दशैँको मनोवैज्ञानिक पक्ष : चाडपर्वले मानसिक स्वास्थ्य सबल बनाउँछ । 

  • कार्तिक ८, २०७७
  • २५९ पटक पढिएको
  • गोपाल ढकाल, मनोविद
alt

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाईरसको असर शारीरिक तथा मानसिक स्वास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, चाडपर्व, रहनसहन लगायतका प्राय: सबै क्षेत्रमा परेको छ। कोरोना सङ्क्रमणका कारण यस वर्ष दसैँलाई खुलेर हर्षोल्लासका साथ मनाउने अवस्था छैनौ । तर जस्तो सुकै विषम अवस्थामा पनि हामीले हाम्रो धर्म, संस्कृति र परम्परा भुल्नुहुँदैन । यसको संरक्षणमा जोड दिनुपर्छ ।

यो वर्ष भने कोरोनाको सङ्क्रमणलाई ध्यान दिँदै भौतिक दुरी कायर गरेर सुरक्षाका उपायहरू अपनाउँदै जो जो जहाँ छन् त्यहीबाट दसैँ मनाउनु नै उत्तम हुन्छ। दशैको सबैभन्दा महत्त्वपूर्ण पक्ष आशीर्वाद लिने दिने र शुभकामनाको आदान-प्रदान गर्ने कार्य भएकाले भौतिक रूपमा भेटघाट हुन नसके पनि वैकल्पिक रूपमा फोन वा सोसियल मिडियाको प्रयोग गर्न सकिन्छ ।

चाडपर्वको धार्मिक रूपमा मात्र होइन, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक रूपमा समेत ठुलो महत्त्व रहेको हुन्छ। दसैँ तिहार जस्ता महत्त्वका चाडपर्वहरूलाई कुनै जात , जाति र धर्म सम्प्रदायसँग मात्र सीमित नबनाई परम्परा र संस्कृतिका रूपमा विकसित गर्नुपर्दछ। यस्ता राष्ट्रिय चाडपर्वहरूले नेपालीहरूमा राष्ट्रिय एकता, शान्ति र सद्भाव कायम राख्न मद्दत गरिरहेको हुन्छ साथै नेपाली हुनुको गौरव र पहिचान गराउँछ ।

किंवदन्ती अनुसार पनि विजया दसैँ असत्य माथि सत्यको जितको उत्सवका रूपमा मनाइन्छ। विजयको उत्सवले आत्मबल , आत्मविश्वास, जोस जाँगर, हौसला बढाउने तथा नैरस्यतालाई हटाउने गर्छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार स्वास्थ्य भनेको शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक चारै तवर वाट स्वस्थ हुनु हो । दसैँजस्ता चाडपर्वहरूले मानिसलाई यी चारै किसिमबाट स्वास्थ्य रहनका लागि मद्दत पुराइरहेको हुन्छन् ।

दसैँ यस्तो मौसममा पर्छ जुन बेला खेती किसानी गर्ने व्यक्तिलाई कामको कुनै बोझ हुँदैन । कामको चपेटाबाट मुक्त भएर आराम गर्ने अवसर पनि हो दसैँ । चाडपर्वमा प्रायः सबैले सुधैको भन्दा फरक मीठो मसिनो र पोषिलो खानेकुरा खाने गर्दछन् । दसैँमा विशेष रूपमा खाइने दही, चिउरा, घ्यु, फलफूल, मिठाई, माछा मासु जस्ता खानेकुराले शरीरमा शक्ति प्रदान गर्छ जसले शारीरिक रूपमा स्वास्थ्य रहन मद्दत पुर्‍याउँछ । दसैँमा पिङ खेल्दा शारीरिक व्यायाम हुनुका साथै खाएको गरिष्ठ भोजन पचाउन मद्दत गर्छ। पिङ खेल्दा मनोरञ्जन पनि भइरहेको हुन्छ ।

दसैँको बेला ठुलाले सानालाई टिका लगाएर दिइने आर्सीवाद र एक अर्कामा गरिने शुभकामनाको आदान–प्रदानले व्यक्तिमा जोस, जाँगर र हौसला बढाउँछ । निराश मनमा पनि आत्मबलको सञ्चार हुन थाल्छ। आफन्त र साथीभाइसँगको भेटघाटले निराशा र एक्लोपन हटाउँछ । व्यक्तिलाई सही मार्गमा हिँड्ने प्रेरणा मिल्दछ र सकारात्मक सोचको विकास हुन्छ । यसले व्यक्तिको मानसिक स्वास्थ्य प्रबद्र्धनमा मद्दत गर्दछ। कोरोनाले धेरैलाई निराश बनाएको अहिलेको अवस्थामा आत्मबल, प्रेरणा र सकारात्मक सोचको सञ्चार हुनु अति आवश्यक छ।

ping

दशैको रमझमले खुसीयाली र उमङ्ग लिएर आउँछ । अझ केटाकेटीहरू त दसैँ कहिले आउँला भनेर दुई चार महिना अगाडिदेखि नै औँला भाँच्न थाल्छन्। दर्शैँको अवसरमा आफन्त तथा साथीभाइहरूसँग गरिने भेटघाट र शुभकामनाको आदान-प्रदानबाट आत्मीयता, माया, प्रेम, सद्भाव, भाइचारा, मेलमिलाप र निकटता कायम राख्न मद्दत गर्दछ । यसले मानिसलाई सामाजिक रूपमा स्वास्थ्य बनाउँछ । घर छोडेर बिदेसिएका वा टाढा परदेश गएका परिवारका सदस्यहरूलाई एकै ठाउँमा ल्याउने चाड हो दसैँ । बिदेसिएका धेरै नेपालीहरू दसैँको अवसरमा स्वदेश फर्किने समय कुरेर बसेका हुन्छन् । तर भलै यो पटक भने धेरै नेपालीहरू दसैँमा पनि घर फर्कन पाएनन् ।

नाति नातिनादेखि हजुरबुबा, हजुरआमा एकै ठाउँमा भेला भएर हर्षोल्लासका साथ मनाइने दसैँले बढ्दै गएको जेनेरेसन ग्यापलाई कम गर्न र सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्दछ । दसैँको बेला विभिन्न शक्तिपिठहरूमा गएर गरिने पूजापाठले व्यक्तिलाई आध्यात्मिक बनाउन मद्दत गर्दछ । आत्मिक शक्ति प्रदान गर्दछ । आत्मिक शक्तिले व्यक्तिलाई मानसिक रूपमा पनि सबल बनाउँछ । आध्यात्मिक स्वास्थ्यले व्यक्तिलाई अनुशासित, नैतिकवान् र कर्तव्यनिष्ठ बनाउँछ ।

मानसिक स्वास्थ्यका लागि चाडपर्वले थेरापीकै काम गरिरहेको हुन्छ । चाडपर्वको मनोवैज्ञानिक पक्षलाई बुझी यसलाई धर्मको रूपमा नहेरी चाडपर्वको रूपमा स्वीकार गर्ने र मनाउने हो भने धेरै राम्रो हुन्छ ।
दसैँ नेपालीहरूको मौलिक पर्व पनि हो । नेपालमा मगर, गुरुङ, राई, लिम्बु, थारु, नेवार, क्षेत्री, बाहुन आदि जातिमा जस्तो चामलको टिका र जमरा लगाउने चलन संसारका अन्य कुनै पनि जाति वा हिन्दुहरूमा पाइँदैन। दसैँमा चामलको टीका लगाएर अन्नको नाश भयो भन्ने गरेको पनि सुनिन्छ। तर चामलको टिका लगाउनु अन्नको सम्मान गर्नु हो । यसको महत्त्वलाई बुझ्नु हो ।

यसले नेपाल कृषि प्रधान देश हो भन्ने कुरा पनि झल्किन्छ । दसैँमा लगाइने रातो रङ्ग मिश्रित चामलको टिकाले मानिसमा ऊर्जा , जोस-जाँगर , उत्साह, साहस बढाउँछ । रातो रङ्ग शक्ति, उत्साह , सौभाग्य र विजयको प्रतीक हो । दसैँमा टिकासँगै जमरा लगाउनुको पनि अर्थ छ । जमराको जुस जसलाई अमृत रस भनिन्छ । जमराको जुस दैनिक सेवनले धेरै किसिमका रोगहरू लाग्नबाट हामीलाई बचाउँछ र दीर्घ जीवन दिन्छ । दसैँमा जमरा लगाउनुको अर्थ जमराको औषधि गुण र महत्त्वलाई झल्काउने प्रतीकको रूपमा लिनु पर्छ।

दसैँमा टीका लगाएर दक्षिणा दिनु पनि आफैमा नराम्रो होइन । चाडपर्वको बेला किनमेल गर्दा पैसा खर्च हुने, ऋण समेत लाग्न सक्ने हुँदा सक्नेले गच्छे अनुसार टिका लगाएर पैसा दिँदा यसले थोरबहुत ऋणबाट मुक्त हुन र आर्थिक अवस्था सुधार गर्न मद्दत गर्दछ । यस वर्ष त कोरोनाको कारण अर्थतन्त्र नै तहस नहस भएको छ।

fulpati1

धेरैको आर्थिक अवस्था कमजोर भएको छ । “घाँटी हेरी हाड निल्नु” पर्दछ भन्ने मान्यता अनुरूप आफ्नो गच्छे अनुसार बिना तडक भडक चाडपर्व मनाउनु पर्छ। “दसैँ आयो, खाउँला पिउँला के खाउँला, चोरी ल्याउँला” अर्थात् जसरी पनि मिठो मसिना खानुपर्छ, जसरी पनि राम्रो लगाउनै पर्छ भन्ने सोचले दसैँलाई बोझिलो र तनावपूर्ण बनाउनु हुँदैन । चाडपर्वलाई फजुल खर्च गर्ने बहानाको रूपमा होइन, आफूलाई उत्साहित गर्ने , आपसी सम्बन्ध प्रगाढ बनाउने, माया प्रेम र सद्भाव बढाउने अवसरको रूपमा लिनु पर्दछ । साथै चाडपर्वको बेला जुवा तास खेल्ने, होहल्ला गर्ने, रक्सी खाने, झैँ झगडा गर्ने जस्ता नकारात्मक पाटोलाई हटाउनु पर्छ ।

दसैँको बेला देवीदेवताको नाममा चढाइने बली भने एक किसिमको अन्धविश्वास नै हो । प्राणी हत्या महापाप हो। तर पेटको लागि मानिसहरू जस्तोसुकै पाप गर्न र बहाना बनाउन पछि पर्दैनन्। मान्छेले आफ्नो पापलाई छल्न देवीदेवतालाई बली चढाएको प्रसाद भन्दै खाने निहुँ र बहाना बाहेक अरू केही होइन बली प्रथा।

यदि सबै प्राणी देवीदेवताको सृष्टि हुन् भने आफैले सृष्टि गरेको आफ्नै सन्तानलाई आफ्नै आमाले भोग कहिल्यै माग्दिनन् । बली प्रथाले स्वयम् व्यक्तिलाई हिंस्रक, मानसिक रूपमा कमजोर, चिटचिटाहाट, अस्थिर र रिसाहा बनाउने गर्दछ । शाकाहारी व्यक्तिहरूलाई दसैँको बेला हुने मारकाटले अत्यन्तै धेरै तनाव पुर्याउछ । खसी बोकाको क्रन्दन, रगत र काटमारको दृश्यले उनीहरूलाई दुखी र मानसिक रूपमा अस्थिर बनाउने गर्दछ । वास्तवमा बली चढाउनु भनेको आफ्ना कमीकमजोरी, खराब आचरण, असुरी र दुर्बल पक्षहरू, पासाविक मनोवृत्ति, काम, क्रोध, लोभ र मोहजस्ता कुरा छोड्ने सङ्कल्प देवीदेवताका सामु राख्नु हो । आफ्नो गलत कार्यको प्रायश्चित गर्नु हो ।

दसैँमा विशेष गरी शक्तिपिठहरूमा दुर्गा भवानीको पूजा गरिन्छ । दुर्गा माता अर्थात् महिला वा स्त्रीलाई शक्तिको रूपमा पूजा गर्नु, शक्तिको प्रतीकको रूपमा लिनु हाम्रोजस्तो पुरुष प्रधान समाजका लागि अर्थ पूर्ण र महत्त्वपूर्ण रहेको छ।

(लेखक ढकाल मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन् )

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved