इटहरी : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेकपा माओवादी (केन्द्र) का पूर्व लडाकुहरूलाई पैसा बाँड्न दबाब दिएको पूर्व अर्थमन्त्री डाक्टर प्रकाशसरण महतले बताएका छन् ।

सोमबार सुनसरीको इटहरीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. महतले पूर्व लडाकुलाई मात्र नभएर गैर प्राथमिकताका धेरै क्षेत्रमा पैसा वितरण गर्न दबाब दिएको बताएका हुन् ।

वितरणमुखी काम नगरेको कारण प्रधानमन्त्रीले गठबन्धन परिवर्तन गरेको उनको भनाइ छ । ‘सरकारलाई जनताबाट उठाएको कर गैर प्राथमिकताको क्षेत्रमा खर्च गर्ने अधिकार हुँदैन ।

विधि विधान र कानुन अनुसार खर्च गर्नुपर्ने हुन्छ ।,’ उनले भने, ‘यस्ता धेरै खाले प्रस्ताव आएका थिए । जसलाई मैले अस्वीकार गरेको हो ।’

अर्थतन्त्रका सूचकहरू सकारात्मक हुँदै गर्दा पछिल्लो समय सरकार फेरिएपछि आर्थिक अस्थिरता मौलाएको गुनासो गरे । वर्तमान सरकार वितरण मुखी भएको र जनताबाट सङ्कलन गरेको कर आफूखुसी वितरण भएकोमा चिन्ता व्यक्त गरे ।

सहकारी ठगीमा मुछिएका रवि लामिछाने आफै गृहमन्त्री भएर अनुसन्धान प्रभावित पारेको बताउँदै उनले सरकारले संसदीय छानबिन समिति गठन गर्न नदिएको उल्लेख गरे ।

अहिले जसरी सरकार परिवर्तन भएको छ यसले धेरै अन्यौलता सृजना गरेको पूर्व अर्थमन्त्री महतको टिप्पणी छ । गठबन्धनमा आबद्ध दलहरू भित्र चर्को मतभेद र अविश्वास बढेको बताउँदै उनले अन्तर्राष्ट्रिय स्तरमा अविश्वासको वातावरण सृजना भएको बताए ।