धरान : निर्वाचन क्षेत्र सुरक्षाका लागि खटिएको शसस्त्र प्रहरी टोलीले सुनसरीको कोशी गापा–३ जमुवा नेपाल–भारत सिमा इलाकामा गोली सहित स्वचालित पेस्तोल,लागुऔषध ब्राउनसुगर सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
निर्वाचन क्षेत्र ४ सुरक्षा बेशका सहायक प्रहरी हवल्दार मनबहादुर न्यौपानेका अनुसार शुक्रवार साँझ ५ बजेको समयमा भारतीय सिमाबाट नेपाल प्रवेश गरेको बीआर ५० एजे ४२२९ नम्बरका अपाचे मोटसाइकलबाट नक्कली नोट र लागुऔषध बरामद भएको हो ।
मोटरसाइकल चालक भारत अररिया जिल्ला बेला ग्राम पंचायत–४ का ३६ वर्षिय रामखेलन पासवान चेकजाँच गर्दा भाग्न खोजेका थिए । उनलाई नियन्त्रणमा लिएर शरिर खानतलास गर्दै पिस्तोल, नेपाली रुपया र ब्राउनसुगर बरामद भएको सप्रह न्यौपानेले बताए ।
बरामद हतियार कम्मरमा लुकाएको इटालियन ९ मिमिको स्वचालित पेस्तोल १ थान, लोड भएको म्याग्जीन १ थान र ३ राउण्ड गोली सहित रहेको छ । 
चेकजाँचमा पाइन्टको गोजीबाट ब्राउनसुगर जस्तो देखिने अन्दाजी १०० ग्रामको खैरो पदार्थको प्याकेट पनि बरामद भएको छ ।
चेकजाँचकै क्रममा ७ हजार ५ रुपया नेपाली रुपया पनि बरामद गरिएको छ । बरामद नोटमा १ हजार रुपयाको ७ थान, ५०० दरको १८ थान, १ सय दरको ३ थान, ५० को १ थान, १० रुपयाको ३ थान र ५ रुपयाको १ थान छ ।
बरामद हतियार, वस्तु, नगद सहित पासवानलार्य आवश्यक कारबाहीको लागि सुनसरी जिल्ला प्रहरी कार्यालय ईनरुवामा बुझाईएको छ ।