धरान : मुन्धुम याक्थुङ/लिम्बु जातिको भाषा, संस्कृति र संस्कार मात्र नभई इतिहास र धर्मको श्रोत पनि भएको मुन्धुमका अध्येताहरूले बताएका छन् । सृष्टिको कथादेखी जातिको उत्पत्ति र जीवनशैलीको वर्णन आउने मुन्धुमको परिवेशले त्यसलाई स्थापित गर्ने उनीहरूको भनाई छ ।

मुन्धुमका अध्येता नेत्रप्रसाद सौदेनको त्रैभाषिक पुस्तक ‘सावा येहाङ, याक्थुङ तःक्सोःक थिः सोःक मुन्धुम’को विमोचन समारोहमा उनीहरूले उक्त कुरा बताएका हुन । मुन्धुम अध्येता लेखक हितराम तिलिङले भने ‘पुस्तकमा मुन्धुममा आउने लिम्बुवानका डेढ सय भन्दा बढी नदी खोलाहरूको नाम वर्णन गरिएको छ ।’

पुस्तकमा मुन्धुमको वर्णनसँगै दह, पोखरी र स्थान नामहरू समेत उल्लेख भएकाले मुन्धुमको पुस्तकहरू मध्ये नयाँ खालका महत्त्वपूर्ण जानकारीहरू भएको पुस्तक भएको बताए । हितरामका अनुसार त्यति धेरै नामका खोला खोल्सा समेत र स्थान नामहरूले तःक्सोःक थिः सोःक मुन्धुम यहीँको लिम्बुवान भूमिमा उत्पत्ति भएको आधार हो ।

उनले अहिले सम्म लिम्बु समुदायले अन्नबाली पाकेपछि न्वागी गर्ने सांस्कृतिक अनुष्ठानलाई चासोक भनिआएको बताउँदै मुन्धुमका अध्येताले पुस्तकमा तः क्सोः उल्लेख गरेकाले चासोक र तक्सोक भिन्न हो कि ? भन्ने अन्योल उत्पन्न हुनसक्ने बताए । मुन्धुम भने चासोककै भएकोले चासोकै भन्न उपयुक्त हुने उनको भनाई थियो ।

याक्थुङ पालामका स्रष्टा अम्बिका सम्बाहाम्फेले पुस्तकमा पालाम मात्र नभएर तक्सोक थिसोक पूजाको उत्पत्ति, विधि र आवश्यक वस्तुको विवरणहरू पनि समावेश भएकाले नयाँ पुस्ताका लागि मुन्धुमको गाइड जस्तो महत्त्वपूर्ण भएको बताए ।

मुन्धुमसँगै पुस्तकमा लिम्बु जातिका उत्पत्ति स्थलहरूका स्थान नामहरू, नदी खोला, दहहरूको नाम वर्णन उच्चारण गर्दै जाँदा लिम्बुहरूको प्राचीन उत्पत्ति स्थलमा पुगेको जस्तो अनुभूति हुने उनको भनाई थियो ।

सम्बाहाम्फेले पहिलो पटक सृष्टिकर्ता मुजिङना खिरिङनाले तक्सोक गरेको उल्लेख पुस्तकमा भएको बताउँदै त्यसैबेला श्रृष्टीकताले फेदाङमा बोलाएर ताक्सोक गराउनु भनेको कुरा त्रुटिपूर्ण लागेको बताउँदै भने ‘सृष्टिको सुरुमा मानिसै थिएन कहाँबाट फेदाङमा ल्याउने कल्पना गर्न सकिन्छ ?’

विमोचन समारोहका प्रमुख अतिथि प्रदेश नं १ का प्रदेश प्रमुख प्राडा.गोविन्द बहादुर तुम्बाहाङ थिए । उनले अध्येता नेत्र सौदेनले वषौंको खोजीको आधारमा प्रकाशित गरेको पुस्तक मुन्धुमको भण्डारमा एक महत्त्वपूर्ण दस्ताबेजको रूपमा आएको बताए ।

पुस्तकमा याक्थुङ लिम्बु भाषा, सिरिजंगा लिपि र नेपाली अनुवाद साथै अंग्रेजस् भाषा र लिपि समेत ४ भाषा ३ लिपिको कृति नेपालीहरूका लागि मात्र नभई मुन्धुमका विदेशी खोज, अध्ययनकर्ताहरूका निम्ति सहज बनाई दिएको उनले बताए ।

पुस्तकका लेखक, सङ्कलक, अनुवादक नेत्रप्रसाद सौदेनले पुस्तकमा वर्णन गरिएका मुन्धुमी स्थलहरू, युमा माङ सम्बन्धित गाउँठाउँ र ३ सय वर्ष भन्दा पुराना तस्बिरहरूमा देखिएका ठाउँहरूमा अवलोकन, अध्ययन र अनुसन्धानपछि मात्र पुस्तकमा समावेश गरिएको बताए ।

उनले पुस्तकको महत्वका समीक्षा मार्फत उजागर गरेकामा समीक्षकद्वयलाई धन्यवाद दिए । उनले समीक्षकद्वयका सुझावहरू तथा उनीहरूले उठाएका सवालहरूको जवाफ दिँदै आफूले तयार गरेको कृतिको समीक्षाले आफूलाई सुधार गर्न धेरै लाभ पुगेको बताए।

विमोचन कार्यक्रम लिम्बु पत्रकार सङ्घ सुनसरी शाखाको आयोजनामा भएको थियो । सभापतित्वमा गरेका सङ्घका केन्द्रीय सल्लाहकार हर्ष सुब्बाले सङ्घले मुन्धुमका सवालहरू सहित लिम्बु समुदाय सम्बद्ध विविध प्राज्ञिक सवालहरू पनि छलफल बहस आयोजना गर्न जरुरी भएको बताए । कार्यक्रम सञ्चाल सङ्घका सुनसरी जिल्ला अध्यक्ष स्वर्णिमहाङ लिम्बुले गरेका थिए ।

कुल ४०० पृष्ठको पुस्तकको प्रकाशक भूमि सौदेन, भवानी सौदेन र सोनिया सौदेन रहेका छन् । पुस्तकमा मुन्धुमको अङ्ग्रेजी अनुवाद सहप्रा.चन्द्रबहादु फोम्बो लिम्बुले गरेका हुन । पुस्तकको मूल्य १०७५ रुपैयाँ रहेको छ ।

mumdhum-pustak-2