धरान : पूर्वी पहाडी जिल्लामा फलेका सुन्तलाले यसपालि सिजनको सुरुमै १६ करोड ५० लाख रुपैयाँको हाराहारीमा कारोबार गरेको छ। धरान कृषि थोक बजारको तथ्याङ्क अनुसार मङ्सिर १५ सम्म बजारमा १ हजार ५०० मेट्रिक टन सुन्तला आइसकेको छ।
सुन्तलाको खास सिजन पुष महिना हो । पुरै पहेँलो नभएको सुन्तलाको ओइरो अहिले धरान-१३ स्थित कृषि बजारमा लाग्न थालेको छ । अघिल्ला आर्थिक वर्ष २०८१/०८२ मा ५ हजार ६५० मेट्रिक टन सुन्तलाले ६२ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।
उत्पादन बढ्ने अनुमान
यसवर्ष मङ्सिर १५ सम्ममा नै १ हजार ५०० मेट्रिक टन सुन्तला बजारमा आएको कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । व्यापारी टिकाराम श्रेष्ठका अनुसार गत वर्षको तुलनामा यसपालि सुन्तलाको उत्पादन २० प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ ।
कृषि बजारमा भोजपुर, धनकुटा, सङ्खुवासभा, पाँचथर, तेह्रथुम, ताप्लेजुङ र खोटाङमा फलेका सुन्तला आउने गरेको छ । व्यवस्थापक भट्टराईका अनुसार यहाँ आपूर्ति हुने सुन्तला इटहरी, विराटनगर, उर्लाबारी, दमक, बिर्तामोड, राजविराज, लहान, जनकपुर लगायतका बजार पुग्छन् ।
उनले भने ‘सुन्तलाको कारोबार कात्तिक देखि सुरु भई चैत पहिलो साता सम्म चल्छ ।’ उनका अनुसार पुस-माघ सुन्तलाको मुख्य सिजन हो । माघ-फागुनमा सुन्तलाको स्वाद बढी उत्कृष्ट हुने गर्छ ।
धनकुटामा किराको प्रकोप
यसपालि धनकुटाका कृषकहरू सुन्तलाको बोटमा किरा लागेको कारण मारमा परेको उनले बताए । सुन्तला खेतीबाट कतिपय कृषकले वार्षिक १० देखि १५ लाखभन्दा बढीको आम्दानी गर्छन् । तर किरा लागेको कारण यसपालि धनकुटामा सुन्तलाको उत्पादन घट्ने कृषकहरूले बताएको उनले उल्लेख गरे ।
धनकुटाको सुन्तलामा कमी भएपनि भोजपुर, सङ्खुवासभा, पाँचथर, तेह्रथुम, ताप्लेजुङ र खोटाङमा सुन्तला खेती बढेको छ । नयाँ कृषकहरू बढेकाले उत्पादन बढी भई कृषि बजारमा आयात बढेको व्यवस्थापक भट्टराईले बताए ।
थोक व्यापारी टिकाराम श्रेष्ठका अनुसार उत्पादन बढाउन सके पुस-माघमा स्थानीय सुन्तलाको बिक्री बढ्छ । आयातित फलफूलको उपभोग घट्ने सम्भावना हुन्छ । उनले भने ‘स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सके राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ ।’
कृषि प्राविधिकहरूका अनुसार सुन्तला बगैँचामा हाल फैलिएको जरा–किरा अत्यन्त टिकाउ हुने प्रजातिको पाइएको छ । यसले बोटको पोषण सोस्ने भएकाले उत्पादन घट्ने गरेको छ । उनीहरूले समयमै जैविक रासायनिक दुवै माध्यमबाट नियन्त्रण गर्न सुझाव दिएका छन्।
धनकुटामा उत्पादन घट्ने
कृषकको बोटैमा पुगे सुन्तला खरिद गर्ने व्यापारीहरूले यसपालि उत्पादन २० प्रतिशत बढ्ने अनुमान गरेको बेला धनकुटाका सुन्तला कृषकहरूले भने २० प्रतिशत घट्ने दाबी गरेका छन् ।
धनकुटा सहिदभूमिका किसान झमक सिंह राईका अनुसार यस वर्ष सुन्तला उत्पादन एकदमै घटेको छ । उनले भने ‘अघिल्लो वर्षको तुलनामा यस वर्ष २० प्रतिशत मात्र सुन्तला उत्पादन भयो ।’ उनका अनुसार बोट पहेँलो भएर मर्छ । जति दवाई छर्के पनि किरा मर्दैन । फुलै लागेन, फल लागेको पनि सुक्न थाल्यो ।
गत वर्ष करिब ४ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका उनले यस वर्ष ८० हजार रुपैयाँ पनि नपुग्ने बताए । अर्का किसान बुद्ध राईले पनि बोट पहेँलो हुने, फल नलाग्ने र रोग-किराको प्रकोपका कारण उत्पादन आधाभन्दा कम भएको बताए ।
किसान लेख बहादुर राईले पनि १० लाख रुपैयाँ बराबरको वार्षिक बिक्री घटेर यस वर्ष ३ लाख रुपैयाँमा झरेको बताए । उनीहरूले राहत कार्यक्रम, प्राविधिक सहयोग र प्रभावकारी रोग नियन्त्रण अभियानका लागि स्थानीय सरकार, सङ्घीय सरकारसँग आग्रह गरिरहेका छन् । कृषि प्राविधिकको पर्याप्त सहयोग नपाएको उनीहरूको गुनासो छ ।



































































