वराहक्षेत्र : आज प्रेमका प्रतीक समेत मानिने वराह भगवानको जन्मोत्सव वराह भगवान् विराजमान हुनुभएको स्थान सुनसरीको वराहक्षेत्र धाममा विशेष पूजा अर्चना गरी मनाइदैछ । श्रावण महिनाको शुक्ल पक्षको तृतीया तिथिको दिनलाई भगवान् वराहको जन्मोत्सवको रूपमा मनाउने परम्परा रहेको छ।
वराह जयन्तीको अवसरमा मङ्गलवार साँझ वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित मन्दिर परिसरमा महाआरती गरिएको थियो । आज जयन्तीको दिन मङ्गल यात्रा उत्सव, प्रातः कालिन भगवानको स्नान यात्रा, दुग्ध अभिषेक पछि विशेष पूजा अर्चना गरिनेछ । मन्दिरमा गीता पाठ, बराह चरित्र पाठ, बराह भगवानको अर्चना गरेर विशेष पूजा गरेर भगवान् बराहको जन्मोत्सव मनाइने गरिन्छ । प्रेमका प्रतीक समेत मानिने भगवान् बराहको जन्म जयन्तीको दिन भगवान् बराहको नाममा व्रत बस्ने, अर्चना गर्ने प्रचलन समेत रहेको छ ।
प्राचीन पूर्वीय संस्कृति तथा परम्परा अनुसार वराहक्षेत्र धाममा रहेको बराह भगवान् विष्णुका १० अवतार मध्ये तेस्रो अवतार हुन् । सत्य युगमा डुब्न लागेको पृथ्वीलाई भगवान् बराहले जंङ्गलि जनावरको रूप बँदेलको भेषमा रक्षा गरी संसारभरका प्राणीहरूको रक्षा गरी संसारलाई स्थायित्व दिएको शास्त्रमा उल्लेख रहेको छ । सोही किंवदन्तीलाई आधार मानेर भगवान् वराह तथा वराहक्षेत्रधामलाई संसारको पहिलो धामको रूपमा व्याख्या गर्ने गरिएको छ ।
भगवान् विष्णु १० अवतार मध्ये पहिलो अवतार मत्स्य अर्थात् माछा दोस्रो अवतार कूर्म अर्थात् कछुवा, तेस्रो अवतार भगवान् बराह हुन् । त्यस्तै चौथो अवतार नृसिंह, पाँचौँ अवतार बामन, छैटौँ अवतार परशुराम, सातौँ अवतार भगवान् राम, आठौँ अवतार कृष्ण, नवौँ अवतार भगवान् बुद्ध र दशौँ अवतार कल्की रहेको वराहक्षेत्र मन्दिरका मुख्य पुजारी किरण भण्डारीले जानकारी दिए ।
नेपालका ऐतिहासिक महत्त्व बोकेको क्षेत्र मध्ये वराहक्षेत्रधाम पनि एक हो। जहाँ १५ सय वर्ष अगाडिमा दैविक मूर्तिहरू रहेका छन्। सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिकामा रहेको सो क्षेत्र नेपाल र नेपालीहरूको सम्पत्तिको रूपमा रहेको बराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठ बताउँछन् ।
नेपालका सुन्दर धार्मिक र पर्यटक स्थल मध्ये वराहक्षेत्र पनि एक उत्कृष्ट क्षेत्रको रूपमा पर्छ वराहक्षेत्र सुनसरी जिल्लाको मात्र नभएर नेपालकै सर्वाधिक महत्त्वपूर्ण र प्रख्यात तीर्थस्थल हो । ब्रह्म पुराण, वराह पुराण र स्कन्दपुराण लगायतका पुराणहरू र महाभारत महाकाव्यमा समेत उल्लेखित गरिएको तथा महिमा गाइएको यो स्थान नेपालको सबैभन्दा पुरानो चारधाम मध्येको एक देवस्थल रूपमा भगवान् वराहको वासस्थल वराहक्षेत्र मन्दिर रहेको उनको भनाई छ ।
वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष राजु घिमिरेका अनुसार वराहक्षेत्र मन्दिर क्षेत्रमा वराहको मूर्ति सहित लक्ष्मी, पाञ्चायन, गुरु वराह, सूर्य वराह, कोकावराह र नागेश्वर लगायतका ९ वटा मन्दिर र थुप्रै धर्मशाला छन् । त्यहाँ आजभन्दा करिब १५ सय वर्ष अगाडि देखिएका मूर्तिहरू रहेका छन् ।
धार्मिक पर्यटनका दृष्टिले यसको ख्याति टाढाटाढा सम्म फैलिएको छ । पूर्वी नेपालमा वराहक्षेत्रलाई केन्द्र बिन्दु बनाएर धार्मिक पर्यटनको विकास गर्न सकिन्छ । वराहक्षेत्रलाई छेउको कोसी नदी जलक्रीडा र नौकाशयर गर्न चाहने मानिसहरूका लागि निकै महत्त्वपूर्ण छ ।
मन्दिर क्षेत्रको विकास र प्रवर्धनका लागि नगरपालिले गुरु योजना नै बनाएर लागि परेको नगर प्रमुख रमेश कार्कीको भनाई छ । नगरपालिकाले वराहक्षेत्र मन्दिरको विकास र पर्यटकहरूलाई आकर्षित गर्न सरसफाइ, पर्यटन मैत्री क्रियाकलाप, संरचनाको निर्माण , सौन्दर्यीकरणको काम गरी रहेको नगर प्रमुख कार्की बताउँछन् ।
मन्दिर क्षेत्र सरसफाइ, बसपार्क स्तरीय लगाएका कामहरू पालिका र प्रदेश तथा सङ्घीय सरकारसँग सहयोग लिएर काम गरिरहेको नगर प्रमुख कार्की बताउँछन् ।