विराटनगर : महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदन अनुसार नेपालको ६ वटा महानगरपालिका मध्ये विराटनगरमा सबैभन्दा कम बेरुजु देखिएको छ ।
प्रतिवेदन अनुसार विराटनगर महानगरपालिकाको बेरुजु ० दशमलव ३२ प्रतिशत मात्र देखिएको हो । आर्थिक वर्ष २०८०/८१ मा लेखापरिक्षण गरिएको विराटनगरको ६ अर्ब ४४ करोड ७६ लाख रुपैयाँमा जम्मा २ करोड ८ लाख ५७ हजार रुपया बेरुजु देखिएको छ ।
आव २०८०/८१ मा २१ करोड बेरुजु फर्छ्यौट भएको महानगरपालिकाको आर्थिक प्रशासन महाशाखाका प्रमुख सञ्जीवकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ६३ करोड ५७ लाख ४३ हजार बेरुजु देखिएको थियो ।
उक्त बेरुजु अङ्कमा आव २०७८/७९ मा २२ करोड ९४ लाख १ हजार थपिएको थियो । त्यस मध्ये आव २०७८/७९ मा १ अर्ब १९ करोड ४२ लाख ५२ हजार बेरुजु फर्छ्यौट गरियो ।
२०७८/७९ सम्म कूल बेरुजु ७६ करोड ९ लाख ७२ हजार रहेमा आव २०७९/०८० मा ७ करोड ११ लाख ५३ हजार बेरुजु थपिएको थियो । सोही अवधिमा २३ करोड ३ लाख फर्छ्यौट गरिएको थियो ।
२०७९÷८० सम्म कूल बेरुजु ५० करोड ३८ लाख २५ हजार बाँकी रहेकामा आव २०८०/०८१ मा २ करोड ८ लाख थपिएको सहित २१ करोड फर्छ्यौट भई आव २०८०/०८१ मा ३१ करोड ४६ लाख २५ हजार मात्र महानगरपालिकाको कूल बेरुजु बाँकी रहेको उनले जानकारी दिए ।
महाशाखाका प्रमुख भट्टराईका अनुसार तीन आर्थिक वर्षअघि महानगरको कूल बेरुजु १ अर्ब ६३ करोड ५७ लाख ४३ हजार थियो । महानगरपालिकाको बेरुजु हरेक आव घट्दै गएको उनले बताए ।
आव २०७९÷०८० मा ७ करोड ११ लाख ५३ हजार बेरुजु रहेकोमा २०८०/०८१ मा २ करोड ८ लाख मात्रै बेरुजु देखिएको छ । जुन ० दशमलव ३२ प्रतिशत मात्रै हो ।
मेयर नागेश कोइरालाले भने ‘हामीले नेतृत्व आएदेखि बेरुजु शून्यमा झार्ने लक्ष्यका साथ काम गरिरहेका छौँ ।’ आफूले मेयरको पद बहाली गर्दा झन्डै २ अर्ब बेरुजु रहेकामा हाल कूल बेरुजु ३१ करोडमा झार्न सफल भएको उनले बताए ।
उनका अनुसार सुरुको वर्ष २२ करोड ९४ लाख १ हजार, दोस्रो वर्ष ७ करोड ११ लाख ५३ हजार र कार्यभार सम्हालेको तेस्रो वर्ष अर्थात् आव २०८०/०८१ मा २ करोड ८ लाख रुपयामा बेरुजु झरेको छ ।
मेयर कोइरालाले भने ‘हामीले कूल बेरुजु मात्रै होइन वार्षिक आउने बेरुजुलाई पनि धेरै घटाएका छौँ ।’ सुरुमा आउँदा वार्षिक बेरुजु २२ करोड थियो । तेस्रो वर्षमा आइपुग्दा २ करोडमा झारेको उनले बताए ।
आर्थिक सुशासनलाई सबैले पालना गरेका कारण बेरुजु घट्दै गएको मेयर कोइरालाको भनाइ छ । सबै जनप्रतिनिधि र कर्मचारीहरूको साथ र सहयोगले बेरुजु उल्लेख्य मात्रामा घटाउन सफल भएको उनले बताए ।
महालेखाको प्रतिवेदन अनुसार विराटनगरपछि ललितपुर दोस्रो कम बेरुजु देखिएको महानगर बनेको छ । ललितपुरको १० अर्ब ६८ करोड ९७ लाख रुपैयाँ लेखा परीक्षण हुँदा ५ करोड ५५ लाख रुपया बेरुजु देखिएको छ ।
उक्त अङ्क कुल बजेटको ० दशमलव ५२ प्रतिशत हो । भरतपुर महानगरपालिकामा ११ अर्ब १३ करोड ३ लाख रुपैयाँ लेखा परीक्षण गर्दा १० करोड २ लाख रुपया बेरुजू देखिएको छ । उक्त अङ्क ० दशमलव ९० प्रतिशत हो ।
राजधानी काठमाडौँ महानगरमा भने २७ अर्ब ५२ करोड ४४ लाख रुपैयाँ लेखा परीक्षण गर्दा ६८ करोड २ लाख रुपैयाँ बेरुजु देखिएको छ । यो कुल रकमको २ दशमलव ४७ प्रतिशत हो ।
वीरगन्ज महानगरपालिकामा ६ अर्ब २८ करोड १६ लाख रुपैयाँ लेखा परीक्षण हुँदा २२ करोड ७५ लाख रुपैयाँ बेरुजु देखिएको छ । उक्त अङ्क ३ दशमलव ६२ प्रतिशत हो ।महानगरहरूमध्ये सबैभन्दा बढी बेरुजु पोखरा महानगरपालिकामा देखिएको छ । पोखराको १३ अर्ब ४६ करोड ७२ लाख रुपैयाँ लेखा परीक्षण हुँदा ५० करोड ४३ लाख रुपया बेरुजु देखिएको छ । उक्त अङ्क ३ दशमलव ७४ प्रतिशत हो ।