इटहरी : इटहरी उपमहानगरपालिकाले जनप्रतिनिधी पाएको ३ बर्ष पुरा भएको छ । त्यसै संगै इटहरीको बिकाश र समृद्धीले फड्को मारेको दाबी गर्न थालीएको छ । तर इटहरीको समृद्धी भित्र गाउँका जनताको समस्या अटाउन सकेको छैन ।

इटहरी उपमहानगरपालिका-१७ का अजिम महम्मद बाँसको टाटीले बारेको घरमा बस्छन् । त्योपनि आधा जती भत्कीसकेको छ । घर भित्र भएपनि बाहीरैबाट ग्यास लगायत किचनका समान देखीन्छन् । बाकी रहेको टाटीमा माटोको लिउन उक्कीन थालेको छ । भैसी बाध्ने ठाउँ र उनी सुत्ने कोठाको दुरी एउटा बारले छेकेको छ । त्यसको पनि लिउन उक्कीएर भैसीकै नजिकको सुताई हुन्छ उनको ।

भैसी बाध्ने नजीकै बोराले बेरेको जस्तो केही देखीन्छ । केही बर्ष अगाडी एसओएसले दिएको ट्वाइलेट रहेछ । दुई बर्ष अगाडी सम्म छोरीकोलागी भएपनि उपयोगी थियो । तर अहिले त्यसको मर्मत गर्ने तागत र पैसा नभएपछी बोरा ढाकीएको छ ।

Itahari-Toilet-issue-2

उनी स्वयमकोलागी भने ट्वाईलेटको कुनै काम छैन । बिहान उज्यालो हुन नपाउँदै पैनीको किनारमा पुग्छन् उनी । सानै देखी बाहीर दिशा गर्ने बानी भएको कारण ट्वाइलेटमा गुम्सिएको महसुस हुने उनले सुनाए । त्यसैले उनको हरेक दैनीकी खुल्ला ठाउँको शौचबाट सुरुहुन्छ ।

उनको देखी केही पश्चिममा पर्छ अम्सुल महम्मदको गाउँ । उनले पनि चर्पी बनाउने तयारी नगरेका भने हैनन् । पछी पैसा नपुगेपछी त्यतीकै थन्कीए उनी । अहिले उनको पनि दैनीकी खुल्ला ठाउँमा दिशा गरेर नै सुरुहुन्छ । उनकी श्रीमती छिमेकीको ट्वाइलेट प्रयोग गर्छीन। तर उनी ट्वाइलेटमा दिशा गर्दा दिशानै नआउने भएपछी बाहीरै गएर गर्ने गरेको सुनाउँछन् ।

हनिफ मोहम्मदको पनि उस्तै कथा छ । तर अरुलाई भन्दा सहज छ उनलाई । उनको घरै नजीक पैनी बग्छ । अरुलाई जस्तो टाढा धाउनुपर्ने बाध्यता पर्दैन उनलाई । अहीले सम्म ट्वाइलेटको बारेमा केही नसोचेको बताउँछन् उनी । खान लगाउन र छोराछोरी पढाउनै मुस्कील परेको बेला त्यता तिर सोच्न नपाएको उनी सुनाउँछन् । ‘छोरी बढ्दैछे । बुहारी पनि ल्याउने बेला भयो । अब बनाउनुपर्ने हो । तर पैसा छैन,’ उनी भन्छन् । प्रदेश १ कै केन्द्रमा रहेको इटहरी उपमहानगरपालिका भित्रको समस्या हो यो ।

हुनत इटहरी उपमहानगरपालिका आफै सार्वजनीक शौचालय बिहीन छ । इटहरी बसपार्कमा बाहेक अन्य कुनैपनि स्थानमा सार्वजनीक शौचालय छैन । राजनैतीक तथा व्यापारीक निर्वाचनमा उठ्ने गरेको सार्वजनीक शौचालयमो मुद्धा बाकी समयमा भने ओझेलमै रहन्छ । केही दिन देखी इटहरी उपमहानगरको गेटमा शौचालय बनाउने काम निमार्णाधीन अवस्थामा छ ।

नेपाल दक्षिण एसीयामै पहिलो खुल्ला दिशामुक्त देश घोषणा भइसकेको छ । सरकारले खुल्ला दिशामुक्त घोषणा गर्दैँ गर्दा कहिले रात पर्ला र शौच गरौला भनेर पर्खीनेहरु यही समृद्ध इटहरीमा छन् ।

जनतामा शौचालयको प्रयोग बारे जानकारी नहुँदा र सरकारको अपुर्ण तयारीले घोषणा घोषणामै सिमीत देखीएको छ ।