इटहरी : इटहरी रङ्गशालाको ग्रसरुट फुटबल क्याम्पबाट उत्पादन भएकी रेखा पौडेल अहिले अन्तर्राष्ट्रिय स्तरमा खातीप्राप्त खेलाडी हुन् । अन्डर १५ महिला फुटबलबाट करियर सुरु गरेकी उनी युएईको अबुधाबी कन्ट्री क्लबका आबद्ध भएकी छिन् । 

गत भदौ १६ गते पौडेलको निर्णायक गोलमा अबुधाबी कन्ट्री क्लब एएफसी महिला च्याम्पियन्स लिगको अन्तिम चरणमा प्रवेश गर्‍यो । प्रारम्भिक चरण अन्तर्गत समूह ए को अन्तिम खेलमा रेखाले दोस्रो हाफमा गरेको एक मात्र गोलमा अबुधाबीले साउदी अरेबियाको अल नासेरलाई १-० ले पराजित गर्दै समूह विजेता बन्यो । रेखाले पहिलो खेलमा लाओसको योङ एलिफन्ट्स विरुद्ध च्याम्पियन्स लिगको डेब्यु खेलमा गोल गर्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन् । 

रेखा अब एएफसी च्याम्पियन्स लिगको अन्तिम चरण खेल्ने पहिलो नेपाली खेलाडी बन्ने भएकी छिन् । ग्रास रुटबाटै उदाएकी अनुजा प्रधान भर्खरै महिला राष्ट्रिय लिग खेलेर इटहरी फर्किएकी छिन् । कोशी प्रदेश बाट प्रतिनिधित्व गर्दै काठमाडौँ गएकी उनी फुटबल आफ्नो सम्भावना मात्र नभएर सपना नै भएको बत्ताउँछिन् । 

रेखा र अनुजा जस्ता खेलाडीको उद्धगम स्थल हो इटहरी रङ्गशाला । हरेक दिन बिहान बालबालिका सँगै अभिभावकको  चहलपहल बाक्लो देखिन्छ । फुटबल प्रशिक्षणका सहभागी हुन पुगेका बालबालिका निक्कै फुर्तीका साथ खेल मैदानमा उत्रिन्छन् । प्रमुख प्रशिक्षक श्याम मानन्धरले टिम बनाइदिन्छन् । सोही अनुसार आआफ्नो टिममा सहभागी भएर खेल मैदानमा उत्रिन्छन् उनीहरू । 

आइतबार बिहान रङ्गशालामा निक्कै स्फूर्तिका साथ खेलिरहेका ऋतीक श्रेष्ठको खेलाडी बन्ने लक्ष्य रहेको सुनाउँछन् । १३ वर्षका ऋतीक साथी आदित्य श्रेष्ठको सङ्गतले प्रशिक्षण क्यापमा पुगेका हुन् । मिडफिल्डर बन्ने महत्त्वाकाङ्क्षा बोकेका उनी हरेक दिन सहभागिता जनाउँछन् ।  

चाडपर्वको समयमा बालबालिका बाहिर भएको कारण धेरै उपस्थिति नभएको प्रशिक्षक मानन्धर बताउँछन् । अन्य समयमा १२० जनासम्म बालबालिकाको आउने गरेको उनको भनाइ छ । खेलकुदमा रुचि भएका बालाबालीकालाई अभिभावकले ल्याउने र लैजाने गरेका छन् । 

रङ्गशालामा खेल सँगै अनुशासन र जिम्मेवारी पनि सिकाइने बताउँछन् मानन्धर । घर परिवारमा के काम गर्ने विद्यालय र साथीभाइ सँग कस्तो व्यवहार गर्ने लगायत विषय पनि अनौपचारिक रूपमा सिकाउने गरिएको हो । प्रशिक्षकलाई गुरु मान्ने गरेका बालबालिका पनि गुरुले भनेको पालना गर्नुपर्ने मनसायमा देखिन्छन् । 

साँघुरो सडकमा फुटबल खेलेर रुचि देखाएका प्रयास ठाकुरलाई उनका बा शम्भु ठाकुरले प्रशिक्षण क्यापमा ल्याउने गरेका छन् । ४० हप्तासम्म नियमित प्रशिक्षण लिएका प्रयासको फुटबलमा मात्र नभएर दैनिक व्यवहारमा पनि परिवर्तन आएको प्रयासका बा शम्भु बताउँछन् । 

अखिल नेपाल फुटबल सङ्घ एन्फाले ५ वर्षअघि देखि ग्रसरुट कार्यक्रम सुरु गरेको हो । एन्फाले सहयोग गर्न छाडेपछि इटहरीको राष्ट्रिय जागृति क्लबको आयोजनामा प्रशिक्षण भइरहेको छ । इटहरी फुटबल क्लब र द ब्वाइज क्लबले समेत प्रशिक्षण क्यापमा टेवा पुर्‍याउँदै आएका छन् । 

६१ हप्ता पार गरिसकेको प्रशिक्षण क्याम्पमा स्थानीय सरकार र इटहरीका नागरिक अगुवाले सहयोग गरिरहेका छन् । बालबालिकामा फुटबल प्रतिको आकर्षण बढ्दै गएको कारण खेलाडी उत्पादन सँगै अनुशासित नागरिक उत्पादनको लागि प्रशिक्षण सुरु भएको छ । 

पछिल्लो स्थानीय तहमा वडा देखि नगर स्तरीय प्रतियोगिता हुने गरेको र राष्ट्रिय खेलाडी सम्म पुग्ने माध्यमको रूपमा यस्ता प्रशिक्षण फलदायी हुने प्रशिक्षक मानन्धरको बुझाइ छ । फुटबल क्षेत्रमा लामो समय व्यतीत गरेका मानन्धरले आफूले सिकेको सीप तथा कला आफ्नै गाउँका बालबालिकालाई प्रदान गरिरहेका छन् ।

itahari-football