इटहरी: लगातारको बर्षाका कारण सुनसरीका अधिकांश क्षेत्र डुबानमा परेको छ । तीन दिन देखि लगातार परेको पानीका कारण इटहरीको पनि अधिकांश क्षेत्र डुबानमा छ ।

इटहरीको बुढीखोला र ट्याङ्रा खोला बस्तीमा परेका कारण सवारी साधनमा समेत समस्या भएको छ । खोलाले निकास नपाउँदा तथा खोलाको फोहोर सफाई नभएका कारण बाढी बस्तीमा पसेको स्थानीयबासीको तर्क छ । बाढी बस्तीमा पसेपछि अहिले डोजरले बस्तीमा पसेको फोहोर सफाई गर्ने काम भईरहेको छ ।

इटहरीबाट बाढीबाट क्षती हुन नदिनका लागि आँफूहरु खटिरहेको ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलले जानकारी दिए । उनले भने,'अहिले इटहरीमा क्षतीको अवस्था भने छैन, हामी क्षती हुन नदिनका लागि खटिरहेका छौँ ।' उनले इटहरी ५ बाट एकजना बेपत्ता भएकाले खोजी कार्य गरिरहेको बताए । हाम्रो प्रारम्भिक अनुसन्धानबाट उदयपुर घर भएका एक व्यक्ति हराएको भन्ने बुझेका छौँ, उनले भने, हामीले खोजी कार्य गरिरहेका छौँ, अहिलेसम्म केही पत्ता लागेको छैन ।

1s

यता, सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । शुक्रबार विहान ६ बजेको मापन अनुसार १ लाख ७४ हजार ७ सय २० क्युसेक पानीको मापन गरिएको छ । बिहीबार साँझ भने कोशी व्यारेजमा पानीको मात्रा १ लाख ६४ हजार क्युसेक रहेको थियो । अहिले कोशीमा ५६ वटा ढोका मध्ये २२ वटा ढोका खोलिएको छ । यो सँगै अहिले व्यारेजको कन्ट्रोल रुमले रातो बत्ती बालेको छ ।