इलाम : सुशासनको कुरा गर्ने गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रबी लामिछाने आफै सहकारी ठगीमा मुछिएको काँग्रेस नेता डाक्टर शेखर कोइरालाले बताएका छन् । गृहमन्त्रीको सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नसक्ने चेतावनी दिएका हुन् ।

इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सहकारी ठगीमा मुछिएकाले संसदीय छानबिन समिति बनाउन डराएको प्रष्ट पारे ।

नेपाली काँग्रेसले पहिचानको मुद्दा सबैभन्दा पहिले उठाएको बताउँदै उनले  पहिचान सहित पहुँच र प्रतिनिधित्वको पक्षमा लागेको बताए । उनले पहिचान चाहनेहरूले काँग्रेस उम्मेदवार डम्बर खड्कालाई मत दिनुपर्ने उल्लेख गरे ।

उनले भने "गत माघ ७ गते पहिचानवादी अग्रज नेताहरू विराटनगर जानुभएको थियो, मैले उहाँहरूलाई पहिचानको मुद्दामा म संवेदनशील रहेको र काँग्रेसले पहिचानको मुद्दालाई सम्बोधन गर्ने कुरामा आश्वस्त बनाएर पठाएको थिएँ । अर्को कुरा पहिचानको मुद्दालाई सम्बोधन गर्न काँग्रेस नेतृत्वको प्रदेश सरकारले समिति नै बनाएर काम गरिरहेको कुरा तपाईँ सबैलाई थाहा नै छ ।"

नेता कोइरालाले  चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गर्ने, चिया बगानमा काम गर्ने श्रमिकहरूका लागि समान ज्याला र उनीहरूको हकहितका पक्षमा काम गर्ने प्रतिबद्धता जनाए ।