इटहरी : नेपाली काँग्रेस मोरङ जिल्ला कार्यसम्पादन समितिले ग्रामथान गाउँपालिकाको अध्यक्षको उम्मेदवार चयन गरेको छ । महासमिति सदस्य समेत रहेका पुराना नेता बलराम सरदारलाई उम्मेदवार बनाउने काँग्रेसले निर्णय गरेको हो ।

मङ्सिर १६ गते हुने उपनिर्वाचनको लागि १७ जना आकाङ्क्षी मध्येबाट खारिएको र परिपक्व नेताको रूपमा सरदारलाई अगाडी सारिएको काँग्रेस जिल्ला सचिव ललित श्रेष्ठले जानकारी दिए । यसअघि पनि काँग्रेसकै जयप्रकाश गच्छदार विजयी भएकाले पुनः विजयी बन्नेमा ढुक्क रहेको उनको भनाइ छ ।

२०८० माघमा ब्रेन ह्याम्रेज भएर थलिएका गच्छदारको गत असार ३ गते निधन भएको थियो । ९ महिनादेखि अध्यक्षको उपस्थिति बिना सञ्चालनमा रहेको पालिकामा नयाँ अध्यक्षको लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।

नेकपा माओवादी केन्द्रले यसअघि नै नमोनारायण माझीलाई उम्मेदवार बनाएर चुनावी प्रचार थालिसकेको छ । नागरिक उन्मुक्ति पार्टीले पनि वुद्धिचन विश्वासलाई उम्मेदवार बनाएर आक्रामक प्रचार गरिरहेको छ । उता नेकपा एमालेले भने भर्खरै उम्मेदवार छनौटको तयारी सुरु गरेको हो ।

एमालेका ग्रामथान अध्यक्ष सत्यनारायण माझीका अनुसार ११ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको छ । जिल्लामा निर्णय हुन नसके प्रदेशबाट उम्मेदवार छनौट गरिने उनको भनाइ छ ।