इटहरी : कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीलाई हटाउन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अन्तिम प्रयास थालेका छन् । संसद् सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता गराएका एमाले माओवादीले मुख्यमन्त्री कार्की अल्पमतमा परेको भन्दै राजीनामा दिनुपर्ने बताएका हुन् ।

चैत २६ गते दर्ता भएको सङ्कल्प प्रस्ताव माथि बिहीबारको कोशी प्रदेशसभाको बैठकमा छलफल हुने भएको छ । मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेको र उनले मार्गप्रसस्त गर्नुपर्ने प्रस्ताव माथि छलफल हुने कार्यसूची तयार भएको छ । बुधवार बसेको कार्यव्यवस्था समितिको बैठकले एमाले माओवादीले दर्ता गराएको सङ्कल्प प्रस्तावमाथि छलफल हुने निर्णय गरेको हो ।

सो निर्णय पछि सभामुखलाई सङ्कल्प प्रस्ताव माथि छलफल चलाउने बाटो खुल्ला भएको छ । बुधवार नै मुख्यमन्त्री कार्कीले सभामुख अम्बरबहादुर विष्टलाई लिखित पत्र पठाएर प्रदेश सभामा दर्ता भएको सङ्कल्प प्रस्ताव संविधान विपरीत भएको दाबी गरेका थिए ।

बिहीबारको प्रदेश सभाको विशेष अधिवेशनमा विश्वासको मत लिन मुख्यमन्त्रीलाई निर्देशन दिने सङ्कल्प प्रस्ताव पेस गर्ने तयारी छ । कार्यव्यवस्था समितिको छलफलले सङ्कल्प प्रस्तावलाई संसदमा लैजाने भएपछि नेपाली काँग्रेसले संसदीय प्रक्रिया र संवैधानिक प्रावधानलाई स्विकारेर जाने निर्णय गरेको छ । प्रमुख सचेतक गोपाल तामाङले संसदीय मर्यादा र संवैधानिक हकलाई कार्यान्वयनमा लैजान काँग्रेस तयार भएको बताए ।

एमाले माओवादीको सङ्कल्प प्रस्तावमा मुख्यमन्त्री कार्कीले बहुमत सदस्यको समर्थन गुमाइसकेकाले आगामी २५ वैशाखभित्र विश्वासको मत लिनुपर्ने नभए राजीनामा दिनुपर्ने उल्लेख छ ।