धरान : तत्कालीन नगर प्रमुख हर्क साम्पाङले आर्थिक ऐन, नियमको ठाडो उल्लङ्घन गरी ५ लाख रुपैयाँ कुल पुँजी भएको बेसार उद्योगलाई आफूखुसी उपमहानगरपालिकाको कोषबाट ३७ लाख रुपैयाँ बजेट खर्च गरेको देखिएको छ ।
माया धराने कृषक तथा उपभोक्ता समितिको नाममा सञ्चालित माया धराने बेसार उद्योग कानुनी रूपमा घरेलु उद्योगमा दर्ता समेत छैन । उक्त उद्योग उनी नगर प्रमुख हुँदा आफैले हस्ताक्षर गरी नगरपालिकामा दर्ता गरेका थिए ।
नगरपालिकामा दर्ता गरेको प्रमाणपत्रमा उक्त उद्योगको कुल लगानी ५ लाख रुपैयाँ मात्र रहेको उल्लेख छ । नगरपालिकाको स्वामित्व समेत नभएको उक्त उद्योगमा आफू प्रमुख हुँदा हर्क साम्पाङले आर्थिक वर्ष २०८१ र २०८२ मा गरी जम्मा ३७ लाख रुपैयाँ भन्दा बढी उपमहानगरपालिकाको कोष निकासा गरेको देखिएको हो ।
धरान उपमहानगरपालिकाको श्रोत अनुसार आर्थिक वर्ष ०८०/०८१ मा नगर प्रमुख कोषबाट १० लाख, आर्थिक वर्ष ०८१ /०८२ मा १२ लाख, ०८२/०८३ मा १५ लाख बजेट छुट्याएको छ ।
 उक्त रकमको विवरण अनुसार २०८० भदौ १३ गते बेसार प्रशोधन केन्द्र उद्योग धरान २० मा विद्युत् लाईन जडानका लागि धरौटी तथा मिटर जडानका लागि २० हजार ७६८ रुपैयाँ ७७ पैसा निकासा गरिएको छ । 
२०८१ कात्तिक १३ गते, २०८० कात्तिक १ गते सूर्य दिपलाई नगरप्रमुखको तोक आदेश बमोजिम बेसार फ्याक्ट्रीका लागि हेलोजिन बत्ती जडानका लागि १६ हजार १९८ रुपैयाँ निकासा गरिएको छ । २०८१ असार २३ गते मुक्तिनाथ कृषि कम्पनीलाई बेसार प्रशोधन मेसिन खरिद बापत ९ लाख ६३ हजार भुक्तानी भएको देखिन्छ ।
२०८१ कात्तिक १३ गते ए टु जेड सप्लायर्स धरानको नाममा पहिरो रोकथाम तारजाली खरिद भनेर १ लाख ३७ हजार ४३० रुपैयाँ भुक्तानी गरिएको छ । २०८१ माघ २४ गते नेपाल विद्युत् प्राधिकरण धरानलाई  विद्युत् महसुल र रिकनेक्सन चार्ज भन्दै  १८ हजार ८९२ रुपैयाँ भुक्तान गरिएको छ ।
२०८२ वैशाख १२ गते बेसार फ्याक्ट्री भवन निर्माण समितिलाई सेकाउने सेड, शौचालय, गार्ड रुमका लागि भन्दै ५ लाख ४७ हजार ४८० रुपैयाँ भुक्तानी भएको छ । २०८२ वैशाख १२ गते  ए टु जेड सप्लायर्स धरानलाई पानी पाइपलाइन विस्तारका लागि  ३१ हजार ९२२ रुपैयाँ निकासा गरिएको छ ।
विद्युत् महसुल थप भुक्तानी  २० हजार रुपैयाँ, शिव बाबा फर्निचर,स्लिपवेल डेकोर, ए एण्ड वेइङ सिस्टम काँटा, फर्निचर तथा फर्निसिङका लागि ८६ हजार २८९ रुपैयाँ भुक्तान गरिएको छ । 
२०८२ माघ २२ गते उपकरण, मेशिनरी, मर्मत तथा सञ्चालन सामग्री खरिदका लागि नगर भिजन कोष मार्फत १५ लाख रकम छुटाईए पनि हाल र्शिषक फरक परेको भन्दै ४२ हजार ९२८ मात्र फर्स्यौट भएको छ । 
उक्त उद्योग दर्ताका लागि घरेलु तथा साना उद्योग कार्यालयमा निवेदन गर्दा कार्यालयका कोशी प्रदेश प्रमुख उद्योग अधिकृत राजन पाण्डेले पालिकाले उद्योग सञ्चालन गर्ने स्पष्ट कानुनी व्यवस्था नभएको उल्लेख गर्दै दर्ता दिन नमिल्ने पत्राचार गरेका थिए ।
कोशी प्रदेश निजी तथा साझेदारी फर्म दर्ता ऐन २०७७ तथा प्रदेश औद्योगिक व्यवसाय ऐन २०७७ अनुसार पालिका आफैँ उद्योग दर्ता गर्न नसक्ने कानुनी व्यवस्था छ । कानुनी आधार नहुँदा पनि नगर प्रमुख हुँदा हर्क साम्पाङले माया धराने कृषक तथा उपभोक्ता समितिको नाममा उद्योग दर्ता प्रमाणपत्र जारी गरेका हुन ।
besar