धरान : नेवा च्यारिटीव्दारा सञ्चालित धरान १० के रन अन्तर्राष्ट्रिय खुल्ला दौड प्रतियोगिताको १४ औँ संस्करण देखी स्पोर्ट सामाग्रीको उत्पादन गोफि क्लोदिङ ब्राण्ड प्रमुख प्रायोजक रहने भएको छ ।
धरान रन समुहव्दारा बुधवार आयोजित पत्रकार सम्मेलनमा समूहका अध्यक्ष हेमन सुनुवारले उक्त जानकारी दिएका हुन । प्रमुख प्रयोजक रहेकाले प्रतियोगिताको नाम गोफी धरान १० के रन नेवा: च्यारिटी रहेको छ । 
‘शिक्षाका लागि दौड’ भन्ने नारा सहित १४ औँ संस्करणको सबै तयारी पूरा भएको जानकारी दिँदै अध्यक्ष हेमनले दौड प्रतियोगिता फागुन ९ गते हुने घोषणा गरेका छन् । 
यसपाली पहिलो पटक दौडमा सहभागी सम्पूर्ण धावक–धाविकालाई १ लाख सम्मको एक दिने स्वास्थ्य बिमा प्रदान गरिएको बताइएको छ । यसपाली प्रतियोगितामा ३ हजार ५०० जनासम्म धावक–धाविकाको सहभागी हुने अपेक्षा गरिएको छ ।
यसपाली युके रनका धावक–धाविकासहित करिब २५ जना विदेशी धावक–धाविका सहभागी हुने बताइएको छ । फागुन ९ गते नै भर्चुअल रनमा करिब ३०० जनाले सहभागिता जनाउने भएका छन् ।
१४औँ संस्करणमा खुल्ला वर्ग, विभिन्न उमेर समूह, भेट्रान, सुपर भेट्रान, व्हिलचेयर तथा स्थानीय धावक–धाविकाका लागि प्रतिस्पर्धात्मक दौड र आकर्षक पुरस्कार व्यवस्था गरिएको छ ।
दौडको ठिक समय मापनका लागि ‘चिप टाइमिङ सिस्टम’ प्रयोग गरिनेछ । धरान रन समूहले नेपालमै ११औँ संस्करणदेखि चिप प्रणाली प्रयोग गर्दै आएको हो ।
वडाध्यक्ष रनिङ दौडमा धरानका वडाध्यक्षहरूको सहभागिता रहनेछ भने प्रथमलाई शिल्ड पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसपाली ५ जना वडा अध्यक्षहरूले सहभागिता जनाउने भएका छन् ।
सहभागी हुने वडाध्यक्षहरूमा धरान १० का विवेक राई, धरा १८ का वडा अध्यक्ष प्रवीण राई, धरान १६ का वडा अध्यक्ष मुरारी भट्टराई र धरान ४ वडा अध्यक्ष धनबहादुर राई रहने बताइएको छ ।
१० किलोमिटर दौडको रुट पुतली लाइनबाट सुरु भएर देशी लाइन, पुरानो बजार, पिण्डेश्वर मन्दिर, विजयपुर चौक, हात्तीसार क्याम्पस, रेडक्रस भवन, अमरहाट कभर्ड हल, जिरो प्वाइन्ट, जानकी चोक, धरान रङ्गशाला, गणेशमान चौक, पानी टङ्की, कल्याण चौक, मङ्गलवारे, रत्न चोक, बुद्ध चोक हुँदै पुनः भानु चौकमा समापन हुनेछ ।
प्रतियोगितामा १६ वर्ष माथिका ३९ वर्ष सम्मका विजेताले जनही नगद ६० हजार, दोस्रोले ४० हजार र तेस्रोले ३० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । १२ देखि १५ वर्ष भित्रका ‘यु–१५’ समूह, ४९ देखि ५९ वर्ष सम्मको ‘मिड भेट्रान’ समूहका, सुपर भेट्रान महिला पुरुष विजेताले जनही नगद ७ हजार, ५ हजार, ३ हजार, मेडल र प्रमाणपत्र पाउने छ ।
४० देखि ४९ वर्ष सम्मको ‘भेट्रान’ समूहका महिला पुरुष विजेताले जनही नगद १० हजार, ७  हजार, ५ हजार, मेडल र प्रमाणपत्र पाउने छ । ६० वर्ष माथिका ‘सुपर  भेट्रान’ समूहका महिला पुरुष विजेताले नगद ५ हजार, मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगीताका १३औँ संस्करणमा ४ हजार धावक, धाविकाहरू सहभागी थिए । धरान रन समूह २०६७ मा स्थापना भई २०६८ सालमा दर्ता भएको हो । रनले हरेक शनिवार यलम्वर पार्कमामा ३ किमी दौड गराउँदै आएको छ ।