धरान : फागुन २१ गतेको चुनावमा सुनसरी १ का क्रियाशील प्रत्येक काँग्रेस सदस्यले ४ जना मतदातालाई रुखमा भोट लगाउने भएका छन् । यहाँ काँग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सुजेन्द्र तामाङ छन् । समानुपातिक उम्मेदवार निर्मला गुरुङ राई छन् ।
काँग्रेस चुनाव प्रचार उपसमितिका संयोजक, काँग्रेस नगर सभापति श्याम पोखरेलले सुजेन्द्र तामाङको जीत सुनिश्चित भएको दाबी गर्दै भने ‘सुनसरी १ का प्रत्येक क्रियाशील सदस्यले यसपालि ४ जना भोटरलाई रुखमा भोट लगाउन बुथ सम्म ल्याउन छन् ।’
पार्टी कार्यालयमा आइतबार भएको चुनाव प्रचार उपसमिति गठन गर्ने बैठकमा उनले सुनसरी १ मा काँग्रेसको क्रियाशील सदस्य ६ हजार ५०० रहेको बताए । धरान क्षेत्रमा मात्रै काँग्रेसको करिब १५ हजार मत रहेको छ, जुन जितको बलियो आधार भएको उनको भनाई छ ।
जेन–जी आन्दोलनले उजागर गरेको जनभावनालाई आत्मसात् गर्दै काँग्रेसमा परिवर्तन आएको उनले बताए । नगर सभापति पोखरेलले भने ‘काँग्रेस विशेष महाधिवेशनले सभापति बनाएको युवा नेता गगन थापा अबको काँग्रेसको प्रधानमन्त्री हो ।’
सुनसरी–१ निर्वाचन मूल परिचालन समितिका संयोजक, कोशी प्रदेश महामन्त्री उमेश थापाले भने ‘फागुन २१ गतेको चुनावमा बदलिएको काँग्रेस मैदान उत्रिएको छ ।’ नयाँ नेतृत्व, नयाँ भिजन र नयाँ सोचका साथ पार्टी पुनर्निर्माण भएको छ ।
महामन्त्री थापाले भने ‘नयाँ शक्ति भन्दै पुरानै मान्छेहरूबाट जनतामा भ्रम छरिने प्रयास भइरहेका छ ।’ मतदातालाई त्यसबाट मुक्त गराउन काँग्रेसले जेन–जी आन्दोलनकै मागहरू लिएर निर्वाचनमा सहभागी भएको बताउँदै भने ‘यो कुरा कार्यकर्ताले जनता माझ पुर्याउदै छन् ।’ बैठकले ५१ सुनसरी १ प्रचार प्रसार उपसमिति गठन गरेको छ ।