हामी नेपाली र हाम्रो देश नेपाल हरेक क्षेत्र, चिजबिच र साधन-स्रोतहरूमा विश्वका कयौँ देशहरूभन्दा धनी रहेका छौँ । हाम्रो देश नेपालमा ६ हजारभन्दा बढी फुल फुल्ने वनस्पति, ५ हजारभन्दा बढी कीरा-फट्याङ्ग्रा, ३९६६ भन्दा बढी रातमा विचरण गर्ने पुतली, १८२२ प्रजातिका ढुसी, ८६७ प्रजातिका चरा, ६५३ प्रजातिका पुतली, ४७१ प्रजातिका झ्याउ, ३८३ प्रजातिका उन्यू, २०० प्रजातिका माकुरो, १८५ प्रजातिका माछा, ४३ प्रजातिका उभयचर रहेका छन् ।
३२ प्रकारका त गुराँस मात्रै रहेका छन् । त्यस्तै सन् १९७०/१९८० मा गरिएको एक अनुसन्धान अनुसार नेपालमा ५०६७ प्रकारका वनस्पतिहरू छन् । त्यस सूचीमा ४०० वटा स्थानीय प्रजातिका ‘भास्कुलर वनस्पति’हरू मात्रै रहेका थिए । त्यस्तै नेपालमा फूल फुल्ने बिरुवाहरू विश्वको समग्र तुलनामा २ दशमलव २ प्रतिशत हिस्सा ओगटेको विज्ञहरूको भनाई रहेका ‘नेपाल नखुलेका पाटाहरू’ नामक किताबमा उल्लेख छ ।
त्यस्तै भौगोलिक विविधतामा पनि विश्वका अन्य देशहरूको तुलनामा हाम्रो देश नेपाल कम रहेको छैन । किनभने हाम्रो देश नेपालमा विश्वकै उच्च हिम शिखर ८ हजार ८४८ दशमलव ८६ मिटरको सगरमाथा छ ।
साथै अन्य हिमाल ८ वटा ८ हजार मिटरभन्दा माथिका उच्च हिमाल छन् । मध्यम हिमाल, निम्न मध्यम हिमाल, महाभारत पहाड, चुरे पहाड, भित्री मधेस, मधेस समथर मैदान समेतको भूगोल रहेको छ । नेपालमा ससाना मैदान, उपत्यका, टार, खोँचहरू पनि प्रशस्तै रहेका छन् । त्यसैले नेपाल भूगोलको आधारमा पनि विश्वका कुनै देश भन्दा कम रहेको छैन भन्न सकिन्छ ।
प्राकृतिक साधन र स्रोतहरूमा नेपाल धेरै नै धनी देशको रूपमा रहेको देखिन्छ । त्यसमा जडीबुटीजन्य वनस्पतिमा नेपाल विश्वका अन्य देशहरूको तुलनामा कम धनी छैन । तर, पनि हामी नेपालीहरूले अहिलेसम्म पनि नेपालका ती अधिकांश वनस्पति र वनस्पतिजन्य जडीबुटी वा औषधिजन्य जडीबुटीहरूलाई सही र पूर्ण क्षमताका साथ आर्थिक विकासको लागि सदुपयोग गर्न सकी रहेका छैनौँ ।
प्रयोग गर्न नसकिएको अधिकांश वनस्पति र जडीबुटी वा औषधिजन्य वनस्पतिहरूको नाम सूची धेरै लामो हुन सक्छ । त्यस्तै गरेर हाम्रो देश नेपाललाई स्थानीय हावापानी, मौसमी विविधता, जलवायु, पारिस्थितिकीय प्रणाली, माटोको विविधता, उचाइ आदिका हिसाबले पनि धेरै धनी मान्न सकिन्छ ।
पछिल्लो पटक अर्को एक तथ्याङ्क अनुसार अहिलेको अवस्थामा आई पुग्दा नेपालको जम्मा क्षेत्रफलको लगभग १९ प्रतिशत भूमि निकुञ्ज, संरक्षण क्षेत्र, रामसार क्षेत्र, सकार आरक्षण आदिका नाममा संरक्षित क्षेत्रका रूपमा विकास र विस्तार गरिएको छ ।
त्यसमा राष्ट्रिय निकुञ्ज, सिकार आरक्षण, संरक्षित क्षेत्र, मध्यवर्ती क्षेत्र बफर जोन, रामसार क्षेत्र आदि रहेका छन् । त्यस्ता संरक्षित क्षेत्रहरूमा अन्नपूर्ण संरक्षण क्षेत्र, कञ्चनजङ्घा संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र, कृष्णसार संरक्षण क्षेत्र, कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्र र सिकार आरक्षण क्षेत्रमा चाहिँ नेपालमा हालसम्म एक मात्रै सिकार आरक्षण क्षेत्रको रूपमा ‘ढोरपाटान सिकार आरक्षण क्षेत्र’ रहेको छ ।
रामसारहरुमा गोक्यो ताल, बीसहजारी ताल, घोडाघोडी ताल, माई पोखरी ताल, रारा ताल, फोक्सुन्डो ताल, गोसाईँकुन्ड ताल आदि। त्यस्तै निकुञ्जहरूमा चाहिँ चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु बरुण राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, खप्तड राष्ट्रिय निकुञ्ज, अपि नाम्पा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज आदि रहेका छन् ।
हालसम्म नेपालमा लगभग २९ वटा राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, सिकार आरक्षण क्षेत्र, वन्यजन्तु आरक्षण क्षेत्र, रामसार क्षेत्र, मध्यवर्ती क्षेत्र, वन संरक्षित क्षेत्र रहेका छन् । ती राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, सिकार आरक्षण क्षेत्र, वन्यजन्तु आरक्षण क्षेत्र, रामसार क्षेत्र, मध्यवर्ती क्षेत्र, वन संरक्षित क्षेत्रलगायत नेपालका अन्य भूभागमा वनस्पति भित्रका विविध प्रजातिका वनस्पतिहरू फैलिएका छन् ।
नेपाललाई समग्रमा जैविक विविधताको आधारमा धनी देश मान्न सकिन्छ । किनभने हाम्रो देश नेपाल विश्वमा १९७ वट स्वतन्त्र देशहरू मध्ये भूगोलका आधारमा ९५ औँ स्थानमा रहेको छ । त्यसो भए तापनि नेपाल जैविक विविधताका आधारमा एसिया महादेशका देशहरूमा ११ औँ स्थानमा रहेको छ ।
जैविक विधिताका आधारमा नेपालको स्थान २५ औँ रहेको छ । यसरी हेर्दा हाम्रो देश नेपाललाई जैविक विविधताका आधारमा हेर्दा धेरै धनी छ भन्न सकिन्छ । भूगोलविदहरुका भनाइअनुसार हाम्रा देश नेपालले विश्वको समग्र भूगोलको ० दशमलव ०१ प्रतिशत भूमि ओगटेको छ । भने एसिया महादेशको ० दशमलव ०३ प्रतिशत भूगोल ओगटेको छ ।