विराटनगर : विराटनगर महानगरपालिकाले एकीकृत बाल स्वास्थ्य शिविर सञ्चालनमा ल्याएको छ ।

महानगरले वडा नम्बर १९ स्थित वैजनाथपुर अस्पतालमा शुक्रबारदेखि एकीकृत बाल स्वास्थ्य शिविर सञ्चालनमा ल्याएको हो । विराटनगर महानगरपालिकाकी कार्यवाहक मेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर १९ का अध्यक्ष श्याम घिमिरेको उपस्थितिमा बाल स्वास्थ्य शिविर सुरु गरिएको हो ।

पोषण स्थिति सुधार गर्दै बालबालिकाहरूमा बिरामीदर र मृत्युदर कमी ल्याउने उद्देश्यका साथ महानगरले बाल स्वास्थ्य शिविर सुरु गरेको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो ।

शिविरमा बाल रोग विशेषज्ञ, पोषण विशेषज्ञ, स्वास्थ्य परामर्शदाता, स्वास्थ्यकर्मी, नर्सिङ कर्मचारीलगायतले सेवा दिनेछन् । “यो विशेष प्रकारको शिविर हो । जसमा बिरामी जाँच गर्नुका साथै ५ वर्षभन्दा मुनिका बालबालिकामा पोषणको लेखाजोखा गरी औषधि सहित पोषण सामग्री वितरण गरिन्छ,” कार्यवाहक मेयर कार्कीले बताउनुभयो ।

पोषण स्थिति पत्ता लगाउनका लागि पाखुराको जाँचका साथै उचाइ र तौलसमेत जाँच गरी पोषणको लेखाजोखा गरिन्छ । कुपोषण भएका बालबालिकाहरूलाई बालरोग विशेषज्ञ तथा पोषण विज्ञको सल्लाह अनुसार ३ महिनासम्म पोषण सामग्रीसमेत प्रदान गरिनेछ । पोषण सामग्रीमा चना, दाल, दूध, केरा, अण्डा, चामलसमेत वितरण गरिने अलीले बताउनुभयो ।

शिविरमा आउने सबै बालबालिकाहरूलाई सरसफाइ प्रवर्द्धन गर्नका लागि दुई वटा हात धुने साबुनसमेत प्रदान गरिनेछ । बिरामी पत्ता लागेका बालबालिकाहरूलाई निःशुल्क औषधि प्रदान गर्नुका साथै रेफर गर्नुपरेको अवस्थामा अस्पतालहरूसँग समन्वय गरी निःशुल्क उपचारको व्यवस्था मिलाइनेछ । १९ वटा वडाबाट सुरु भएको यो शिविर महानगरका सबै वडामा सञ्चालन गरिने स्वास्थ्य महाशाखा प्रमुख अलीले जानकारी दिनुभयो ।

baal swasthya sivir 2