धरान : धरान उपमहानगरव्यापी अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगिताको छनोट चरण आइतबार धरान–८ स्थित सहिद स्मृति माविको सभाहलमा सम्पन्न भएको छ।
धरानभरिका ११ वटा प्लस टु शिक्षण संस्थाबाट २० जना विद्यार्थी सहभागी भएको उक्त प्रतियोगिताबाट १८ जना फाइनल चरणका लागि छनोट भएका छन्।
फाइनल चरणमा प्रवेश गर्नेहरूमा सरस्वती मावि, पानवारीका समिता राई र निर्मला भण्डारी, शिक्षा निकेतन माबिका सुसन राई र निशा मगर, पब्लिक हाई स्कुलका गुन्जन लुइँटेल र स्मिता कोइराला रहेका छन्। त्यसैगरी विष्णु मेमोरियल माबिका सार्थक निरौला र स्वेच्छा आचार्य, चन्द्र संस्कृत मा.बि.का केवल मिश्र र सुमन भट्टराई, डिपोट माविकी क्यासी राई, धरान मेघा हिमालयनका दिविका राई र सन्जिना राई पनि फाइनलमा पुगेका छन्।
यसैगरी सुनाखरी एकेडेमीका नाबिया सरखाना र अमन राई, सहिद स्मृति मा.बि.की जेलिसा पौडेल र झर्ना राई तथा सियोन स्कुलकी सोनिया राई पनि अन्तिम चरणका लागि छनोट भएका छन्।
“हामी सचेत युवा कि भीड पछ्याउने पुस्ता?” शीर्षकमा सम्पन्न प्रतियोगितामा अधिकांश प्रतिस्पर्धीहरूले विषयलाई समसामयिक र सान्दर्भिक भएको उल्लेख गर्दै युवाहरूले भीडको पछि अन्धाधुन्ध लाग्नु भन्दा सही-गलत छुट्याई यथार्थको पक्षमा उभिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले युवाहरू भीड पछ्याउने मात्र नभई भीडलाई सही मार्गदर्शन गर्न सक्ने नेतृत्व क्षमता विकास गर्नुपर्ने धारणा व्यक्त गरे।
प्रतियोगिताका निर्णायकमा ब्लाष्ट टाइम्स दैनिकका सम्पादक देवेन्द्र कार्की तथा भानु स्मृति मा.बि.का शिक्षक ओम नाथ रिमाल रहेका थिए।
विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्दै व्यक्तित्व तथा नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले र्याडिकल लाईट नेपाल प्रा.लि., धरानले प्रतियोगिता आयोजना गरेको हो। संस्थाका अध्यक्ष तीर्थ कार्कीले पुरस्कारभन्दा अवसर महत्त्वपूर्ण हुने उल्लेख गर्दै छनोट चरणबाट धेरै विद्यार्थीलाई फाइनलमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरिएको बताए।
कार्यक्रमका प्रमुख अतिथि तथा सहिद स्मृति मा.बि.का प्रधानाध्यापक राम बहादुर विष्टले प्लस टु अध्ययनरत विद्यार्थीहरूले जटिल विषयमा समेत धाराप्रवाह आफ्ना धारणा प्रस्तुत गरेकोमा प्रशंसा गर्दै सफलताको शुभकामना व्यक्त गरे। कार्यक्रम सञ्चालन पूजा लम्सालले गरेकी थिइन्।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ७ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र, द्वितीयलाई नगद ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र, तृतीयलाई नगद ३ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र तथा सान्त्वना पुरस्कार स्वरूप नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको फाइनल आगामी फागुन १५ गते शुक्रवार सहिद स्मृति मा.बि.मा हुने जनाइएको छ।


































































