इटहरी : विगत लामो समयदेखि शेरा, टेङ्ग्रा र बुढी खोलाको बाढीले इटहरीलाई आक्रान्त बनाउँदै आएको छ । त्यही कारण बर्खाको मौसम सुरु हुने बित्तिकै डुबान हुने डरले इटहरीवासीलाई पिरोल्ने गरेको छ । खोला सफाइ अभियान चलेको इटहरीमा केही दिन अगाडी अविरल वर्षा हुँदा किन डुबेन भन्ने प्रश्न उब्जिएको छ ।

गत असोज ९ गतेदेखि परेको अविरल वर्षाका कारण देशभरि बाढी पहिरोले पिरोल्यो । काठमाडौँ उपत्यकामा तहसनहस हुनेगरि बाढी आयो । राजमार्गहरू अवरुद्ध भए । ठुला पुलहरू बगे । सप्तकोसीमा ५६ वर्षपछि सबैभन्दा धेरै पानीको बहाव मापन गरियो । त्यति हुँदा पनि इटहरी डुबेन ।

इटहरी डुबान नभए पछि सार्वजनिक वृत्तमा बहस चल्यो इटहरी डुबानको समस्या समाधान भयो । ‘अब इटहरी डुब्दैन । टेङ्ग्रा खोला सफा भएपछि डुबान भएन । त्यो पनि हो तर खोलाको पानी बाहिर आउन नपाएर डुबान भएन नि ! हैन हैन, ड्रेन पनि सफा भए अनि बाहिरको पानी बाहिरै, खोलाको पानी खोलामै बगेपछि कसरी डुबान हुन्छ त ! धन्न बेलैमा राम्रो काम भएर डुबान बाट बच्यो इटहरी ।’ यस्ता तर्कहरू सार्वजनिक वृत्तमा सुनिए ।

तर बहसमा आएजस्तो खोला सफा भएर इटहरी डुबान नभएको भने हैन । खोला सफा भइसकेपछि गत असार २५ गतेको बर्सातले इटहरीको मुख्य चोक आसपास डुबान भएको थियो । त्यस बेला इटहरी १३ का ७ वटा परिवार विस्थापित भए । उद्योगमा छिर्ने पुलहरू भत्किए । स्थानीय आक्रोशित भएपछि सुरक्षा निकायले बाढी नियन्त्रणको लागि बोराको बाध बनाउने काम गरेको थियो ।

त्यस बिचमा बाढी नियन्त्रणको लागि थप पहल भएका छैनन् । इटहरीको मुख्य चोक आसपास स्थानीय पानी बगाउन ड्रेन सफा गरिएको छ । तर पूर्व पश्चिम राजमार्ग मुनी रहेको ड्रेन सफा हुन नसक्दा पानीले निकास पाउन सकेको छैन । त्यसैले डुबान नहुनुको मुख्य कारण डुब्ने गरी पानी नपर्नु नै हो ।

जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार इटहरीमा ९ देखि १२ गते सम्ममा १२ गते सबैभन्दा धेरै पानी परेको थियो । तरहरा मापन केन्द्रको आधारमा ११ गते २४ घण्टामा जम्मा ८१ मिलिमिटर बर्सात हुँदा १२ गते भने १३८ मिलिमिटर बर्सात भएको हो । यसअघि असार २५ गते १३२ मिलिमिटर वर्षा भएको थियो ।

१३२ मा डुब्ने तर १३८ मा किन डुबेन ? भन्ने प्रश्नमा ल्यान्ड एण्ड वाटर इन्जिनियर मोहन कार्की भन्छन् , ‘पानी कुन रफ्तारमा परिरहेको छ भन्ने कुरामा निर्भर गर्छ । छोटो समयमा धेरै वर्षा भयो भने डुबानको सम्भावना धेरै हुन्छ । त्यही मात्रामा बर्सात हुन धेरै समय लाग्यो भने डुबानको खतरा कम हुन्छ ।’ मौसम विज्ञान विभागले भने असारको २५ गते सरदर ५ घण्टा र असोज १२ गते १४ घण्टाको समय वर्षा भएको बताएको छ । यसले डुबान किन भएन भन्ने प्रष्ट पार्छ ।

अब विगत तिर पनि फर्केर हेरौँ नत । इटहरीमा सधैँ सम्झिरहने गरी बाढी आएको २०७४ साल साउन २७ गते हो । २०७४ साउन २४ गतेपनि अत्यधिक नै पानी पर्‍यो । इटहरीका अधिकांश क्षेत्र डुबानमा परे । त्यस दिन लामो समयको अन्तरालमा २५५ मिलिमिटर बर्सात भएको थियो ।

साउन २७ गते भने ३ देखि ४ घण्टाको छोटो समयमा २६१ मिलिमिटर बर्सात भयो । जसले इटहरीका ६ जना नागरिकको ज्यान लियो । सुनौलो बस्ती, गैरी गाउँ, डुमरटक्काका सयौँ घरहरू बगायो । कतिपय व्यापार व्यवसाय नखुल्ने गरी बन्द भए । डुबानले आक्रान्त बन्यो इटहरी ।

२०७८ कार्तिक ४ गते सबैभन्दा धेरै ३४० मिलिमिटर पानी परेको थियो । करिब ४ वर्ष पछि आएको बेमौसमी बाढीले इटहरीका चार जनाको ज्यान लियो । त्यस बेला इटहरीमा मात्र एक अर्ब हाराहारीको क्षति पुगेको आकलन गरिएको थियो । इटहरीको मुख्य चोक आसपासको क्षेत्र पुर्णत डुबान परेको थियो। 

त्यतीमात्रै हैन स्थानीय तहको निर्वाचन भएकै वर्ष पनि डुबान भयो । २०७९ असार १४ मा १४४ मिलिमिटर मात्र बर्सात हुँदा पनि डुबान अत्यधिक भएको थियो । शेरा खोला इटहरी २ र २० मा पर्ने चारकोसे जङ्गल हुँदै बस्तीमा पसेको थियो । त्यस बेला इटहरीका अधिकांश भाग डुबानमा परेको थियो । इन्जिनियर कार्कीका अनुसार यस पटक लगातार पानी परेको हुँदा डुबान हुनुपर्ने जस्तो लागे पनि समयको अनुपात लामो भएको कारण डुबान नभएको हो ।

itahari water flow