झापा : कोरोना भाइरस नियन्त्रण र उपचारका लागि झापामा पीसीआर परीक्षण प्रयोगशाला र कोरोना अस्पताल तत्काल सञ्चालनका लागि पहल गरिने भएको छ ।

जिल्लास्तरीय कोरोना भाइरस संक्रमण, रोकथाम, उपचार, समन्वय तथा अनुगमन समितिका संयोजक सोमनाथ पोर्तेलसहित झापाका मुख्य राजनीतिक दलका प्रमुखहरुबीच झापाको बिर्तामोडमा भएको छलफलमा त्यस्तो निष्कर्ष निकालिएको हो ।

अस्पताल तथा पीसीआर परीक्षण प्रयोगाशाला स्थापनाका लागि स्थान पहिचान लगायतका काम तत्काल अघि बढाउनेसमेत निष्कर्ष निकालिएको छ ।

कोरोना भाइरसको पीसीआर पद्धतिद्वारा परीक्षण र अस्पताल स्थापनाका लागि झापामा सञ्चालित ‘एकका लागि एक’ अभियानको तर्फबाट एक हजार थान भीटीएम किट खरिद गर्ने सहमतिपनि भएको जिल्लास्तरीय कोरोना भाइरस संक्रमण, रोकथाम, उपचार, समन्वय तथा अनुगमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए ।