धरान : बुढासुब्बा गोल्डकप फुटबलको शनिवार सम्पन्न २६ औं संस्करणको सभापनको अवसरमा यसपाली २ वटा महत्त्वपूर्ण घोषणा भएको छन् । दुवै घोषणा धरानको खेलकुद क्षेत्रका लागि सुखद भविष्यको सङ्केत मानिएको छ ।
रङ्गशालामा फ्लड लाइटको प्रतिबद्धता
समापन समारोहका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आगामी वर्षको बजेटमा धरान रङ्गशालामा रात्रीकालिन खेलको लागि आवश्यक ‘फ्लाइट’ जडान गर्ने रकम विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले सभामा घोषणा गर्दै भने ‘तपाईँहरूले सुनिरहनु भएको छ, तपाइहरुले भिडियो खिचिरहनु भएको छ, कोशी प्रदेश सरकारले आगामी वर्षको बजेटमा धरान रङ्गशालामा फ्लाइट जडान गर्न बजेट विनियोजन गर्नेछ ।’ तर रंगशालामा फ्लाइट लगाउने कुरा प्रदेशका पहिलो मुख्यमन्त्री शेरधन राईको पालादखी उठेको हो । तर कोशीमा धेरै पानी बगे पनि धरानको खेलकुदमा प्रदेश सरकारको बजेट नपरेको कुरा सभामा प्रदेश सभा सदस्य विजय राई र क्लबका अध्यक्ष प्रताप तामाङले उठाएका थिए ।
धरान रंगशालमा स्थायी फ्लाइट जडान नहुँदा बुढासुब्बा गोल्डकपको रात्रिकालिन संस्करणमा सञ्चालन गर्न नसकिएको तामाङले बताउँदै आएका छन् । गतबर्ष पहिलो पटक गोधुली फुटबल प्रतियोगिता रात्रीकालिन संस्करणमा सञ्चालन गरिएको थियो ।
नगर स्तरीय अन्तर वडा गोधुलीको रात्रिकालिन संस्करणले धरानको फुटबलमा तहल्का मच्चाएको थियो । शाख घट्दै फुटबलका दर्शक न्यून अवस्थामा गोधुलीका रात्रीसंस्करको अपार भीडले धरानमा खेलकुदको आयोजना रात्रीकालिन सफल हुने अनुभव गर्न थालिएको छ ।
तर गोल्डकपको प्रतिष्ठित खेल अस्थायी काम चलाउन प्रकाशको आधार सञ्चालन गर्न नसकिने खेल विज्ञहरूको भनाई छ । फस्ट डिभिजनका क्लबहरू समेत मैदानमा उत्रिने खेलमा प्रकाश व्यवस्थाको सानो त्रुटिले प्रतियोगीताकै प्रतिष्ठा प्रभावित हुने उनीहरूको भनाई छ ।
त्यसैले पनि धरान रंगशालमा स्थायी फ्लाइट जडान आवश्यक भैसकेको छ । मुख्यमन्त्रीको घोषणा अनुसार आर्थिक वर्ष २०८३÷०८४ फ्लाइट लागेमा बुढासुब्बाको २७ औं संस्करण रात्रीकालिन बन्ने सम्भावना छ ।
बुढासुब्बा गोल्डकपको अक्षयकोष
समापन समारोहमा धरान फुटबल क्लबले अर्को महत्त्वपूर्ण घोषण बुढासुब्बा गोल्डकपको दीर्घकालीन स्थायित्वका लागि अक्षयकोष घोषणा गरेको छ ।
क्लबका महासचिव नवीन राईले अक्षयकोष स्थापनाको औपचारिक अवधारणा सार्वजनिक गरे । उनले हरेक वर्ष दाताहरूबाट सहयोग सङ्कलन गर्दै आएकोमा दाताहरूको सुझाव अनुसार यस वर्षदेखि संस्थागत रूपमा अक्षयकोष स्थापना गरिएको बताए ।
अक्षयकोष नेपाल सरकारको आधिकारिक निकायमा कानुनअनुसार दर्ता गरिने, एक वर्षे मुद्दती खाता खोली सञ्चालन गरिनेछ ।कोषमा सहयोग गर्ने व्यक्ति, दाताहरू तथा सङ्घ–संस्थाहरू स्वतः अक्षयकोषका सदस्य रहने व्यवस्था गरिएको छ ।
अक्षयकोष सञ्चालनका लागि ७ सदस्यीय सञ्चालक समिति गठन गरिनेछ। समितिमा धरान फुटबल क्लबबाट अध्यक्षसहित २ जना, युके र हङकङबाट दाताहरूको प्रतिनिधित्व गर्दै दुई–दुई जना तथा धरानका एक जना लब्ध प्रतिष्ठित व्यक्तिबाट सदस्य रहने छ ।
अक्षयकोष सञ्चालनका लागि युके, हङकङ र धरान फुटबल क्लबबाट एक–एक जना गरी तीन जनाको अनिवार्य हस्ताक्षरबाट बैङ्क खाता सञ्चालन गरिने व्यवस्था गरिएको छ। अक्षयकोषबाट प्राप्त प्रत्येक वर्षको ब्याजमध्ये ८० प्रतिशत रकम बुढासुब्बा गोल्डकप सञ्चालनमा खर्च गरिने र बाँकी २० प्रतिशत आवश्यक खर्च कटाई कोषको मूल धनमा थपिने व्यवस्था गरिने छ ।
हाल अक्षयकोषमा २ लाख ७१ हजार रुपैयाँ जम्मा भइसकेको र नयाँ दाताहरूको प्रतिबद्धता अनुसार उक्त रकमसहित करिब १६ लाख ५० हजार रुपैयाँ जम्मा हुने बताइएको छ । समापन समारोहमै केही नयाँ दाताहरूले थप करिब २ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिँदै निकट भविष्यमै अक्षयकोषमा १८ देखि २० लाख रुपैयाँसम्म जम्मा हुने अपेक्षा गरिएको छ ।
अध्यक्ष प्रताप तामाङले १ वर्ष भित्र करिब १ करोड रुपैयाँ बराबरको अक्षयकोष निर्माण गर्ने दीर्घकालीन लक्ष्य लिइएको बताए ।