इटहरी : नेपाली काँग्रेस मोरङले ग्रामथान गाउँपालिकाको उपनिर्वाचन केन्द्रित गतिविधिलाई तीव्र बनाएको छ ।
काँग्रेसले केन्द्रीय नेताहरूले चुनावमा भिडभाड गर्दा माहौल बिग्रिन सक्ने आङ्कलन गरेर वडा सभापतिको अनुमति लिएर मात्र गाउँ छिर्न आग्रह गरेको हो ।
इलामको क्षेत्र नम्बर २ को उपनिर्वाचनमा केन्द्रीय नेताहरूको भिडभाड बढेको तर चुनावी नतिजा आफ्नो पक्षमा नआएको विषयमा काँग्रेस सचेत रहेको जिल्ला सभापति डिगबहादुर लिम्बुले बताए । वडा सभापतिको अनुमति नलिई नेताहरूलाई गाउँमा नजान उनले आग्रह गरेका छन् ।
चुनाव नभएसम्मका लागि कुनै पनि कार्यकर्तालाई मदिरा सेवन नगर्न उनले निर्देशन दिए । मदिरा सेवनले चुनावी परिणाम मात्र नभई राजनैतिक माहौलमै समस्या पार्ने भएपछि त्यसतर्फ सचेत हुन उनले आग्रह गरे ।
चुनावी अभियानमा अन्य दलका उम्मेदवारको विषयमा चर्चा नगर्न आग्रह गर्दै उनले काँग्रेस उम्मेदवार बलराम सरदारको बारेमा मात्र चर्चा गर्नुपर्ने बताए ।
वडा भेलामा सक्रिय रहेको जिल्ला समितिले वडाका क्रियाशील सदस्य भन्दा एकमत पनि कम नआउने गरी लाग्न निर्देशन दिएको हो । पैसाको लेनदेनमा नपर्न सुझाव दिएका सभापति लिम्बुले एक दिन लिएको केही सय रकमले एक पुस्ताले गलत नेतृत्व पाउन सक्नेमा सचेत गराए ।
मङ्सिर १६ गते हुने उपनिर्वाचनको लागि माओवादी केन्द्रले नवोनारायण माझीलाई उम्मेदवार बनाएको छ । एमालेले भने हालसम्म उम्मेदवार तय गर्न सकेको छैन । यसअघि काँग्रेसकै जय प्रकाश गच्छदार विजयी भएका थिए । उनको ब्रेन ह्यामम्रेजको कारण निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।