धरान : धरानमा आज साँझ एकै परिवारका ५ जना सहित ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

आज कोरोना सङ्क्रमित हुनेहरूमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सरसफाइमा काम गर्ने धरान ११ को मकालु बस्तीको प्रगति चौकका ४७ वर्षीय पुरुषको परिवारका ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको धरान ११ की महिला सदस्य सङ्गीता लोहनीले जानकारी दिएकी छिन् ।

उनका अनुसार सङ्क्रमितहरू ४७ वर्षीय पुरुष, ४७  बर्षीया महिला, १८ बर्षीया महिला, २६ वर्षीय पुरुष, २२ बर्षीया महिला रहेका छन् । यसै गरी अर्को धरान १८ का ३६ वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण भएको भन्दै आफूलाई सङ्क्रमित स्यंमले फोन गरेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

यसै गरी धरान १२ का हिजो कोरोना सङ्क्रमित भएका पुरुषको २७ बर्षीया श्रीमती, ६ वर्षीय छोरा र २ बर्षीया छोरीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको  प्रमुख  मेहेताले जानकारी दिएका छन् ।

यो सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ६६ पुगेको छ । उनीहरू सबैको बीपीको हेल्प डेस्कमा स्वाब लिइएको थियो ।