धरान : धरान–१३ गोर्खा वेल्फेयर मोड छेउमा शनिवार साँझ टाटा योद्धा पिक अप पल्टिदा घटनास्थलमै मृत्यु भएका मृतक विराटनगर–६ सरस्वती टोलका २१ वर्षीय रोहन कामत रहेको खुलेको छ ।
दुर्घटनामा अन्य ११ जना घाइतेलाई उद्धार गरी बिपी प्रतिष्ठान पुर्याएको थियो । उनीहरू मध्ये गम्भीर घाइते ५ जनालाई विराटनगर लगिएको छ । सामान्य घाइते ३ जना डिस्चार्ज भएका छन् । ४ जनाको प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
घाइते चालक जीवनकुमार श्रेष्ठका अनुसार गाडीमा सवार यात्रुहरू भेडेटारबाट लिफ्ट मागेर चढेका थिए । भेडेटार छेउमा गाडी बिग्रिएको थियो । धरानबाट मेकानिक लगेर मर्मत गरी बनाएर फर्किएको बेला दुर्घटना भएको उनले बताए ।
सोही साँझ करिब ७ बजेतिर धरानबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ५३१४ नम्बरको यात्रु वाहक बस तरहरा–पानिपियामा दुर्घटनाग्रस्त भएको थियो ।
बसमा ४० जना सवारमध्ये २४ जना घाइते भएका थिए । घाइतेमध्ये २० जना सामान्य अवस्थामा डिस्चार्ज भएका छन् । ४ जनाको बिपी प्रतिष्ठानमै उपचार भइरहेको छ ।
उनीहरू स्कोन मन्दिरले आयोजना गरेको जगन्नाथ रथ यात्रा कार्यक्रममा सहभागी भएर घर फर्कने क्रममा दुर्घटना परेको प्रहरीले जनाएको छ ।

































































