नेपालमा १२ सय मिटरदेखि ३ हजार मिटरको उचाइसम्म पाइने र अङ्ग्रेजी भाषामा ‘हिमालयन जायन्ट नेटल’ भनिने नेपाली भाषामा ‘भांग्रे सिस्नो’ र कुलुङ जातिको मातृभाषामा 'जा-खिल्ल/जाखिल्मा' वनस्पति सिस्नोलाई हालको प्रचलित भाषामा अल्लो भनिने गरेको छ ।
नेपालका जातजाति पिच्छे फरक नाम रहेको हुन सक्ने भांग्रे सिस्नो हालको प्रचलित भाषामा भने अल्लो नामले नै चिनिने गरिएको छ । मेचीदेखि महाकाली सम्मका ३५ भन्दा बढी हिमाली तथा पहाडी जिल्लाहरूमा अल्लो पाइन्छ ।
धेरैअघि वन विभाग तथा यससँग सम्बन्धित संस्थाहरूले निकालेको तथ्याङ्क अनुसार वार्षिक ३५० मेट्रिक टनभन्दा बढी अल्लोको बोक्राबाट धागो तथा अन्य अल्लोजन्य सरसामानहरू नेपालमा उत्पादन गर्ने गरिन्छ । यसरी उत्पादन भएका अल्लोजन्य सरसामान मध्ये ८० प्रतिशत भन्दा बढी विदेश निर्यात गर्ने गरिन्छ । विदेशमा पनि मुख्यतः युरोप र उत्तर अमेरिका निर्यात भइरहेको छ ।
त्यसो त नेपालमा रहेका अल्लोजन्य उत्पादनसँग सम्बन्धित विभिन्न स-साना घरेलु उद्योग र सङ्घ संस्थामध्ये एक 'हिमालयन फाइबर फाउन्डेसन नेपालका तत्कालीन अर्थ तथा कार्यक्रम निर्देशक भलाकाजी ङोपोचो कुलुङका अनुसार विदेश निर्यात गरिने देशहरूमा बेलायत, जापान, जर्मनी, अमेरिका, फ्रान्स, क्यानडा, इटाली, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड, नर्वे, डेनमार्क, फिनलान्ड, दक्षिण कोरिया आदि रहेका छन् ।
कुलुङका अनुसार यसरी विदेश निर्यात हुने अल्लोजन्य सरसमानहरूमा बढी जसो लत्ताकपडाहरू हुने गरेको छ । हुन पनि नेपाल हस्तकला महासङ्घको अलि अघिको हस्तकला निर्यात रेकर्डअनुसार आर्थिक वर्ष २०६४/६५ मा ४८ लाख ४१ हजार १५३ रुपैयाँ बराबरको अल्लोजन्य सरसामान विदेश निर्यात भएको थियो । आर्थिक वर्ष २०६५/६६ मा ४७ लाख ३९ हजार ६६८ रुपैयाँ बराबरको अल्लोजन्य सरसामान निर्यात भएको देखिन्छ ।
वास्तवमा अल्लो मात्रै भन्नाले जङ्गली र ठुलो सिस्नोको बोट भन्ने बुझिने भए तापनि हाल अल्लोको रेसा अथवा बोक्रा वा रेसाजन्य वस्तुलाई प्रशोधन तथा उत्पादन गरेर तयार पारिएको सरसमानलाई नै अल्लोको उत्पादन भनेर बुझ्ने गरिन्छ । यसरी हेर्दा अल्लोको प्रमुख स्रोत अर्थात् म्याटेरियल भनेको रेसा वा बोक्रा नै हो।
यस कार्यकालागि नेपालमा हाल 'हिमालयन नेचुरल फाइवर फाउन्डेसन' र 'नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घ' लगायत दर्जनौँ संस्थाहरू संस्थागत ढङ्गले संलग्न रहेका छन् । मुख्य गरेर ‘हिमालयन नेचुरल फाइवर फाउन्डेसन’ले अल्लो र यसको रेसाजन्य वस्तु उत्पादन तथा प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।
यसरी नै अल्लो र अल्लोको रेसाजन्य सामग्री उत्पादन तथा प्रवर्द्धनमा मेडेप नामक गैरसरकारी संस्थाले पनि लामो समयदेखि आफ्नै ढङ्गले प्रयत्न गरिरहेको छ । अल्लोको दिगो विकास, व्यवस्थापन, प्रविधि हस्तान्तरण, उद्यम विकास आदिका लागि तालिम, जीविकोपार्जनका लागि वन कार्यक्रम आदिसँग मिलेर पर्वत, बागलुङ, म्याग्दी आदि जिल्लामा कार्यक्रम सञ्चालन गरिएका छन् ।
‘हिमालयन नेचुरल फाइवर फाउन्डेसन’का तत्कालीन कार्यकारी निर्देशक इन्द्र होनित्ति कुलुङका अनुसार साना तथा घरेलु उद्योग र तत्कालीन जर्मन सरकार मातहत रहेको जर्मन सहयोग संस्था (जिटिजेट) को सहकार्यमा रुकुम र रोल्पा जिल्लामा पनि धेरैअघि नै अल्लो प्रवर्द्धनका लागि छलफल र तालिम आयोजना गरिसकिएको छ ।
उहाँका अनुसार अल्लोको रेसाबाट उत्पादित धागो तथा कपडाहरूबाट विभिन्न सामाग्री उत्पादन तथा सप्लाई गर्ने संस्थाहरूमध्ये एक 'निनाम रिदुम जैविक हस्तकला' निनाम रिदुम बायोहेण्डीक्राफ्ट प्रमुख हो । यसबाहेक ‘होमनेट नेपाल’ले पनि अल्लोको रेसाबाट उत्पादित कपडाबाट हस्तकला उत्पादन गर्ने र बेच्ने कार्य गर्दछ । यसरी अल्लोको रेसाबाट बनेको सामग्री बिक्री वितरण गर्ने अन्य सङ्घ संस्थाहरूमा महागुठी, साना हस्तकला सङ्घ, हस्तकला उत्पादक सङ्घ आदि पनि रहेका छन् ।
कुलुङ जाति र अल्लोको सम्बन्ध
समग्र आदिवासी जनजातिको जीवन शैली प्रकृतिमा आधारित रहेको हुन्छ । त्यस्तै कुलुङ जाति पनि पूर्ण रूपले परापूर्वकालदेखी नै प्रकृतिसँग खेल्दै/हुर्कँदै आएको जाति हो ।
त्यसमा पनि अङ्ग्रेजी भाषामा ‘हिमालयन जायन्ट नेटल’ अनि ठेट नेपाली भाषामा ‘भाङ्ग्रे सिस्नो’ कुलुङ जातिको मातृभाषामा ‘जाखि-जाखिल्मा’ भनिने अल्लोसँग कुुलुङहरुको उत्पत्ति कालदेखि नै घनिष्ठ र विशेष सम्बन्ध रहेको देखिन्छ । कुलुङ जातिको धर्म र संस्कार संस्कृति भनेको बितेर गएका आफ्ना पिता-पुर्खालाई सम्झनु, प्रकृतिलाई पुज्नु (एनिमिज्म) हो ।
त्यस अन्तर्गत भूमि, अन्न–बाली, डाँडाकाँडा, वनजंगल, बोटबिरुवा, खोलानाला, ताल, पोखरी आदिको पूजा गर्ने प्रचलनहरू पर्छ/हो । यसरी बोटबिरुवाको कुरो गर्दा अल्लो वा भाङ्ग्रे सिस्नो र, कुलुङ मातृभाषामा ‘जाखि-जाखिल्मा’भनिन्छ । यसरी हेर्दा कुलुङ जातिमा ‘जाखि-जाखिल्मा’को महत्त्वपूर्ण र पवित्र स्थान रहेको देखिन्छ ।
किनकि, कुलुङ जातिमा ‘जाखि–जाखिल्मा’ विभिन्न उत्सव, महोत्सव धार्मिक परम्परा लगायत अन्य कार्यमा परम्परादेखि नै प्रयोग हुँदै आएको छ । जस्तै कुलुङ जातिको लोक कथामा वर्णन गरिएअनुसार कुलुङ जातिका पुर्खाहरूले आफ्नो शरीर ढाक्नका लागि सबैभन्दा पहिले यही अल्लो अर्थात् ‘जाखि–जाखिल्मा’को बोट काटेर बोक्रालाई छुट्छयाएर धागो कातेर लुगा बुनेर लगाउन सुरु गरेका थिए ।
त्यस्तै ‘जाखि–जाखिल्मा’बाटै विभिन्न शृङ्गारका सरसामान बनाउने, नाम्लो बुनेर प्रयोग गर्ने, डोरी बाटेर गाई वस्तु बाँध्ने आदि कार्यको सुरुवात पनि गरे । यो प्रचलन हालसम्म पनि कुलुङहरुको उत्पत्ति थलो महाकुलुङ क्षेत्रमा कायमै रहेको छ । हुन पनि सोलुखुम्बु, भोजपुर र सङ्खुवासभा जिल्लाका कुलुङहरु सन् १९९० सम्म पनि अल्लोको कपडामै निर्भर रहेका थिए भने अझै पनि यी जिल्लाका कतिपय गाउँहरूमा ‘जाखि–जाखिल्मा’बाट बुनेकै कपडाहरू लगाइने गरिन्छ ।
मुख्य गरेर हाल पनि अल्लोको धागोबाट बुनेको फेंगा (ओन्चे), पगरी (तोङ्रिम्मा), गलबन्दी (पैरिम्) सुरुवाल, पटुका (थाप्री) धोती (वोम्रो), कन्धनी (बुन्छारी) आदि कुलुङ जातिका पुरुषले लगाउने गरेका छन् भने उलुम्मा, लो, लालाचार (लुक्सपा), ओन्चे (फेंगा), तोङरिम्मा (टाउकोमा लगाउने), हेम्बारी (छातीमा बाँध्ने-जाडोमा, नानी बोक्ने आदिका लागि), ताकिपेम (केश बाँध्ने) आदि कुलुङ जातिका महिलाहरूले लगाउने गर्छन् ।
साथै कुलुङ समुदायको धर्म, चाड, पर्व, संस्कार, संस्कृति आदिमा पनि अल्लो अर्थात् जखिल्माको महत्त्व रहेको छ । किनभने कुलुङ जातिमा मानिस जन्मेदेखि मृत्युसम्मको कुनै पनि संस्कारमा यो अल्लो अर्थात् ‘जाखि–जाखिल्मा’ नभई हुँदैन । जस्तै कुलुङ जातिमा बच्चा जन्मेर नाइटो काटेपछि अल्लोको धागोले बाँध्ने, अल्लोकै कपडाले बच्चालाई बेर्ने, त्यस्तै अल्लोकै कन्धनी लगाइदिने, अल्लोकै कपडा वा धागोको धूप बाल्ने, अल्लोकै थाङ्नामा सुताउने गरिन्छ ।
त्यस्तै कुलुङ जातिको मृत्यु संस्कारमा पनि अल्लोको धागो र अल्लोको कपडा अनिवार्य चाहिन्छ । पूजाआजा र शुभ कार्यमा पनि अल्लोको धागो र अल्लोको कपडा प्रयोग नभई हुँदैन । जस्तै कुलुङ जातिले 'देदाम’ भन्ने ठुलो पूजा गर्दा अल्लोबाट बनेको ‘दख्खु/दोख्खु’ नामक कपडाको प्रयोग गरिन्छ भने, मोबो गर्दा (पूजा थान छोप्ने कपडा) पनि अल्लोबाट बुनेकै कपडा प्रयोग गरिन्छ । यसरी हेर्दा अल्लो र कुलुङ जातिको सम्बन्ध अति नै विगत लामो समयदेखि नै धेरै नजिक रहेको देखिन्छ ।