इटहरी : मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएपछि हुन लागेको उपनिर्वाचनमा दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् । गच्छदारको निधन सँगै काँग्रेसले एक पालिका अध्यक्ष मात्र गुमाएन आफ्नो प्रतिष्ठा बचाउने चुनौतीको सामना गरिरहेको छ ।
२०१४ साल देखिको एमाले कार्यकर्ता बताउने तेजप्रसाद खनाल यस पटक मत परिवर्तन गर्ने पक्षमा छन् । काँग्रेसको उम्मेदवार मन पराएका उनले एमाले भित्रको रडाकोको कारण चित्त दुखाए । माओवादीको हल्लाखल्ला बढी भएको बताउँदै उनले एमालेको उम्मेदवारसँग परिचित नभएको बताए ।
साइकल मर्मतमा व्यस्त भए पनि ठट्यौली स्वभावका सूर्य नारायण सरदारले एमालेलाई यस पटक नदिने धारणा बनाएका छन् । पुरानो एमाले कार्यकर्ता रहेको बताउँदै उनले आँटिलो र जोसिलो उम्मेदवार तिर सङ्केत गरे । काँग्रेसको उम्मेदवार सोझो र बुढो भएको कारण काम गर्न नसक्ने उनको बुझाइ छ ।
४ नम्बर वडाकी रेखा ऋषिदेवले पनि काँग्रेसको उम्मेदवार पाको भएकोमा निराशा व्यक्त गरिन् । काँग्रेसले यस पटक पनि पाको र सोझो उम्मेदवार दिएको उनको गुनासो छ । हक्की र काम गर्न सक्ने उम्मेदवारलाई मत दिने बताउँदै उनले रास्वपाको उम्मेदवार र पार्टी बारे जानकारी नभएको सुनाइन् ।
सफारी चलाउने ५ नम्बर वडाका एक युवाले नाम बताउन मानेनन् । रास्वपा सुनेको भए पनि काँग्रेस र माओवादीकै उम्मेदवार मध्ये एकलाई भोट दिने उनले सङ्केत गरे । काँग्रेसका पुराना मतदाता उनले रुख चिन्ह बाहेक अन्यत्र नहाल्ने बताए पनि उम्मेदवारको विषयमा मन दुखाएका छन् ।
बुधवार चुनावी अभियानमा ग्रामथान पुगेका काँग्रेस महामन्त्री गगन थापाले विराटनगर विमानस्थलमा उपनिर्वाचन प्रतिष्ठाको विषय भएको स्वीकार गरे । उपनिर्वाचनलाई अवसर र चुनौती दुवै ठानेर यसअघिको भन्दा धेरै स्थानमा जित हासिल गर्ने बताए । ग्रामथानको दुई चुनावी सभामा सम्बोधन गरेका उनले पार्टीले उपनिर्वाचनलाई गम्भीर रूपमा लिएको भन्दै कार्यकर्तालाई परिणाम हात पर्ने गरी लाग्न निर्देशन दिए ।
काँग्रेसको प्रभाव क्षेत्र मानिएको ग्रामथानमा यस पटक त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । काँग्रेसले विरासत जोगाउन निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको छ । सङ्गठन बलियो रहेकाले सोही आधारमा चुनावी नतिजा हात पार्ने रणनीतिमा नेकपा एमाले छ । पुराना सङ्गठित सदस्यहरूलाई एकीकृत गर्ने र युवाहरूको मत लिने अभियानमा लागेको एमालेलाई बागी उम्मेदवारले चुनौती दिएका छन् ।
एमालेका तुलसीराम विश्वासलाई स्थानीयले खासै विश्वास गरेका छैनन् । बागी उम्मेदवार नमनारायण चौधरीले पनि चुनावी अभियानलाई तीव्र बनाइरहेका छन् । गाउँ गाउँमा माइकिङ सहित प्रचार गरेका उनले एमालेलाई पराजित गराउन सक्ने आकलन गरिएको छ । ग्रामथान केन्द्रित अभियानमा रहेका एमाले प्रदेश इन्चार्ज शेरधन राई यस पटक जित्नुपर्ने बताउँछन् ।
माओवादी केन्द्रका उम्मेदवार नमनारायण माझीले भने चुनावी प्रचारलाई आक्रामक बनाएका छन् । एमालेलाई सङ्गठन बचाउने सकस र काँग्रेसलाई जित्नुपर्ने दबाबका बिच माओवादीले खुल्ला रूपमा चुनावी प्रचार अगाडी बढाएको हो । सावित्री काफ्ले, अमनलाल मोदी, जीवन आचार्यसहितका माओवादी नेताहरू ग्रामथानमा केन्द्रित छन् ।
ग्रामथानमा राष्ट्रिय स्वतन्त्र पार्टीका नवीन कुमार विश्वास सहित राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) सहितका १६ जना उम्मेदवार ग्रामथानको अध्यक्षको प्रतिस्पर्धामा छन् । नेपाली काँग्रेस पृष्ठभूमिका विश्वासले काँग्रेसकै मत आकर्षित गर्ने रणनीति बनाएका छन् । घण्टी चुनाव चिन्ह लिएर मैदानमा होमिएका उनको पार्टीलाई स्थानीयले राम्ररी चिनेका छैनन् ।
रवि लामिछाने प्रति खासै जानकार नभएका स्थानीयसँग रास्वपा अपरिचित पार्टी हो । चुनावी अभियानमा होमिएका रास्वपा नेता तथा प्रतिनिधिसभा सदस्य अशोक कुमार चौधरी चुनाव यसै भन्न सक्ने अवस्था नरहेको बताउँछन् । रास्वपाले कति मत ल्याउँछ भन्ने परीक्षण हुने उनले सङ्केत गरेका छन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा २५ हजार ९४२ मतदाता रहेको ग्रामथानमा अहिले २६ हजार ४४ जना मतदाता पुगेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीअनुसार २०७९ को तुलनामा यो उपनिर्वाचनसम्म १०२ जना नयाँ मतदाता थपिएका हुन् । नयाँ मतदाता सङ्ख्या अनुसार १३ हजार ३ पुरुष र १३ हजार ४१ महिला मतदाता कायम भएका छन्। ग्रामथानमा १२ मतदान स्थलमा २९ मतदान केन्द्र छन् ।
२०७९ को स्थानीय चुनावमा काङ्ग्रेसबाट विजेता बनेका गच्छदारले ७ हजार ६०५ मत पाएका थिए भने एमालेका शिवनारायण माझीले ६ हजार ९३ मत प्राप्त गरेका थिए । माओवादी केन्द्रका विजयकुमार सरदारले २ हजार ७२७, राप्रपाका पखुलाल विश्वासले ४४७, नेकपा एकीकृत समाजवादीका राकेश चौधरीले १३९, जनमत पार्टीका पञ्चनारायण चौधरी थारुले ९४ र नेपाल मजदुर किसान पार्टीका मनोजकुमार चौधरीले ४ मत प्राप्त गरेका थिए ।