस्थामा पुगेका छन् । अहिले सर्वसाधारणमा निराशा छाएको छ । नेपालीको आयु ७० वर्ष उता छ । जबकि सय वर्षअघि ३०-४० वर्ष पनि थिएन । अहिले स्वास्थ्य सेवा, खाद्यान्नलगायतका कारण पनि मानिसको आयु बढ्दै गएको छ । तर, पैसा हुने त उपचार गरेर भए पनि सय वर्षसम्म बाँच्छन् ।
अनि उपचार गर्न पैसा नभएकाहरूले अहिले पनि कलिलै उमेरमा ज्यान गुमाउनुपरिरहेको छ । खोलामा नुहाउन वा माछा मार्न गएको मान्छे भन्दा डाँडो हिँड्ने बाँठो हुन्छ भनिन्छ । अहिले मुलुक आर्थिक मन्दीमा गयो । अर्थतन्त्र घरायसी अवस्थामा पुग्यो भनेर सर्वसाधारण, व्यापारीहरूमा छलंग छ । तर, सरकारमा बसेकाहरूलाई भने केही थाहा छैन ।
प्रधानमन्त्री, मन्त्रीहरूलाई देश कुन बाटोमा गइरहेको छ ? कसरी देश चलिरहेको छ ? अर्थतन्त्र कस्तो अवस्थामा छ ? बजार चलायमान छ कि छैन ? भनेर केही थाहा छैन । यहाँ त प्रधानमन्त्री, मन्त्री पद खेलौनाजस्तो भएको छ । चिसा पसलेहरू दुई वर्षअघि दैनिक पाँच हजारको व्यापार हुनेमा अहिले पाँच सयको नहुने निराश भएर बताउँछन् ।
झन् घरजग्गा, गाडी र सेयर त किन्ने कोही छ । अहिले बजारमा गुन्द्रुक बिक्री हुन्छ । तर, घरजग्गा, गाडी र सेयरमा मानिसहरू लगानी गर्दैनन् । बैङ्क तथा वित्तीय संस्थाको सम्पूर्ण लगानी घरजग्गा, गाडी र सेयरमा छ । अहिले ९५ प्रतिशत मानिसको घरजग्गा, गाडी र सेयर बैङ्क तथा वित्तीय संस्थाको नाममा छ । बेरोजगारी, मन्दी वा व्यापार व्यवसायमा डुबे पनि उनीहरू अहिले बैङ्कको ऋण तिर्न नसक्ने अवस्थामा पुगेका छन् ।
अहिले ऋणीहरूले ‘हामी ऋण तिर्न सक्दैनौँ, बरु धितो लिलाम गर’ भनेर भनिसके । धितो लिलाम गरे पनि बैङ्कसँग बेच्न ग्राहक छैन । यसले गर्दा सर्वसाधारणले बैङ्कमा गरेको बचत समेत जोखिममा परेको छ । हिजो सहकारी पनि त घरजग्गा, गाडी र सेयरमै लगानी गर्दा भाग्नुपरेको थियो नि त । अब सरकारले बैङ्कमा जनताको बचत सुरक्षित छ कि छैन ? सत्य कुरा बताउनुपर्छ ।
सर्वसाधारणमा भ्रममा पारिरहनु हुन्न । किनकि भोलि सर्वसाधारण डुबे पनि त्यसको जिम्मा कसले लिन्छ ? दुई वर्षअघि ३५ सय कित्तामा किनेको सेयर अहिले सय रुपैयाँमा बिक्री नभएको सेयर लगानीकर्ताहरू नै भन्छन् । आनाको ३० लाखमा किनेको घडेरी अहिले पाँच लाखमा बिक्री नभएको मानिसहरू आफैँ बताउँछन् । यता, सवारीसाधनको किनबेचमा पनि गिरावट आएको छ ।
व्यवसायीहरू गाडीको मूल्य घट्दा पनि किन्ने कोही नभएको बताउँछन् । नेपालमा व्यापार व्यवसाय गर्दै आएका मारवाडी व्यवसायीहरूले पनि यहाँ बजारमा मन्दी आएपछि व्यवसाय नै छोडी यहाँ कमाएको पैसा पनि बोकेर आफ्नै देश फर्किएका छन् । सहकारी, लघुवित्त र फाइनान्सले त्यत्तिकै पीडित बनाएको छ ।
सर्वसाधारणहरूको बिल्लीबाँठ भएको छ । कतिपय मानिसको घरपरिवार नै लथालिङ्ग बनेको छ । अब देशमा के हुन्छ ? भनेर सर्वसाधारणमा अन्यौलता छ । घरजग्गा, गाडी र सेयरमा लगानी गर्ने व्यक्ति होस् या बैङ्क तथा वित्तीय संस्था त डुबी नै हाले । बजारमा कुनै पनि क्षेत्रमा लगानी गर्ने कोही छैन । किनकि मानिसहरूले पैसा सबै लुकाइसकेका छन् ।
अहिले पैसा हुनेले बैङ्कबाट निकालेर घरमै लुकाएका छन् । यता, पैसा नहुनेलाई हिजो पनि केही थिएन र आज पनि केही छैन । यसरी पैसा हुनेहरूले नै बजारमा लगानी नगरिदिँदा पनि अर्थतन्त्रमा सुधार आउन नसकेको हो । ज्ञानेन्द्र शाह राजा हुँदा भन्थे, ‘नेपाललाई जहिल्यै पशुपतिनाथले कल्याण गरुन ।’ यसो भन्दाभन्दै देशबाट राजतन्त्र हट्यो ।
उनले पद पनि गुमाउनुपर्यो । र, नारायणहिटी दरबार समेत छोड्नुपर्यो । अहिले पूर्वराजा शाह नागार्जुनमा बस्छन् । मुलुक सङ्घीयतामा गएको छ । देशमा लोकतन्त्र गणतन्त्र आएको छ । ०६१ माघ १९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई विस्थापन गरेर पूर्वराजमा ज्ञानेन्द्र शाहले आफ्नो हातमा सत्ता लिएका थिए ।
तुलसी गिरी, कीर्तिनिधि विष्ट र कमल थापाजस्ता व्यक्तिलाई ल्याएर सत्ता चलाउँदा शाहले राजा पद र दरबार नै गुमाउनुपप्यो । वर्तमान सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छन् । अर्थमन्त्री वर्षमान पुन छन् । तर, उनीहरूले अहिलेसम्म अर्थतन्त्रमा सुधार ल्याउन केही गरेका छैनन् । जहिल्यै अर्थतन्त्रमा सुधार आउँदैछ भनेर सर्वसाधारणमा ढाँटिरहेका छन् ।
केही वर्षअघि श्रींलकामा जनताले आफ्नो देशको राष्ट्रपतिलाई लखेटे । त्यसरी नै नेपाली जनताले पनि एक दिन यिनीहरूलाई देशबाट लखेट्ने छन् । किनकि झुट जहिले पनि झुट नै हुन्छ । जनआन्दोलनका कारण हिजो राजा त दरबार छोडेर हिँड्नुपर्यो भने राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू को हुन् र ? पालो सबैको आउँछ । त्यसैले, अब सत्तामा बसेकाहरूले हावा कुरा गरेर जनतालाई भ्रममा पारिरहनु भन्दा पनि छिटोछिटो काम गर्नु नै उचित हुनेछ ।
सरकारी स्वामित्वकै महालेखा परीक्षकको कार्यालय आम्दानीभन्दा बढी खर्च भएको दाबी गर्छ । राज्यको लक्ष्यअनुसार राजस्व नउठेको उसको भनाइ छ । यद्यपि, सरकार चाहिँ अर्थतन्त्रमा सुधार आइरहेको ठोकुवा गर्छ । सत्तामा बसेकाहरूले दिन कटाउने, मानो चटाउने काम गर्नुहुन्न । कि त भटाभट काम गर्नुपर्छ । नभए जनतासँग माफी मागेर सत्ताबाट बाहिरिनुपर्छ ।
अहिले सर्वसाधारण समेत सचेत भइसकेका छन् । उद्योगी, व्यवसायी तथा दलालीहरू प्रधानमन्त्री, अर्थमन्त्री भेटेर हामी डुब्यौ भनिरहेका छन् । तर, प्रधानमन्त्री कहाँ गएर गोहीको आँसु झार्दैमा बजार पहिलाकै अवस्थामा फर्किन्छ र ? बजार चलाउन सर्वसाधारणले लगानी गर्नुपर्छ नकि प्रधानमन्त्री, अर्थमन्त्रीले । यद्यपि, यस्ता दलालीहरूले आफूहरूलाई ठग्दै आएको थाहा पाएपछि अब सर्वसाधारण सतर्क भइसकेका छन् ।