विराटनगर : विराटनगर महानगरपालिकाको बजेटले लक्षित गरेका योजना कार्यान्वयनमा रणनीतिक प्रभावकारिता बढाउनु पर्नेमा मेयर नागेश कोइरालाले जोड दिएका छन् । बिहीबार भएको गत आर्थिक वर्षको वार्षिक समीक्षा गोष्ठीमा उनले उक्त सुझाव दिएका हुन ।
उनले भने ‘आगामी दिनमा अझै प्रतिफल प्राप्त हुने गरी रणनीतिक प्रभावकारिता बढाउँदै कार्यसम्पादन चुस्त बनाउनु पर्दछ ।’ स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय तहले हरेक वर्ष वार्षिक समीक्षा गोष्ठी गर्नुपर्ने व्यवस्था छ ।
गोष्ठीमा उपमेयर शिल्पा निराला कार्कीले महानगरपालिकाले अघि सारेका नीति, बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न रणनीतिक योजना प्रभावकारी बनाउन पर्नेमा जोड दिइन् ।
प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जनप्रतिनिधि र कर्मचारी बिचको सहकार्य र एकताले गत वर्ष भौतिक विकास, राजस्व सङ्कलन, बजेट कार्यान्वयन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा प्रभावकारी काम भएको दाबी गर्दै आगामी दिनमा अझै प्रभावकारी कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गोष्ठीमा आर्थिक प्रशासन महाशाखा प्रमुख सञ्जीवकुमार भट्टराई, राजस्व व्यवस्थापन महाशाखा प्रमुख सरोजकुमार गौतम, स्वास्थ्य महाशाखा प्रमुख हैदर अलि, शैक्षिक प्रशासन महाशाखा संयोजक कृष्ण भट्टराई, योजना तथा पूर्वाधार विकास महाशाखा प्रमुख अर्जुन थापाले शाखाको कार्य सम्पादन प्रगति प्रस्तुत गरे ।
यसैगरी आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया लगायत महाशाखा र शाखा प्रमुखहरूले एक वर्षको अवधिमा आफ्नो शाखा, महाशाखाले गरेको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । महाशाखा र शाखा नीतिगत समीक्षा, कार्यान्वयन गर्दा देखा परेका समस्या र चुनौतीहरू पनि उनीहरूले जानकारी गराएका थिए ।