धरान : सङ्घीय सरकारको आर्थिक वर्ष ०८०/०८१ को बजेट मार्फत कोशी प्रदेश सरकारलाई प्रदान गरेको सर्शत अनुदानको कार्यक्रम सङ्घीय सरकारको निर्देशन विपरीत प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले संशोधन गरेको छ ।

सङ्घीय सरकारको सर्शत अनुदानमा धरान-१७ मा बहुसाँस्कृतिक पार्क निर्माणका लागि विनियोजित बजेट रकम ५० लाख ठाउँ स्थानान्तरण गर्दै धरान-५ मा पुर्‍याइएको हो ।

यस्तै धरान-१ सिंहदेवी चोक हुँदै चुम्लुङ डाँडा राय चौरी जाने बाटोको लागि विनियोजित बजेट ५० लाख स्थानान्तरण गर्दै धरान-६ मा पुर्‍याइएको छ ।

कोशी प्रदेश मन्त्रालयले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको योजना कार्यान्वयनका गर्न वैशाख १० गते सोमबार बजेट रकमान्तर गरेको हो । 

योजना कार्यान्वयनको स्थितिमा पुगेको समयमा कार्यक्रम संशोधन हुँदा स्थानीय बासिन्दाहरू असन्तुष्ट भएका छन् ।

धरान-१ का चन्द्र प्रसाद बजगाईँले सङ्घीय सरकारसँग डेलिगेसन गएर विनियोजन गराइएको बजेटलाई प्रदेश सरकारले संशोधन गर्नु गलत भएको बताए । धरान-१ को धार्मिक स्थलको कच्ची बाटोमा मेयर साम्पाङको ध्यान नगएको बताए ।

प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय प्रवक्ता खगेन्द्र खड्कासँग फोन सम्पर्क गर्दा उनले धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङको निर्देशन अनुसार गरेको बजेट संशोधन भएको बताए । उनले भने 'यसबारे मेयर साम्पाङलाई नै सोध्नुस् ।'

उनले सङ्घीय सरकारको कार्यक्रम संशोधन नगर्नु भन्ने परिपत्रको जानकारी नभएको बताउँदै रुखो भाषामा भने ‘तपाईँहरूलाई थाहा भए परिपत्र पठाईदिनुस।’ 

नेपाल सरकार अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाको २०८० माघ ९ गतेको परिपत्र अनुसार प्रदेश मन्त्रालयले सशर्त अनुदानका योजना संशोधन गर्न मिल्दैन ।

परिपत्रमा वित्तीय हस्तान्तरण भएको एक आयोजनाबाट अर्को आयोजनामा बजेट थपघट गरी रकमान्तर र कार्यक्रम संशोधन गर्न नमिल्ने कुरा उल्लेख छ ।

स्वीकृत योजनामा मात्र रकम थपघट गरी रकमान्तर कार्यक्रम थप घट गर्न पाइने स्पष्ट निर्देशन भएकोमा प्रदेश सरकारको मन्त्रालयले निर्देशन विपरीत नयाँ कार्यक्रम सृजना गरी रकमान्तर गरेको पाइएको छ ।