वैदिक सनातनी नेपालीहरुको महान चाँड बडा दशैँको आज छैटौं दिन । आजको दिनमा कात्यायिनी भगवतीको पुजा तथा अर्चना गरिन्छ ।

आजको दिनमा कात्यायिनी भगवतीको पुजा गरेमा रोग,शोक,भय,दुख,दरिद्र जस्ता संकट नाश भई मानिस प्रगति पथमा अगाडि बढ्ने धार्मिक बिश्वास रहेको पाइन्छ ।

कत नामक गरेका ऋषिका छोराको रुपमा ऋषि कात्यले जन्म लिए र कात्यका गोत्रमा विश्वप्रसिद्ध महर्षि कात्यायनको जन्म भयो । उनी भगवती जगदम्बाको धेरै वर्षसम्म कठिन तपस्या गरेका थिए । भगवती उनको घरमा पुत्रीको रूपमा जन्म लिऊन् भन्ने उनको इच्छा थियो । लामो समयको तपस्या पछि भगवतीले उनको यो प्रार्थना स्वीकार गरिन् र उनको घरमा जन्म लिइन् । यसै कारण उनको नाम कात्यायनी रहन गएको भन्ने शाष्त्रिय मान्यता रहि आएकोछ ।

माता कात्यायनीको भक्ति अमोघ फलदायी रहेको छ । भगवान् कृष्णलाई पतिका रूपमा पाउनको लागि व्रजका गोपिनीहरूले यिनै कात्यायनी देवीको पूजा कालिन्दी- यमुनाको तिरमा गरेका थिए । यिनी व्रजमण्डलकी अधिष्ठात्री देवीको रूपमा प्रतिष्ठित छिन् । यिनको रूप अत्यन्त नै भव्य र दिव्य छ । यिनको वर्ण स्वर्णसमान चम्किलो छ। चतुर्भूज धारिणी माताको दाहिनेतर्फको माथिल्लो हात अभय मुद्रामा छ तथा तल्लो हात वरमुद्रामा छ । देब्रेतर्फको माथिल्लो हातमा तरबार छ भने तल्लो हातमा कमल पुष्प सुशोभित भएको छ ।

दुर्गा पूजाको नवरात्रि साधनाको क्रममा भगवतीको छैठौं दिनमा साधकले माता कात्यायनीको चरणमा आफ्नो चित्त निवेदित गर्दछन् । माता कात्यायनीको भक्ति र उपासनाद्वारा मानिसले सहजताका साथ धर्म, अर्थ काम, मोक्षजस्ता चारवटै फलहरूको प्राप्ति गर्न सक्दछ । ऊ यसै लोकमा स्थित रहेर पनि अलौकिक तेज र प्रभायुक्त हुन पुग्दछ । उसका रोग, शोक, भोक, सन्ताप, भय आदि सर्वथा विनष्ट भएर जान्छन् ।

कात्यायनी भगवतीको भक्ति गर्नाले साधकलाई सरल तरिकाले अर्थ, धर्म, काम तथा मोक्ष प्राप्त हुने तथा यसै लोकमा अलौकिक तेज र प्रभावले युक्त हुने विश्वास गरिन्छ। उहाँको ध्यान गर्ने मंत्र 'ॐ देवी कात्यायनायै नम:।' अथवा 'ॐ ऐं ह्रीं क्लीं कात्यायनायै नम: हो एवम् माता काल रात्रीको बाहन गधा हो।

दशैंका अवसरमा देशभरका शक्तिपीठहरूमा भगवतीको पुजा हुंदैछ । भद्रकाली, नक्साल, शोभा भवगती, मैतीदेवी पाथिभरा, पलान्चोक भगवती, छिन्नमस्ता, मनकामना, दन्तकाली लगायत शक्तिपीठमा विहानैदेखि दुर्गा सप्तसती पाठ गरी देवीको आराधना गरिदैछ।