इटहरी : मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदकालागी १६ जनाले उम्मेदवारी दर्ता गराएका छन । मङ्सिर १६ गते हुने उपनिर्वाचनमा एक स्वतन्त्र सहित १६ जनाले उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जानकारी दिएको हो ।
निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार सबैभन्दा पहिला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दिनेशकुमार थन्दारले उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली काँग्रेसबाट बलराम सरदार, नेकपा एमालेबाट तुलसीराम विश्वास, नेकपा माओवादी केन्द्रबाट नमोनारायण माझी उम्मेदवार भएका छन् । तत्कालको सक्ता समीकरण र विगतको मत परिणामका आधारमा काँग्रेस, एमाले र माओवादी बिचमै प्रतिस्पर्धा हुने देखिएको छ ।
एमालेबाट असन्तुष्ट बनेका नमनारायण चौधरीले बागी उम्मेदवारी दिएका छन् । एमालेमा टिकटको प्रतिस्पर्धामा रहेका उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । ग्रामथानको अध्यक्षमा एमालेबाट चौधरीसहित ११ जना आकाङ्क्षी थिए । पार्टीले तुलसीराम विश्वासलाई टिकट दिएपछि चौधरी असन्तुष्ट रहेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो पटक स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्दैछ। ग्रामथानको अध्यक्षमा रास्वपाबाट नवीनकुमार चौधरी विश्वास उम्मेदवार भएका छन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट धर्मेन्द्रकुमार चौधरीले मनोनयन दर्ता गराएका छन् । यस्तै नेपाल मजदुर किसान पार्टीका पर्शुराम विश्वास थारु, मङ्गोल नेशनल अर्गनाइजेसनका भरत राई, नेपाल समाजवादी पार्टीका रामकुमार चौधरी, जनमत पार्टीका विनोदकुमार माझी पनि अध्यक्षको उम्मेदवार भएका छन् ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर विश्वकर्मा र कमल थापा नेतृत्वको राप्रपा (नेपाल)बाट राजु मुसहरले मनोनयन दर्ता गराएका छन् । जसपा नेपालबाट सुरेशकुमार राजवंशी, समावेशी समाजवादी पार्टी नेपाल पार्टीबाट बोधनारायण माझीले मनोनयन दर्ता गराका छन् ।
२०७९ सालको स्थानीय तह चुनावबाट ग्रामथानको अध्यक्षमा नेपाली काँग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । गत असार ३ गते ब्रेन ह्याम्रेजको कारण निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।