धरान : धरानमा दशक देखी उपचार सेवा प्रदान गर्दै आएको विजयपुर हस्पिटल अब स्वास्थ्य चिकित्सा सम्बन्धी जनशक्ति तयार गर्ने शैक्षिक संस्थाको रूपमा पनि सञ्चालन हुने भएको छ ।

विजयपुर हस्पिटलसँग सम्बद्ध विजयपुर टेक्निकल इन्स्टिच्युटलाई प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् सीटीइभिटीले स्वास्थ्योपचार सम्बन्धित ३ विषयमा अध्यापन गराउने स्वीकृति प्रदान गरेपछि पठन पाठनको तयारी थलिएको छ ।

विजयपुर टेक्निकल इन्स्टिच्युटलाई चिकित्सा शिक्षा आयोगको १५ औँ बैठकको निर्णय अनुसार प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए), डिप्लोमा इन फार्मेसी, प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी पठन पाठन गर्ने स्वीकृति दिएको छ । सीटीईभीटीबाट आएको सिफारिसको मूल्याङ्कनको आधारमा आयोगले विभिन्न विषय अध्यापनका लागि विजयपुर सहित ४३ वटा कलेजलाई स्वीकृति दिएको हो ।

विजयपुर हस्पिटल तथा टेक्निकल इन्स्टिच्युटका अध्यक्ष डा.पङ्कज खतिवडाले भने ‘यसै शैक्षिक शत्र मङ्सिर अन्तिम साता देखी तिनै विषयको अध्ययन अध्यापन गराउने तयारी भइरहेको छ ।’ एचए मा ४० जना, फार्मेसी ४० र ल्याब टेक्नीसियन ३० जना विद्यार्थी भर्ना लिने कोटा पाएको उनले बताए ।

उनका अनुसार विजयपुर हस्पिटल तथा टेक्निकल इन्स्टिच्युटले नेपाल सरकारसँग ५ वटा शैक्षिक कार्यक्रमको प्रस्ताव गरेको थियो । डा. खतिवडाले भने ‘त्यस मध्ये ३ वटा शैक्षिक कार्यक्रमको लागि स्वीकृति पाएका छौँ ।’ स्टाफ नर्स, रेडियोलोजीको पठनपाठनको लागि पनि प्रस्ताव गरिएको उनको भनाई छ ।

सरकारको स्वास्थ्य सम्बन्धी नीतिमा १०० बेडको अस्पताल भएको हस्पीटलललाई नर्सिङ अध्यापन गराउने अनुमति दिने भनिएको छ । तर हाल सम्म सरकारले नीति अनुसार स्वीकृति दिएको छैन । डा. खतिवडाले भने ‘सरकारले नीति नियम अनुसार हामीलाई स्वीकृति दिएन ।’

विजयपुर हस्पिटल १०० बेडको क्षमतामा सञ्चालन भएको १५ वर्ष नाघे पनि नर्सिङ विषय पठनपाठनका लागि सम्बोधन नभएको उनले गुनासो गरे ।

डा.खतिवडाले भने ‘स्वास्थ्योपचारको क्षेत्रमा नयाँ जनशक्ति उत्पादन गर्ने हामीले १० वर्ष देखि माग गर्दै आएका थियौँ, बल्ल ३ वट विषयमा स्वीकृति पाएका छौँ ।’ १५ वर्ष देखि निजी लगानीमा सुनसरीकै पहिलो प्राइभेट अस्पताल सञ्चालन भइरहेको उनले बताए ।

लगभग १० करोडको लगानीमा निर्माण भएको विजयपुर टेक्निकल ईस्च्युटियुट प्रालि धरान–१ पुरानो बजारमा रहेको छ । अध्यापन सम्बन्धी सम्पूर्ण कार्य धरान–१ बाट हुने उनले जानकारी दिए । इन्स्टिच्युट विजयपुर हस्पिटलको पूर्ण स्वामित्व र व्यवस्थापनमा सञ्चालित हुने अध्यक्ष डा. खतिवडाले बताए ।

विजयपुर हस्पिटल तथा इन्स्टिच्युट सहित आयोगको बैठकले सम्बन्धन र सिट निर्धारण गरेको ४३ वटा कलेज मध्ये १६ वटा कलेजमा नयाँ कार्यक्रमको रूपमा स्वीकृति दिइएको हो । त्यस मध्ये २७ वटा कलेजमा थप कार्यक्रमको रूपमा रहेको छ ।

३ वटा कलेजका हकमा भने प्रयोगात्मक अभ्यासका लागि अस्पतालको व्यवस्था भएपछि सिट निर्धारण गर्ने सकिने निर्णय गरेको छ । ती कलेजहरू कर्णाली प्राविधिक शिक्षालय जुम्ला, निर्मल लामा बहु प्राविधिक शिक्षालय बर्दिया र सहिद कृष्ण सेन इच्छुक बहु प्राविधिक शिक्षालय दाङ छन् ।

यसअघि २०८० चैत्रमा नर्सिङ विधाका विभिन्न पक्षमा सुझाव सिफारिसका लागि गठित कार्यदलले नेपालमा पनि १२ कक्षापछि नर्सिङ अध्ययन अध्यापन कार्यक्रम सुरु गर्न नेपाल सरकारलाई सिफारिस गरेको थियो ।

चिकित्सा शिक्षामा नर्सिङ विधाको अध्ययन र अध्यापनमा प्रयोगात्मक कार्यरत अभ्यास, आवश्यक भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, आवश्यक शैक्षिक न्यूनतम योग्यता निर्धारण, प्रमाणपत्र तह र स्नातक वा सो भन्दा माथिका एक भन्दा बढी शैक्षिक कार्यक्रम एउटै शैक्षिक संस्थामा सञ्चालन गर्ने सम्बन्धमा सुझाव सिफारिस गर्न कार्यदल गठन गरिएको थियो ।

कार्यदलले नेपालमा १० कक्षा पछिको नर्सिङ कार्यक्रम क्रमशः फेज आउट गर्दै १२ कक्षा पूरा गरेपछि नयाँ नर्सिङ कार्यक्रम सुरु गर्न सुझाव दिएको थियो । चिकित्सा शिक्षा आयोगले सार्क लगायत अन्य देशहरूमा जस्तै विद्यालय शिक्षा १२ कक्षा लगत्तै पश्चात् स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन गर्ने अभ्यासका लागि नयाँ नीति अघि बढाएको हो ।