धरान : धरान खेलकुद मञ्चले पत्रकारिताको माध्यमबाट खेलकुदमा योगदान पुर्‍याउँदै आएका सञ्चारकर्मीलाई पहिलो पटक ‘धरान खेलकुद मञ्च मिडिया अवार्ड २०८०’ प्रदान गर्ने भएको छ ।

प्रत्येक वर्ष प्रदान गरिने गरी यसपालि पहिलो एवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष किशोर राईले बताए । उनका अनुसार वैशाख १५ गते साकेला पार्कमा आयोजना हुने मञ्चको नयाँ वर्ष २०८१ शुभकामना आदान प्रदान कार्यक्रममा एकजना सञ्चारकर्मीलाई १० हजार रुपैयाँ सहितको एवार्ड प्रदान गरिनेछ ।

धरानमा सबै विधाका खेलकुदको विकासका लागि खेलकुद सङ्घ, सङ्गठनहरूको प्रतिनिधित्व गर्दै छाता संस्थाको रूपमा खेलकुद मञ्च गठन भएको हो । वैशाख १५ गते हुने मञ्चको वृहत् भेलामा धरानको खेलकुदलाई अघि बढाउने वार्षिक कार्यक्रम तर्जुमा गर्न छलफल गरिने छ ।

अध्यक्ष राईले भने, ‘धरानमा मनाइँदै आएको ओलम्पिक डे यसपालि भव्य रूपमा मनाउने कार्यक्रम पनि तय गरिने छ ।’ धरान खेलकुदका धेरै विधाका केन्द्र विन्दु भए तापनि मिडियामा ओझल पर्दै आएको बताउँदै उनले राष्ट्रिय कीर्तिमान कायम गरेका खेलाडीहरू भएका खेलकुद प्रति मिडियाको ध्यानाकर्षण गराउन मञ्चले यसपालि देखी मिडिया एवार्ड प्रदान गर्न सुरु गरेको स्पष्ट गरे ।

एवार्डका लागि सूचना जारी गरी सञ्चारकर्मी छनौट गर्न वरिष्ठ पत्रकार हर्ष सुब्बाको संयोजकत्वमा ३ सदस्यीय छनौट समिति मञ्चको बैठकले गठन गरिएको उनले जानकारी दिए । समितिमा पत्रकार महासङ्घ सुनसरीका सहसचिव भोला श्रेष्ठ र मञ्चबाट वसन्त राई सदस्य रहेका छन् ।

समितिले सार्वजनिक सूचना जारी गरी शुक्रवार ४ बजे सम्म आएका जानकारीका आधारमा उपयुक्त सञ्चारकर्मी चयन गर्ने उनले बताए ।